News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सहमहामन्त्री विपिन आचार्यले सदनमा टरिगाउँ एयरपोर्टको स्तरोन्नती हुन नसकेको चिन्ता व्यक्त गर्नुभयो।
- आचार्यले दाङको घोराही उपमहानगरपालिका–१३ वडामा खानेपानीको स्रोत नभएर स्थानीयले पानीको मूल किन्नुपरेको सरकारको ध्यानाकर्षण गराउनुभयो।
- उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अझै रिफरल सेन्टरमै सीमित भएको र ४०० शैयाको अस्पताल बन्नुपर्ने बताउनुभयो।
५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले टरिगाउँ एयरपोर्टको अवस्था बारे सदनमा जानकारी गराएका छन् ।
रास्वपा सांसद आचार्यले २०११ सालमा स्थापित टरिगाउँ एयरपोर्टको स्तरोन्नती हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
‘टरिगाउँ एयरपोर्ट २०११ सालमा स्थापित हुँदा त्यतिबेला स्थापित हुँदै गर्दा ती ठाउँहरू मौजा थिए । मौजा हुँदै ती ठाउँहरु गाउँ पञ्चायत, नगरपालिका, उपमहानगरपालिका बने । तर, यो दोस्रो पुरानो एयरपोर्ट भने जहाँको तहीँ रह्यो । लुम्बिनी प्रदेशको राजधानी दाङ र सल्यान, प्युठान, रुकुम पूर्व र पश्चिमका १८ लाख नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने यो एयरपोर्ट स्तरोन्नतिमा समग्र भूभागको आर्थिक समृद्धिको चाबी लुकेको छ,’ आचार्यले भने, ‘कि त त्यो क्षेत्रलाई एयरपोर्ट बनाएर समृद्ध हुने मौका दिनुपर्यो । होइन भने तिमीहरु आर्थिक रूपमा समृद्ध नबन, तिमी दूर नै छौ, तम्लाई झिकैझिकै माया छैन भनेर भन्नपर्यो ।’
देशका हरेक ठाउँका नागरिकले आफूले मागेको पूर्वाधार नपाएकोमा वैज्ञानिक, न्यायिक र पारदर्शी विनियोजन आधार माग्ने हक राख्ने उनले बताए ।
दाङको घोराही उपमहानगरपालिका–१३ वडाको मौलाकोट गाउँमा खानेपानीको स्रोत नभएपछि स्थानीयले पानीको मूल किन्नुपरेको प्रति सरकारको ध्यानाकर्षण गराए ।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’ अझै पनि ’रिफरल सेन्टर’मै सीमित भएको उल्लेख गर्दै सांसद आचार्यले ४०० शैयाको अस्पताल बनाउने सरकारको प्राथमिकता हुनुपर्ने बताए । दाङमा बङ्गलाचुली गाउँपालिका अनियन्त्रित चुनढुङ्गा उत्खननले ल्याएको विनाश बारे सरकारको ध्यानाकर्षण गराए ।
‘चुनढुङ्गा उत्खनन स्थलदेखि सिमेन्ट उद्योगसम्मको सडक औद्योगिक भार धान्ने गरी बलियो, सुरक्षित, वातावरणमैत्री र विधिसम्मत रूपमा निर्माण हुनुपर्थ्यो ,’ आचार्यले भने,‘तर त्यो हुन सकेन । परिणामस्वरूप, एक महिनामै सडक ध्वस्त भयो । सडक निर्माणको जिम्मा पाएको कम्पनीविरुद्ध मुद्दा चलेको छ वर्ष बितिसक्यो, तर न मुद्दाको टुंगो लागेको छ, न सडकले औद्योगिक भार थेग्न सक्ने स्वरूप पाएको छ ।’
प्रतिक्रिया 4