News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नेपालका युवाहरू आबद्ध सुसन ब्यान्ड ले नेपाली सङ्गीत क्षेत्रमा मौलिक सिर्जना पस्किरहेको छ ।
- ब्यान्डका सदस्यहरूले व्यावसायिक सफलताको दौडभन्दा बाहिर रहेर आफ्नो मौलिक संगीत यात्रालाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
अघिसम्म जमिनसँग अग्घोरै रिसाएर चुहिरहेको आकाश अहिले शान्त छ । वरपर सियो खस्दा नि सुनिने शून्यता छ । काठमाडौंलाई कतै भागिहल्ला कि भनेर छेकेझैँ उभिएका पहाडहरूमा हावा डुलिरहेका छन् । गम्भीर, सन्तुलित गतिशीलतामा बगेका हावाहरूमा एकान्तिक मानिसका भावना बोकेको मधुरो आभास हुन्छ ।
यस्तै खालको आभासले सुसनलाई पाँचथरका डाँडामा सुसाइरहने सल्लाहरू याद आउँछन् । सल्लाको सुसाइमा आफ्नो उद्गम विन्दुको झझल्को आउँछ । आफ्नो अस्तित्व चिन्तनका सुरुवाती दिनहरूको याद आउँछ । चिन्तनले जन्माएका चिन्ताहरू याद आउँछन् । अनि, चिन्ताले सिर्जेका संगीतहरूको याद आउँछ ।
जीवनको मूल भेट्न नसक्दा, म धेरै थाकिसकें
तिमी नै भनिदेऊ, अब म कहाँ जाऊँ
रहस्य यो जीवनको अब तिमी मलाई भनिदेऊ
हेर न नीलो आकाश, चल्दैछ शीतल बतास
बोल बोल न खुलेर आज
चल्दैछ तिम्रो मनमा के, बोल्दैछ तिम्रो मस्तिष्क के
बोल न बोल न प्रकृतिसँग
भोलिको अनिश्चिततामा रूमलिएका सुसनका लागि गाउँकै एकजना दाइ भगवान बनेर आए – मिलन राई । मिलनले सुसनलाई अनिश्चितताको गुमसुमबाट झिकेर प्रकृतिको नजिक पुर्याए ।
त्यसैको फलस्वरूप उनले मृदुल गीत लेखे, गाए- बोल न प्रकृतिसँग ।
000
सम्झी ल्याउँदा पहाडको धेरै माया लाग्छ । पाँचथरका डाँडाहरूमा डुली हिंड्न मन लाग्छ । तर, पहाडले विकासका पूर्वाधारहरू मात्र छेक्दैन, व्यक्तित्व विकासका अवसरहरूलाई समेत छेक्छ । यो कुरा सुसनले महसुस गरिसकेका थिए । त्यसैले पहाडका दुरूह लाग्ने बाटोहरूलाई पछि छाडेर उनी काठमाडौं आए ।
सुरुमा उनी फिदिम बजारमा अल्मलिरहेका थिए । त्यो बजारमा गफ, अड्कल र प्रतीक्षाको एउटा लामो क्रम थियो । आफ्नो मौलिक संगीत बनाउन चाहने मन थियो । तर, त्यो चाहना पूरा हुने वातावरण थिएन । फिदिम बजारमा रहँदा ‘आभास’ नाम राखेर एउटा ब्यान्ड गठन गरिएको थियो । तर त्यो पूर्णरूपमा अगाडि बढ्न सकेन ।

‘म वाक्क हुन थालें’ सुसन सम्झन्छन् । ‘कहिले रेकर्ड गर्न धरान जाउँ लाग्थ्यो । कहिले यता कहिले उता । यसरी अड्किंदा अड्किंदा लाग्यो– केही गर्नुपर्छ । काठमाडौंतिर जानुपर्ला ।’
