News Summary
Generated by OK AI. Editorially reviewed.- लोक तथा दोहोरी गायक पशुपति शर्माले ‘तीन तिघ्रे, क्या बिग्रे’ चलचित्रबाट अभिनय यात्रा शुरू गर्दै छन् ।
- अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने यस चलचित्रको छायाङ्कन असार दोस्रो सातादेखि शुरू हुनेछ ।
- अभिनेताका रूपमा डेब्यू गर्न लागेका शर्माले यसअघि चलचित्र ‘प्रेमगीत’ मा पार्श्व गायन गरिसकेका छन् ।
काठमाडौं । लोक तथा दोहोरी संगीतका प्रसिद्ध गायक पशुपति शर्माले फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको आगामी कथानक ‘तीन तिघ्रे, क्या बिग्रे’ फिल्ममा उनी अनुबन्धित भएका छन् ।
केही महिनाअघि नै उनी यो फिल्ममा आबद्ध भैसकेपनि निर्माताले विहिबार मात्र उनको कास्टिङबारे औपचारिक घोषणा गरेको हो । अमरदीप सापकोटाको पटकथा तथा निर्देशन हुने यो फिल्मको छायांकन असार दोस्रो सातादेखि हुने जनाइएको छ ।
‘पछिल्लो समय नेपाली चलचित्र बजारमा एकै प्रकारका कथावस्तु र सीमित कलाकारको वर्चस्व देखिएको अवस्थामा शर्माको प्रवेशले नयाँ उत्साह थप्ने विश्वास गरिएको छ’ निर्माता रघुनाथ सापकोटाले विज्ञप्तिमा भनेका छन् ।
फिल्मको टाइटल सुन्दा हाँस्य कथावस्तुमा बन्न लागेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । प्रेषित विवरणमा गायक शर्मालाई निर्माता र निर्देशकसँग देख्न सकिन्छ ।

फिल्म गायनमा भने पशुपतिको यो पहिलो होइन । उनले प्लेब्याक गायनमा फिल्म ‘प्रेमगीत’मार्फत डेब्यू गरिसकेका छन् । ‘यता तिर्खा लागेको’ उक्त गीत त्यतिबेला निकै रुचाइएको थियो ।
पशुपतिका गीतले प्रेम, परिवार, वैदेशिक रोजगारी, सामाजिक विकृति, राजनीतिक अवस्था, राष्ट्रियता र ग्रामीण जीवनका विविध पक्षलाई समेट्ने गरेका छन् । उनले लोकसंगीतलाई मनोरञ्जनको माध्यम मात्र नभई समाजका आवाज र जनभावना व्यक्त गर्ने प्लेटफर्मका रूपमा प्रयोग गरेका छन् ।
उनका ‘लुट्न सके लुट’, ‘छाता हरायो’, ‘मलाई अमेरिका यही’, ‘बोल माया’ लगायतका गीतले ठूलो लोकप्रियता हासिल गरेका छन् । विशेषगरी ‘लुट्न सके लुट’ गीतले नेपाली समाजमा भ्रष्टाचार र बेथितिविरुद्ध व्यंग्यात्मक सन्देश दिएर व्यापक चर्चा पाएको थियो ।
प्रतिक्रिया 4