+
+
Shares

विपक्षीलाई क्रान्तिशिखाको प्रश्न- दशकौँ सत्तामा बस्नेले विश्वासको ठाउँ दिनुपर्दैन ?

उनले प्रधानमन्त्रीले व्यक्त गरेको विचारलाई खलनायकको रुपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद क्रान्तिशिखा धितालले सीमा विवादबारे प्रधानमन्त्रीले व्यक्त गरेको विचारलाई खलनायकका रूपमा चित्रण गरिएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएकी छन् ।
  • उनले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारीका रूपमा कूटनीतिक संवादको चरण भएको संकेत गरेकी छन् ।
  • विपक्षी दलहरूलाई खोक्रो राष्ट्रवादको खेती गरेर नागरिकमा भ्रम फैलाउनुभन्दा कूटनीतिक समाधानका लागि धैर्य र संवाद गर्न उनले आग्रह गरेकी छन् ।

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले प्रश्नोत्तर कार्यक्रममा बोल्दै नेपालले भारतीय भूमि मिचेको बताएपछि यसको पक्ष र विपक्षमा बहस चर्किरहेको छ । खास गरी विपक्षी दलका सांसदहरूले यही विषयलाई लिएर संघीय संसद्का दुवै सदन अवरोध गर्दै आइरहेका छन् ।

यही विषयमा रास्वपाकी सांसद क्रान्तिशिखा धितालले सीमा विवादको विषय दशकौंदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा भनेकी छन् । उनले प्रधानमन्त्रीले व्यक्त गरेको विचारलाई खलनायकको रुपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

‘मेरो चासो प्रधानमन्त्रीले व्यक्त गर्नुभएको विचारलाई जसरी खलनायकको रूपमा चित्रित गरिँदैछ, त्यसतर्फ छ। सोचौँ त, विगतमा अहिलेका विपक्षी दलहरूले सरकार सञ्चालन गर्दा पनि छिमेकी राष्ट्रसँग विभिन्न दृश्य र अदृश्य समझदारी तथा सम्झौताहरू गरेका थिए । कतिपय सन्धि–सम्झौताहरू यस्ता पनि छन्, जसले राष्ट्रिय हितमाथि प्रत्यक्ष प्रश्न उठाएका छन्,’ उनले भनेकी छन्, ‘यसको अर्थ अरूले गरे, हामीले पनि गर्दा फरक पर्दैन भन्ने होइन । तर कम्तीमा विगतलाई सम्झिएर वर्तमानको मूल्याङ्कन गरिनुपर्छ । स्मरण रहोस्, अघिल्ला सरकारहरूको पालामा त वार्ता परको कुरा, उच्चस्तरीय राजनीतिक भ्रमणसमेत हुन नसकेको अवस्था थियो । अहिले कम्तीमा ‘संवाद गरौँ, वार्ता गरौँ र समस्याको समाधान खोजौँ’ भन्ने वातावरण बनेको छ। त्यो किन गौण बनाइँदैछ ?’

उनले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणको तयारीको रुपमा रहेको संकेत पनि गरेकी छन् । ‘कतिपयलाई लागिरहेको छ, सभापतिको एउटा भ्रमण वा प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले दशकौँ पुरानो सीमा विवादको अन्तिम समाधान दिनुपर्छ। तर कूटनीति त्यसरी चल्दैन। प्रधानमन्त्रीको कुनै पनि भ्रमण एजेन्डाविहीन हुँदैन,’ उनले थप भनेकी छन्, ‘त्यसको तयारीका लागि पर्दाअघि र पर्दापछि राजनीतिक, कूटनीतिक र प्राविधिक तहमा अनेकौँ चरणका संवाद, छलफल र समझदारीहरू भइरहेका हुन्छन्। आज देखिएको औपचारिक भ्रमण त लामो प्रक्रियाको एउटा दृश्य भाग मात्र हो। यदि प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले मात्र यति ठूलो तरंग सिर्जना गर्न सक्छ भने, आगामी दिनमा अझ जटिल, तिता , संवेदनशील र चुनौतीपूर्ण विषयहरू सतहमा आउन सक्छन्।’

यस विषयलाई लिएर नेपाल र भारतका दुवै देशका संसद् र सडक आगामी दिनमा अझै तातिन सक्ने भन्दै उनले दशकौंदेखि थाती रहेको विषयलाई समाधानतर्फ लैजाने प्रयास कहिल्यै सहज नहुने बताएकी छन् ।

‘सत्यको सामना गर्दा असहजता पनि आउँछ, प्रतिरोध पनि आउँछ। तर प्रक्रिया सुरु भएकै क्षण प्रधानमन्त्रीलाई खलनायक घोषणा गर्ने, नागरिकहरूमा भय, शंका र अविश्वास फैलाउने, प्रत्येक कूटनीतिक प्रयासलाई राष्ट्रघातको चस्माबाट हेर्ने अनि समाधानको बाटोभन्दा अवरोधको राजनीति गर्ने प्रवृत्तिले कसलाई फाइदा पुग्छ ?,’ उनले प्रश्न सोधेकी छन्, ‘हाम्रो पार्टीको नेतृत्व, सभापति र प्रधानमन्त्रीबाट राष्ट्रहितविपरीत कुनै सम्झौता हुने छैन। राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितभन्दा माथि कुनै सम्बन्ध, कुनै दबाब र कुनै स्वार्थ हुन सक्दैन। दशकौँसम्म सत्ता र सरकारमा बसेर समस्या समाधान गर्न नसकेकाहरूले कम्तीमा समाधानको प्रयास गरिरहेकाहरूलाई केही विश्वास गर्ने ठाउँ दिनुपर्दैन ? सीमा जस्तो जटिल राष्ट्रिय मुद्दाको मूल्याङ्कन एउटा अभिव्यक्ति, एउटा भ्रमण वा एउटा बैठकबाट कसरी संम्भव हुन्छ ? यस्तो भेट र संवाद त ५० औँ पटक हुन सक्छ ।अनि सधैँ मिठा कुरा हुन्छन् भन्ने कुरा त काल्पनिक मात्रै हो ।’

प्रधानमन्त्रीलाई खलनायक बनाएर नागरिकहरूलाई सशंकित बनाउने, भावनालाई उत्तेजित गरेर खोक्रो राष्ट्रवादको खेती गर्नेभन्दा धैर्य, संवाद र परिणामलाई पर्खिनु बुद्धिमानी हुने उनको भनाइ छ ।

‘कूटनीति भनेको सबैले एकैपटक जेड एउटै तरिकाले बुझ्नुपर्ने विषय होइन, कतिपय राष्ट्रिय मुद्दाहरू समाधानको चरणमा पुग्न समय, संयम र विश्वास तीनैवटाको आवश्यकता पर्छ। कुनै पनि नेतृत्वलाई न त अनावश्यक रूपमा नायक बनाउनु जरुरी छ न त खलनायक बनाएर ठहर्‍याउन । मूल प्रश्न त के हो भने- कसले, किन र कुन उद्देश्यका साथ सम्बन्धित व्यक्तिलाई खलनायकको रूपमा प्रस्तुत गरिरहेको छ भन्ने कुरा बुझ्नु नै बढी महत्वपूर्ण हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?