झापामा उनले केही समय बिताए । त्यतिखेर इन्टरनेटको सेतुले एउटा महत्त्वपूर्ण सम्बन्ध जोड्यो – बुटवलका एक गिटारिस्टसँग । युट्युबमा हालिएका ‘र’ मौलिक गीतहरू सुनेपछि उक्त गिटारिस्टले सम्पर्क गरे । ‘राम्रो रहेछ यार, हामी मिलेर केही गर्ने हो ?’ उताबाट प्रस्ताव आयो ।
काठमाडौं आएको एक महिनापछि बुटवल पुगे । त्यहींबाट जन्मियो सुसन ब्यान्ड ।
तर बुटवलमा ब्यान्ड बने पनि मौलाउन सकेन । नयाँ ठाउँको ‘एन्जाइटी’ थियो । वातावरण थिएन । दुवैजना काठमाडौं आए । र, काठमाडौंको एउटा कोठामा दुई युवाहरूको सांगीतिक सपनाले आकार लिन थाल्यो ।
ब्यान्ड बन्ने प्रक्रिया प्रायः योजना अनुसार हुँदैन । सुसनको हकमा पनि यही भयो । यो टोली स्थायी रहेन । गिटारिस्ट र बेसिस्ट पारिवारिक कारणले ब्यान्डबाट निस्किनु पर्ने भयो ।

नयाँ गिटारिस्ट खोजिरहेको बेला एउटा ढोका खुल्यो- काठमाडौं ज्याज कन्जर्भेटरीबाट डिप्लोमा गरेका प्रेनिश राई । प्रेनिशका लागि पनि यो आफ्नो ‘भोक’ सँग मिल्दोजुल्दो अवसर थियो । आफूले एकेडेमिक रूपमा सिकेका कुराहरूलाई रचनात्मक रूपमा ढाल्नका लागि मौका थियो यो ।
प्रेनिश ब्यान्डका बेसिस्ट युनिस लिम्बूसँग पहिले नै परिचित पनि थिए । यसले ब्यान्डसँग जोडिन सहज पनि भयो ।
‘पहिलेको साथीहरूको सर्कलको रहेछ ऊ । त्यहींबाट कुरा हुन्थ्यो । गिटारिस्ट बाहिर जाने कुरो भएर मलाई बताउनुभयो । बजाइदिन्छु भनेर स्टार्ट गरेको’ प्रेनिश भन्छन् । हरेक पटक एउटा सदस्य जाँदा, ब्यान्ड टुट्ने खतरा त आयो । तर हरेक पटक एउटा नयाँ संयोग, एउटा नयाँ मान्छे, एउटा नयाँ सम्भावनाले पनि ब्यान्डलाई पछ्याइरह्यो ।
अन्तमा जुन टोली बन्यो, त्यहाँ सबैजना पूर्वेली माटोका छन् । सुसन, युनिस र संयम पाँचथरबाट हुन् । अनि प्रेनिश उदयपुरबाट । संयम अधिकारी ब्यान्डका ड्रमर हुन् । एक अर्थमा यो ब्यान्डको नजिकपनको पछाडि भौगोलिक नजिकता मात्र कारक छैन । सबै सदस्यहरूमा संगीतप्रतिको मोह आधारभूत कारण हो ।
‘हामी सबै एकै ठाउँको हौँ, तर हाम्रो ‘प्यासन’ र ‘भाइब’ पनि मिल्ने भएकाले हाम्रो ब्यान्ड बलियो भएको जस्तो लाग्छ’ संयम गर्विलो भावमा भन्छन् ।
000
सुसन संगीतमा बेग्लै स्वाद भएका समूहहरूमाझ परिचित भइसकेका थिए । तर, सुसनलाई लोकप्रिय हुने भोक कहिल्यै लागेन । र, अझै पनि छैन । उनको संगीतको एकमात्र उद्देश्य हो- आफूलाई अभिव्यक्त गर्नु । आफ्ना पिर र चिन्ताहरू पोख्नु ।
