+
+
Shares

अवार्ड विजेता ६ चिनियाँ फिल्मको प्रदर्शन काठमाडौंमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ चलचित्रको प्रदर्शन काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा मङ्गलबारदेखि शुरू भएको छ ।
  • चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पानले चलचित्रले सामाजिक र राजनीतिक परिवेश बुझ्न तथा दुई देशको सम्बन्ध निकट बनाउन सहयोग गर्ने बताउनुभयो ।
  • चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजित तीनदिने यस प्रदर्शनीमा पहिलो दिन ‘ट्रयाप्ड’ लगायत तीन चिनियाँ चलचित्र प्रदर्शन गरिए ।

काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्मको प्रदर्शन मंगलबारदेखि सुरु भएको छ । चीन चलचित्र प्रशासन र महोत्सवले चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गर्दै कार्यक्रम गरेका हुन् ।

ठमेलस्थित छायाँ सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान मुख्य अतिथिको रुपमा सहभागी थिए । ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, फिल्म निर्देशक तुलसी घिमिरे अतिथि अतिथिको रुपमा सहभागी रहे ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले दुई मुलुकबीचको मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास राखे । चीनमा नेपाली फिल्म वितरण र प्रदर्शनको पक्षमा सहयोग पुग्ने उनको अपेक्षा छ ।

मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएको बताउँदै भने, ‘चलचित्रले सामाजिक, राजनीतिक र सामाजिक परिवेश बुझ्न सहयोग गर्छ । यसले दुई देशको सम्बन्धमा थप निकटता ल्याउँछ ।’

यस्ता कार्यक्रमले दुई देशका चलचित्रकर्मीबीच व्यवसायिक सहकार्यको बाटो खुलाउने उनले धारणा व्यक्त गरे । निर्देशक घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्म प्रदर्शन र वितरणमा सहयोग र सहकार्यको आवश्यक रहेको बताउँदै सहजीकरणका लागि आग्रह गरे ।

कार्यक्रमको पहिलो फिल्म ‘ट्रयाप्ड’ प्रदर्शनपछि निर्देशक झानसँग दर्शक र पत्रकारले अन्तरक्रिया गरे । निर्देशक झानले आफ्नो किशोरावस्थाको कालखण्डमा आफूले देखेको र सम्झना रहेको परिदृश्यलाई उतार्न यो फिल्म बनाएको बताए ।

उनले भने, ‘त्यो समयमा मैले देखेको र सम्झना भएको विषयलाई फिल्ममा उतारेको छु । तथापि, यो फिल्मको कथा पूर्ण काल्पनिक हो ।’ एक दर्शकले ग्रामिण कथाले प्राथमिकता पाइरहेको नेपाली बजारमा क्राइम थ्रिलर जनराको कथा ल्याउनुको उद्देश्यबारे प्रश्न गरेका थिए ।

निर्देशक झानले जवाफ दिए, ‘नेपाली चलचित्रकर्मी पनि मेरा साथी छन् । नेपाली दर्शकले मन पराउने फिल्मको जनराबारे म केही हदसम्म जानकार छु । यो नेपाली दर्शकका लागि फरक स्वाद होइन ।’

एक चिनियाँ दर्शकले आफ्नो भाषाको फिल्म विदेशमा हेर्न पाएकामा खुसी व्यक्ति गरिन् । फिल्मले नेपाली दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।

काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटको पनि सहयोग रहेको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा बिहीबारसम्म जारी रहनेछ । कार्यक्रमको पहिलो दिन अन्य दुई फिल्म ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?