News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको वामपन्थी समाजवादी आन्दोलन वैचारिक विचलन र नेतृत्वको कमजोरीका कारण गम्भीर सङ्कटमा परेको छ।
- सङ्कट समाधानका लागि सबै वामपन्थी समूह सम्मिलित समाजवादी आन्दोलन पुनःसंरचना समिति गठन गरी गोलमेच सम्मेलन गर्न प्रस्ताव गरिएको छ।
- विगतको समीक्षासहित श्वेतपत्र जारी गर्न र लोकतान्त्रिक विधिबाट युवा–बहुल नयाँ नेतृत्व निर्माण गर्न जोड दिइएको छ।
नेपाली वामपन्थी समाजवादी धार आज गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा नयाँ सम्भावनाको खोजी गर्दै व्यापक दृष्टिकोणसहित अगाडि बढ्नु आजको आवश्यकता हो, निराशा बोकेर छटपटाउनु होइन। इतिहासमा समाज परिवर्तनको क्रममा कहाँ चुकियो भन्ने कुरा गम्भीर रूपमा खुट्याउनुपर्छ।
राजनीतिक आन्दोलनका लागि गरिएका ऐतिहासिक साहस, त्याग, बलिदान, समर्पण र उपलब्धिप्रति गर्व गर्नुपर्छ। उपलब्धि हासिल गर्नु गल्ती थिएन, गल्ती थियो त प्राप्त अवसरको सदुपयोग नगर्नु, समाजको आवश्यकता र जनताको आकाङ्क्षा पूरा गर्न नसक्नु।
कम्युनिस्ट क्रान्तिकारीहरूले उठाएका मुद्दा र नाराहरू गलत थिएनन्। गलत थिए त व्यवहार, अलोकतान्त्रिक पद्धति, आफ्ना आदर्शबाट विचलित हुनु, विचारको नाममा आफैँलाई वैचारिक रूपमा बन्ध्याकरण गर्नु र अन्ततः जनताबाट बहिष्कृत हुनु। फलस्वरूप ‘भुइँको न भाँडाको’ अवस्थामा पुग्यौँ भन्दै चियाउनु। यसको मुख्य जिम्मेवारी नेतृत्वमाथि जान्छ र यसको मूल सार वैचारिक विचलन हो।
सङ्घर्षलाई केवल व्यक्तिगत स्वार्थ, सदाबहार सत्तासीन हुने आकाङ्क्षा तथा पार्टी–सङ्गठनको दुरुपयोगमा सीमित गरियो। राजनीतिक अडान छोड्दै स्वार्थकेन्द्रित गठबन्धन बनाउने–भत्काउने, अस्थिरतामा रमाउने र त्यसैलाई द्वन्द्ववाद भन्दै स्तुतिगान गाउने संस्कृतिले आजको निराशा जन्माएको हो।
विचार र व्यवहारमा आएको स्खलन एउटा कारण हो भने समाजको विकसित चरित्रअनुसार विचार, रणनीति र कार्यनीतिमा विकास नहुनु तथा नेतृत्व प्रणालीलाई सामूहिकताबाट व्यक्ति–केन्द्रित सामन्ती, नोकरशाही र अलोकतान्त्रिक संरचनामा पुर्याउनु अर्को मुख्य कारण हो।
यी समस्यालाई गम्भीर रूपमा नसुधारी पुनः स्वार्थकेन्द्रित गठजोडले समाधान दिन सक्दैन। समग्र आन्दोलनको मूल नेतृत्वले आफ्ना कमजोरीको जिम्मेवारी लिनैपर्छ।
कम्युनिस्ट पार्टीमा सर्वाधिकार सम्पन्न मुख्य नेता जवाफदेही हुनुपर्छ।
विघटनप्रायः भएको वाम समाजवादी आन्दोलनलाई पुनर्जीवन दिन असफल नेतृत्व प्रणाली, विघटित मानसिकता र निराशालाई बिदा गर्दै त्याग र रूपान्तरणको माध्यमबाट नयाँ मार्ग प्रशस्त गर्न आवश्यक छ।
विकसित विज्ञान–प्रविधि, आर्थिक एवं वर्गीय अवस्था, युद्ध, आन्दोलन तथा पर्यावरणीय सङ्कटको समाधान गर्ने नयाँ दृष्टिकोण निर्माण नगरी फेरि पनि सत्ता–केन्द्रित गठजोडले विघटन रोक्न सक्दैन।
विश्वमा संरक्षणवाद, अतिराष्ट्रवाद र लोकप्रियतावाद हुँदै सर्वसत्तावादसम्मको प्रवृत्तिले मानवअधिकार, सामाजिक न्याय र लोकतन्त्रलाई कमजोर बनाइरहेको छ। गरिबी, बेरोजगारी र असमानताको खाडल बढिरहेको वर्तमान विश्व आर्थिक तथा राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै प्रसिद्ध अर्थशास्त्रीहरूले पुँजीवाद, उदारवाद र नवउदारवादले समस्याको समाधान गर्न नसक्ने ठोकुवा गरिरहेका छन्।
त्यसको विकल्पका रूपमा प्रगतिशील पुँजीवाद, कल्याणकारी राज्य, असमानताविरुद्ध प्रगतिशील कर नीति, शिक्षा–स्वास्थ्य–रोजगारीमा राज्यको भूमिका, सहकारी मोडेल, सहभागी अर्थतन्त्र र लोकतान्त्रिक समाजवादजस्ता अवधारणाहरू प्रस्तुत भइरहेका छन्।