आफ्नो नामको अर्थ र जीवनको बीच सामीप्य देख्छन् । आफ्नो नामको अर्थ खुलाउँदै सुसन भन्छन्, ‘सुसनको अर्थ के हो भन्दाखेरि यस्तो व्यक्ति, जसमा धेरै कुरा छन् । जो अरूभन्दा एक्स्ट्राअर्डिनरी छ । तर, उसलाई आफैँलाई थाहा छैन । ऊ आफूलाई साधारण नै ठान्छ ।’
हुन पनि सुसन एकै झमटमा हेर्दा ‘कस्तुरी अस्तित्व’ बाँचिरहेका देखिन्छन् । आफ्नो गायन र शब्दको मौलिकपनामा आफैंले विश्वास गर्दैनन् जस्तो । शायद, सुसन मौलिकताका प्रतीक हुन् । मौलिकता- जसको तारिफ गर्नका लागि अरूलाई पूजा गर्नुपर्ने या तिरस्कार गर्नुपर्ने आवश्यकता पर्दैन ।

सुसन ब्यान्डका ‘फ्रन्टमेन’ हुनुको नाताले यो कुरामा गर्व गर्छन् कि ब्यान्डमा कसैलाई पनि चोरबाटो प्रयोग गरेर, भाइरल बनेर आफ्नो नाम स्थापित गर्नु छैन । भौतिक वैभवका लागि आफ्नो संगीतको स्वाद बलि दिन कोही पनि तयार छैनन् ।
‘हुन त हामीलाई यस्तो खालको ‘सर्टकट’ को अफर नआएको होइन । तर, हामी सबै मेम्बरको भावनाविपरीतको कुरा भएकाले हामीले स्वीकार्न सकेनौं’ युनिस भन्छन् ।
संगीत रचेर सफलता खोज्नु आफैंमा विरोधाभासपूर्ण कुरा हो । सुसनलाई त्यस्तै लाग्छ । सफलता ताकेर अघि बढ्नु संगीतको अर्थविरुद्धको कुरा ठान्छन् उनी । आफूभित्रका गुम्सिएका कुराहरू पोख्दापोख्दै संगीतमा लागेका उनलाई सफलता पनि त्यस्तै संयोगको कुरा लाग्छ । बाटोमा मिल्यो भने मिलिहाल्यो, मिलेन भने पनि सफलता नमिल्नुको अर्को गीत रचिन्छ । सुसन र सुसन ब्यान्डको आफ्नै दर्शन छ ।
000
आखिर के छ सुसनका गीतहरूमा जसले उनलाई परम्पराको धारभन्दा बेग्लै तुल्याउँछ ।
सुसनको मौलिकताको पहिलो आयाम नै गीतलेखन हुनुपर्छ । व्यवसायिक प्रयोजनका लागि लेखिएका बहुप्रिय गीतहरूभन्दा सुसनका गीतहरू अर्थवाहक छन् । तिनले जीवनका निराशा र आफ्नो परिसीमनसँग भएका संघर्षहरूलाई सम्बोधन गर्छन् । जीवनका वास्तविक अन्तर्द्वन्द्वहरूको प्रतिनिधि बनेर उभिन्छन् सुसनका शब्दहरू ।
उदाहरणका लागि : सबै भुल्नु थियो / आँसु निगल्नु थियो / तर मैले सकिनँ… खै केको ताप सहनै नसकेर / बाफ बनी उडी गयौ… यी गीतका शब्दहरू गितारमा भरिएका संगीतहरूसँग यसरी घुल्दछन् कि हाम्रा निराशाहरूलाई अतिक्रमण नगरी हामीलाई धरै छैन भन्ने अनुभूति दिन्छन् ।
त्यसैगरी, अर्को आयाम भनेको गीतमा प्रयोग गरिएका मौलिक बिम्बहरू हुन्, जो अत्यन्त सहज र गम्भीर लाग्छन् । ती बिम्बहरू कुनै अमूर्त कुराहरू नभई दर्शनीय तस्बिर बनेर आँखाअगाडि उभिन्छन् ।
‘शून्य अभिमानी’ गीत बिम्बहरूको सफल प्रयोग हो :
