+
+
Shares

चार युवा संगठनले मागे प्रधानमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ४ दलका युवा संगठनहरूले प्रधानमन्त्री बालेन शाहको संसद्को सम्बोधनप्रति आपत्ति जनाउँदै राजीनामा माग गरेका छन् ।
  • प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेकोबारे आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको संसद्मा बताएका थिए ।
  • राष्ट्रिय युवा संघ र वाईसीएलसहितका ४ संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र भौगोलिक अखण्डता विपरीत भएको बताएका छन् ।

१८ जेठ, काठमाडौं । चार दलका युवा संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, वाईसीएल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

साथै, जनतासँग माफी मागेर राजीनामा दिन समेत विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

‘…जनविरोधी तथा राष्ट्रघाती गतिविधिहरू हामी देशभक्त, राष्ट्र प्रेमी र जनजीविका पक्षमा आवाज बुलन्द गर्ने युवाहरूको निम्ति सह्य हुन सक्दैन । नेपाली जनताको धैर्यताको बाँध नटुट्दै जनता समक्ष माफी मागेर राजीनामा दिन प्रधानमन्त्री शाहलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री शाहले भारतले मात्रै नभइ नेपालले पनि भारतको सीमा मिचेकोबारे आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको सम्बोधनको क्रममा भनेका थिए ।

उनको उक्त अभिव्यक्तिप्रति आलोचना भइरहेको छ ।

‘प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल र स्थापित ऐतिहासिक तथ्य विपरीत छ । प्रधानमन्त्री शाहको उक्त राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा एवं भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री शाहको यस्तो खाले गैरजिम्मेवार र राष्ट्रघाती अभिव्यक्ति आउनु भनेको कतै नेपाली भूमी भारतलाई सुम्पने षड्यन्त्र त होइन भन्ने आशंकासमेत पैदा भएको छ ।’

साथै, संगठनहरूले विगतमा प्रधानमन्त्री शाह र उनी आबद्ध पार्टी रास्वपाले निर्णय लिनुअघि ‘मिडिया ट्रायल’ गर्ने गरेको उल्लेख गर्दै यो घटनाप्रति पनि सोही आशंका व्यक्त गरेका छन् ।

‘विगतमा उहाँ र उहाँ आवद्ध पार्टी रास्वपाले विभिन्न निर्णय लिनु अगाडि मिडिया ट्रायल गर्ने चलन गरेको थियो यो पनि त्यही सिलसिलाको कडी त होइन गम्भीर प्रश्न खडा भएको छ ? भारतले समेत अहिलेसम्म कहिँ कतै दाबी नगरेको विषय उहाँबाट अभिव्यक्त उक्त राष्ट्रघाती अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?