यसरी विश्वका अर्थशास्त्रीहरूले पुँजीवादको विकल्प खोजिरहेका बेला नेपालमा वामपन्थी समाजवादी धारा विघटन र विसर्जनको सँघारमा पुग्नु विडम्बनापूर्ण अवस्था हो।
नेपालको संविधानले व्यवस्था गरेको सामाजिक न्यायमा आधारित मौलिक अधिकारसहितको लोककल्याणकारी राज्यको भूमिकालाई विस्तार गर्दै समाजवादी समाजलाई न्यूनतम लक्ष्य बनाइनुपर्छ। मार्क्सवादी सैद्धान्तिक आधारमा नेपाली समाजका मौलिक विशेषतामा आधारित समाजवादी लोकतन्त्रको खाका कोर्दै समुन्नत समाजवादतर्फ अघि बढ्नुपर्छ।
सबै वामपन्थी समाजवादी धारलाई केन्द्रित गर्दै समृद्धिको मार्गचित्र तयार गर्नुपर्छ। सात दशक लामो कम्युनिस्ट आन्दोलनले त्याग र बलिदानका ऐतिहासिक कीर्तिमान कायम गरे पनि राजनीतिक परिवर्तनलाई आर्थिक आधारमा रूपान्तरण गर्न सत्ता सञ्चालनमा पुगेपछि विचलन र असक्षमता देखियो।
सिद्धान्तका नाममा सिद्धान्तहीनता, जनतासँग गरेका प्रतिबद्धताप्रति बेवास्ता, नेपाली समाजको विशेषताअनुसार समाजवाद र लोकतन्त्रको मोडेल निर्माण गर्न नसक्नु, सङ्घीयताको कार्यान्वयनप्रति अरुचि, जनजीविकाका प्रश्नप्रति उदासीनता, सत्तामा पुगेपछि बढेको अहङ्कार, प्रतिशोध, अपारदर्शिता र वंशवादप्रतिको झुकावले जनतामा गहिरो निराशा पैदा गर्यो।
त्यसैले वाम आन्दोलनबारे गम्भीर समीक्षा गर्दै श्वेतपत्र जारी गर्न आवश्यक छ।
नयाँ विश्व परिस्थिति, विश्व राजनीतिमा आएको परिवर्तन, समाजवादी यात्राका लागि आवश्यक रणनीति र कार्यनीति, सङ्गठित शक्तिको निर्माण, लोकतान्त्रिक मूल्यबोध, जनजीविकाका प्रश्न, राष्ट्रियता तथा सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा स्पष्ट समीक्षा हुनुपर्छ।
अब आरोप–प्रत्यारोपमा आधारित पुरानो संस्कृतिबाट मुक्त भएर नयाँ सोच र संस्कृतिको विकास गर्नुपर्छ।
अनुभव र नयाँ पुस्ताको जोसलाई संयोजन गर्दै लोकतान्त्रिक विधिबाट युवा–बहुल नयाँ नेतृत्व निर्माण गर्नु आवश्यक छ।
हरेक सङ्कटले नयाँ सम्भावना बोकेको हुन्छ। त्यसैले निराशामा डुबेर बस्ने होइन, नयाँ सम्भावनाका ढोका खोल्न अग्रसर हुनुपर्छ। वैचारिक विचलन, साङ्गठनिक विघटन र मनोवैज्ञानिक निराशालाई टालटुल गरेर होइन, इतिहासका शिक्षालाई आत्मसात् गर्दै नयाँ निर्णयमा पुग्नुपर्छ।
वाम समाजवादी धाराका सबै समूहलाई एउटै प्रवाहमा ल्याई परम्परागत नाममात्रका कम्युनिस्ट होइन, लोकतान्त्रिक मूल्यमा आधारित आधुनिक वामपन्थी समाजवादी शक्तिको रूपमा पुनर्गठन गर्नुपर्छ।
नयाँ आवश्यकताअनुसार नयाँ ध्रुवीकरण, जनतामुखी नेतृत्व र संरचना निर्माण गर्न सकिएमा नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय विभेदको समाधानसहित निरन्तर परिवर्तनको नेतृत्व गर्न सकिन्छ।
त्यसका लागि तत्काल यी ७ कामहरू गरौँ :
१. पहिलो कुरा, वाम समाजवादी धारामा विभक्त सबै समूहहरूको प्रतिनिधित्व हुने गरी समाजवादी आन्दोलन पुनःसंरचना समिति तयार पार्ने र त्यसले बृहत् गोलमेच सम्मेलन आयोजना गर्ने।
२. दोस्रो कुरा, विगतका कमीहरूलाई आत्मसात् गर्दै समीक्षासहित श्वेतपत्र जारी गर्ने।
३. तेस्रो, वर्तमान विश्व राजनीति, युद्ध, वार्ता र हर्मुज घाँटीमा अड्किएको विश्व राजनीति र अर्थतन्त्रमा पर्ने प्रभावको आकलन गर्दै समग्र क्षेत्रमा राष्ट्रिय हितलाई ध्यान दिएर सन्तुलित नीतिसहित अगाडि बढ्ने।
४. लोकतान्त्रिक मूल्य र लोकतान्त्रिक प्रक्रियामा आधारित नेपाली विशेषतासहितको समाजवादी धाराको स्पष्ट खाका तयार पार्ने।
५. अनुभव र शिक्षाका लागि सबै नेताहरूको भूमिका स्पष्ट गर्दै योग्य र सक्रिय नयाँ नेतृत्व टिम तयार पार्ने।
६. लोकतान्त्रिक प्रणाली अवलम्बन गर्ने।
७. मार्क्सवादी विचार र दृष्टिकोणलाई आत्मसात् गर्ने।
प्रतिक्रिया 4