अभिमानी बन्ने स्वर्णहरू चाहन्नँ कहिल्यै पनि / सूर्यमुखी कोपिला म / फक्री पाके बियाँ बियाँ बाँडुला चरीलाई / मरे न्यानोपन बाँडुला
जीवनमा केही चाहिन्न चर्केको मेरो घर / को भित्ताको टुक्रे ऐनामा पनि / देखिने सबै आकृति चाहिँ हाँसेकै भए पुग्छ, इच्छा मेरो त्यति नै
यी गीतका शब्दहरूको थप वर्णन आवश्यक पनि छैन । यी बिम्बहरू हाम्रो बाल्यकालका सरलता र स्मृतिहरूलाई आफ्नो अग्रभागमा उभ्याउनका लागि पर्याप्त छन् ।
उनको गीत लेखाइको प्रक्रिया तीन तरिकाले हुन्छ । कहिलेकाहीँ पहिला शीर्षक आउँछ, अनि त्यसबाट गीत जन्मिन्छ । कहिलेकाहीँ शब्दहरू आउँछन्, जोड्दै जोड्दै लामो हुन्छ, अनि पछि शीर्षक खोजिन्छ । कहिलेकाहीँ पहिले धुन आउँछ र त्यो धुनमा के शब्द राख्ने भनेर लेखिन्छ । उनी आफ्ना जीवनका क्षणमा लिप्त भएर लेख्छन् ।
‘मलाई त्यो क्षणमा घुस्न सकिएन भने लेखेको अर्थै लाग्दैन । अहिले यसरी गफ गरिरहँदा म नर्मल मान्छे छु । तर त्यो क्षणमा घुसेपछि ममा एउटा अर्कै स्वरूप आउँछ । अनि बल्ल त्यो आर्टिस्ट भएको अनुभूति आएपछि लेख्न मन लाग्छ’ उनी भन्छन् ।

बिम्बको प्रयोग उनको लेखाइको मुख्य हतियार हो । यसको कारण छ- सानैदेखि साहित्यमा बुबाको प्रभाव परेको छ । ब्लुज, ग्रन्ज संगीतमा बिम्बको भरपुर प्रयोग देखेका छन् र पुस्तकहरूमा शब्द कसरी खेलाइन्छ, त्यो पनि पढेर सिकेका छन् ।
‘थोरै कुरामा धेरै कुरा अटाउनुपर्छ । त्यसका लागि बिम्ब चाहिन्छ । एउटा लामो वाक्य बिम्बले छोटो र राम्रो बनाइदिन्छ ।’
प्रेनिशले गीतका यी शब्द र सुसनको पृथक् आवाजसँग संवाद गर्दै भरेका ‘फिल-अप’ र रचेका ‘सोलो’हरू समग्र गीतमा प्राण भर्न सफल छन् । सुसनको गीत र आवाजलाई फ्रेटबोर्डमा मनमनै स्थान दिएपछि उनी सोलो र फिल-अप सिर्जना गर्छन् । आफूले संगीत अध्ययन गरेको हुनाले उनलाई धेरै सहज पनि भएको छ ।
‘तर कहिलेकाहीं मेरो अध्ययनले मभित्रको सिर्जनात्मक पात्रलाई असर पो पार्छ कि भन्ने डर पनि छ । थ्योरी र क्रिएटिभिटी दुवैलाई एकसाथ लैजाने प्रयास गरिरहेको छु’ उनी भन्छन् ।
युनिसको बेस गितार अनि संयमको ड्रमले गीतहरूलाई पूर्ण तुल्याउँछन् । हुन त संयम भर्खर १८ वर्षका छन्, अनि युनिस २० वर्षका छन् । सानो उमेरदेखि नै संगीतमा यसरी निर्लिप्त भएका उनीहरू संगीतमै भविष्य खोज्नेहरूका लागि अभिप्रेरणा हुन् ।
000
सुसनले एउटा प्रश्न भने आफूले हरबखत सामना गरिरहनु परेको बताउँछन् । कलाकार हुनु वरदान हो कि अभिशाप हो भन्ने प्रश्नले उनको मनलाई कुरुक्षेत्र तुल्याइरहन्छ ।
