+
+
Shares

पढाइसँगै तरकारी खेती गर्दै पञ्चकन्या माविका विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको पञ्चकन्या माध्यमिक विद्यालयमा सञ्चालित 'सिक्दै कमाउँदै' कार्यक्रममार्फत विद्यार्थीले पाँच रोपनी जग्गामा मौसमी तरकारी खेती गरिरहेका छन् ।
  • विद्यालयकी छात्रा आकृति रोकाहाले भनिन्, "किताबमा पढेको कुरा खेतबारीमा प्रयोग गर्न पाउँदा धेरै कुरा बुझ्न सजिलो भएको छ" ।
  • तरकारी बिक्रीबाट हुने आम्दानीमध्ये ७५ प्रतिशत विद्यार्थीलाई, २० प्रतिशत विद्यालयलाई र ५ प्रतिशत प्राविधिक सहयोगीलाई दिने व्यवस्था गरिएको छ ।

११ जेठ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको ‘सिक्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीको पढाइलाई व्यवहारसँग जोड्न थालेको छ ।

कक्षाकोठामा सीमित हुने परम्परागत शिक्षाभन्दा फरक अभ्यासका कारण विद्यालय अहिले जिल्लामै उदाहरणीय बन्दै गएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित कार्यक्रममा विद्यार्थीले विद्यालयकै पाँच रोपनी जग्गामा मौसमी तरकारी खेती गर्दै आएका छन् ।

पढाइसँगै करेसाबारीमा प्रत्यक्ष काम गर्न पाउँदा विद्यार्थीमा सीप विकाससँगै आत्मविश्वास पनि बढेको विद्यालयको भनाइ छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी आकृति रोकाहाले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न पाउँदा सिकाइ अझ प्रभावकारी बनेको बताइन् । ‘किताबमा पढेको कुरा खेतबारीमा प्रयोग गर्न पाउँदा धेरै कुरा बुझ्न सजिलो भएको छ’, उनले भनिन् ।

विद्यालयमा २०७७ सालदेखि बाली विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म अध्ययनरत ६५ विद्यार्थी अहिले यस कार्यक्रममा सहभागी छन् । विद्यार्थीले आलु, टमाटर, काउली, बन्दा, साग र मह उत्पादनदेखि बिक्री वितरणसम्मको अभ्यास गर्दै आएका छन् ।

विद्यालयका बाली विज्ञान संयोजक सुवास अर्यालका अनुसार ‘एक विद्यार्थी, एक करेसाबारी’ अभियानमार्फत विद्यार्थीलाई घरमै पनि खेती गर्न प्रेरित गरिएको छ । कार्यक्रमले विद्यालय मात्र नभई समुदायमा समेत व्यवहारिक परिवर्तन ल्याउन थालेको उनको भनाइ छ ।

विद्यालयले उत्पादन बिक्रीबाट प्राप्त आम्दानीलाई पनि व्यवस्थित ढंगले बाँडफाँट गर्दै आएको छ । प्राप्त रकममध्ये ७५ प्रतिशत विद्यार्थीलाई, २० प्रतिशत विद्यालयलाई र ५ प्रतिशत प्राविधिक सहयोगीलाई दिने व्यवस्था गरिएको छ ।

स्याङ्जा जिल्लामा हाल वालिङ नगरपालिकाको पूर्णामृत माध्यमिक विद्यालय, हरिनास गाउँपालिकाको महिमा माध्यमिक विद्यालय र अर्जुनचौपारी गाउँपालिकाको पञ्चकन्या माविमा बाली विज्ञान पढाइ हुँदै आएको छ ।

पञ्चकन्या मावि भने फरक अभ्यास र उत्कृष्ट नतिजाका कारण चर्चामा रहँदै आएको विद्यालय हो । विद्यालय २०८० सालमा देशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानितसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?