+
+
Shares

अमेरिका र इरानबीच पुनः सैन्य आक्रमण, इन्धनको मूल्य बढ्दो

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणी इरानमा भएको आक्रमणको बदलामा अमेरिकी एयर बेसलाई निशाना बनाएको बताएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका र इरानले एक-अर्काको सैन्य लक्ष्यमा पुनः आक्रमण गरेपछि तीन महिनादेखि जारी युद्ध थप चर्केको छ ।
  • इरानले 'स्ट्रेट अफ हर्मोज' बन्द गरेपछि विश्वभर ऊर्जाको मूल्य बढेको छ भने कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि इच्छुक रहेको दाबी गर्दा इरानी विदेश मन्त्रालयले वासिङ्टनमाथि अडान परिवर्तन गरिरहेको आरोप लगाएको छ ।

१८ जेठ, काठमाडौं । तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहँदा अमेरिका र इरानले एक-अर्काको सैन्य लक्ष्यमा पुनः आक्रमण गरेका छन्। अमेरिकी सेनाले इरानको हवाई रक्षा प्रणाली, एक ग्राउन्ड कन्ट्रोल स्टेशन र दुईवटा ड्रोनमाथि आक्रमण गरेको जानकारी दिएको छ। अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफ्नो ड्रोन खसालेको लगायत इरानका ‘आक्रामक गतिविधि’ को जवाफमा यो कदम चालिएको अमेरिकाको दाबी छ।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणी इरानमा भएको आक्रमणको बदलामा अमेरिकी एयर बेसलाई निशाना बनाएको बताएको छ।

इरानले कुन बेसमा आक्रमण गरेको भन्ने स्पष्ट नखुलाए पनि कुवेतले सोमबार आफ्नो हवाई रक्षा प्रणाली सक्रिय बनाउँदै इरानी मिसाइल र ड्रोन आक्रमणको निन्दा गरेको छ। यसैबिच, इजरायलले लेबनानमा इरान समर्थित हेजबुल्लाह विरुद्ध आफ्नो सेनालाई अझ अगाडि बढ्न निर्देशन दिएपछि क्षेत्रीय तनाव थप चुलिएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको यस युद्धका कारण हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् भने इरानले तेल आपूर्ति गर्ने महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ बन्द गरिदिएपछि विश्वभर ऊर्जाको मूल्य अकासिएको छ। सोमबारको आक्रमणपछि कच्चा तेलको मूल्यमा ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अप्रिलको सुरुदेखि युद्धविराम लागू भए पनि अमेरिका र इरानबिच फाट्टफुट्ट आक्रमणहरू भइरहेका छन् भने पाकिस्तानले दीर्घकालीन सम्झौताका लागि मध्यस्थता गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सामाजिक सञ्जालमार्फत इरान सम्झौताका लागि इच्छुक रहेको आफ्नो दाबी दोहोर्‍याएका छन्। उनले वार्ताका बारेमा नकारात्मक टिप्पणी गर्ने आलोचकहरूको आलोचना गर्दै अन्त्यमा सबै कुरा ठीक हुने र ढुक्क बस्न आग्रह गरेका छन्।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने वासिङ्टनले वार्ताका क्रममा आफ्नो अडान पटक-पटक परिवर्तन गरिरहेको र विरोधाभासपूर्ण सन्देशहरू पठाइरहेको आरोप लगाएका छन्। उनले गहिरो शङ्का र अविश्वासको वातावरणमा वार्ता भइरहेको भन्दै अमेरिकालाई छिटो र स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?