कलाकार हुनु भनेको समाजको वास्तविकताको विपरीत दिशामा हिंड्नु हो । अरूले देखेको कुरामा आफू थप गहिरो सोच्नु हो । आम मानिसले यथार्थ भनिपठाएका कुराहरू निरन्तर परीक्षण गर्नु, परीक्षणको नतिजाबाट सन्तुष्ट नहुनु र आफ्नै यथार्थको निर्माण गर्नु- यो आफैँमा जोखिम हो ।

यी जोखिमहरूले सुसनलाई बेलाबेला डसिरहन्छन् ।
‘खाली दिमाग सैतानको बास भन्छन् नि, त्यो सैतानलाई मैले आफ्नो कलामा उतार्न थालें । जति धेरै सोचहरू आउँछन्, तिनीहरूलाई परिवर्तन गर्दै कलामा उतार्ने, यही रहेछ कलाकारको काम’ ब्यान्ड मेम्बरहरूको हकमा यो साझा अनुभूति भएको छ ।
र, अर्को एउटा कुरा- कलाकार भइसकेपछि अलि ‘अल्छे’ हुन पनि सिक्नुपर्छ । नियमित व्यावहारिक जीवनमा पूरै डुबेपछि विचारहरू आउँदैनन् । दिमागमा गर्भधारण हुनका लागि खाली ठाउँ चाहिन्छ । यस्ता समाजका धारणाभन्दा विपरीत कुराहरू आर्टिस्टका लागि वरदान र अभिशाप दुवै सिद्ध भएको सुसनको अनुभूति छ ।
सुसनलाई लाग्छ- जब उनी ‘सामान्य’ जीवन बाँचिरहेका हुन्छन्, त्यो उनले आफ्नो कलाकारको जीवनबाट क्षणभरका लागि लिएको छुट्टी हो । तर, उनी जब गीत लेख्न र गाउनमा ध्यानमग्न हुन्छन्, त्यो नै उनको निजत्व हो ।
000
नेपालमा संगीतलाई पेसा बनाउनु मध्यमवर्गीय परिवारका लागि सजिलो छैन । यो यथार्थ सुसन ब्यान्डका सदस्यहरूले पनि भोग्दैछन् ।
‘हामीजस्तोलाई म्युजिक मात्रै गरेर बाँच्न अलिकति गाह्रो छ’ प्रेनिश भन्छन् । त्यसैले उनीहरूमध्ये कोही म्युजिक पढाउँछन्, कोही कभर शोहरू गर्छन्, कोही अन्य काम गर्छन् । केवल संगीतमा मात्र जीवन दिएर ब्यान्डलाई जीवित राख्न गाह्रै छ ।
परिवारको तर्फबाट भने आफूले सक्दो सहयोग पाएको उनीहरू बताउँछन् । परिवारले यो भन्दा अझ धेरै सहयोग गर्न चाहे पनि समस्या भएकाले नसकिएका उदाहरणहरू पनि छन् । परिवारबाट आफूहरूले निरुत्साहन भने नपाएको उनीहरूको भनाइ छ ।
‘हामीलाई सबैथोकमा सहयोग गर्न नसके पनि प्रोत्साहनमा कुनै कमी आएको छैन । त्यसैमा हामी खुसी छौँ’ युनिस भन्छन् ।
तर ‘सुसन ब्यान्ड’ का सबै सदस्यहरूसँग एउटा साझा कुरा छ– उनीहरू सबैजना संगीतप्रति जुन रूपले प्रतिबद्ध छन्, त्यसले उनीहरूलाई हरेश खान दिएको छैन । संगीतप्रतिको ‘भोक’ र ‘प्यासन’ भइन्जेल आफूहरू अन्य कुराहरूसँग सम्झौता नगर्ने बताउँछन् ।
‘सबै भुल्नु थियो । आँसु निगल्नु थियो । तर मैले सकिनँ ।’ आफ्नो गीतको यही शब्द र लय उनीहरूको शरीर र आत्मामा मानौँ अविभाज्य भई प्रवाहित भइरहेको छ ।

प्रतिक्रिया 4