+
+
Shares
बजेटमा लुम्बिनी प्रदेश :

लुम्बिनीबाट सौम्य शक्ति विस्तार, सिद्धबाबा सुरुङमार्ग यसैवर्ष निर्माण

‘धेरै जसो यसअघिका सरकारहरूले अघि सारेका कार्यक्रमलाई नै निरन्तरता दिइएको छ, यसो पनि सकारात्मक छ तर मुख्य कुरा कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा भर पर्छ’

टोपराज शर्मा टोपराज शर्मा
२०८३ जेठ १५ गते २०:०४

१५ जेठ, बुटवल । संघीय सरकारले शुक्रबार ल्याएको बजेटमा बुद्ध जन्मस्थल लुम्बिनीका माध्यमबाट सौम्य शक्ति विस्तार गरिने देखि बृहत् लुम्बिनी विकास कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि लुम्बिनीसहित सगरमाथा, हिमालय श्रृंखला, योग, ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी छवि तथा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपालको गौरवपूर्ण सहभागिता जस्ता विशिष्ट पक्षहरूको विश्वव्यापी रूपमा प्रचार–प्रसार गरिने उल्लेख छ ।

यस्तै बृहत् लुम्बिनी विकास कार्यक्रम (ग्लाड) लाई कार्यान्वयन गर्ने विषय पनि बजेट वक्तव्यमा उल्लेख छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई ऐतिहासिक स्थल तिलौराकोट, रामग्राम, देवदहसहितका सम्पदा समेटेर पर्यटकीय, सामाजिक र सांस्कृतिक विकास गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने योजना पूर्वअर्थमन्त्री विष्णु पौडेलले अघि सारेर कार्यान्वयन चरणमा ल्याएको रूपान्तरणकारी योजना हो ।

यस्तै, अन्तर्राष्ट्रिय उडान नगन्य मात्रामा भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा जाने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रदेशका पहाडी जिल्लाका पर्यटकीय महत्वका क्षेत्रमा हिल स्टेसन विकास गरिने पनि बजेटमा उल्लेख छ । लुम्बिनीमा पाल्पाको वसन्तपुर, नुवाकोट, श्रीनगर, गुल्मीको रेसुंगा, मदाने लेक, अर्घाखाँचीको सुपा देउराली, नरपानी, प्युठानको स्वर्गद्वारी, रोल्पाको जलजला, रुकुम पुर्वको पुथा उत्तरगंगा लगायत हिल स्टेसनहरू छन् ।

बजेटमा कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न यसअघि हुँदैआएको पहललाई निरन्तरता दिइने उल्लेख छ ।

यसअघि पनि सबै प्रक्रिया पूरा गरेर यो काम अन्तिम चरणमा पुगेपनि भारतको असहयोगले सूचिकृत हुनबाट रोकिएको थियो ।

यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीबाट मुक्तिनाथसम्म धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान/योग केन्द्रको विकास गरिने बजेटमा उल्लेख छ ।

लुम्बिनीलाई मुक्तिनाथलगायत धार्मिक स्थलसंग जोडेर योग, ध्यान, साधनाका साथै बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्ने लक्ष्य सरकारले राखेको छ ।

यस्तै, पाल्पाको तिनाउ गाउँपालिकामा निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ । दुई वर्ष अघि सुरु भएको सुरुङमार्गको ६५ प्रतिशत बढी भौतिक प्रगति पूरा भएको छ ।

सरकारले मोतिपुर औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । यसअघि सरकारले निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारको घोषणाले अन्योलता समेत सिर्जना गरेको छ । यहाँ वर्षौंदेखि बस्दै आएका करिब ३ हजार घरधुरीको जग्गा स्थानीयसँग सहमति नै नगरी औद्योगिक क्षेत्रको नाममा लालपूर्जा निकालेपछि विवाद छ ।

बजेटमा बुटवलमा कम्तीमा २ हजार क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने उल्लेख छ ।

लुम्बिनी प्रादेशिक अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने बजेटमा उल्लेख छ ।

बजेटमा बुटवल–गोरुसिङे र धानखोला–लमही खण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नतिलाई निरन्तरता दिने उल्लेख छ । बुटवल–गोरुसिङे सडक विस्तारको काम अघि बढिसकेको छ । यो सडक पुर्व अर्थमन्त्री विष्णु पौडेलको पालामा अघि बढेको आयोजना हो ।

बेलहियामा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जांच चौकी (आईसीपी) शीघ्र सञ्चालनमा ल्याउने बजेट वक्तव्यमा उल्लेख छ ।

बजेटमा बबई सिँचाइ आयोजना पूरा गर्ने, नौमुरे जलविद्युत आयोजना कार्यान्वयनमा ल्याउने, बुटवलसहित प्रमुख सहरमा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने विषय पनि उल्लेख छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बजेटमा लुम्बिनी प्रदेशका हकमा उल्लेख्य नयाँ योजना र कार्यक्रम नसमेटिएपनि यसअघिका कार्यक्रमलाई निरन्तरता दिनु सकारात्मक रहेको बताए ।

‘धेरै जसो यसअघिका सरकारहरूले अघि सारेका कार्यक्रमलाई नै निरन्तरता दिइएको छ, यसो पनि सकारात्मक छ तर मुख्य कुरा कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा भर पर्छ’, श्रेष्ठले भने ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?