+
+
Shares

सचिव पुष्करको प्रधानमन्त्रीलाई म्यासेज : सके मुख्यसचिव, नभए राजदूत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यसचिव र राजदूत बन्न सहयोग माग्दै म्यासेज पठाएपछि उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
  • सचिव पुष्करले मुख्यसचिव बन्ने सम्भावनाका लागि र राजदूत पदमा आवेदन दिएको भन्दै सहयोगका लागि म्यासेजमा अनुरोध गरेको खुलेको छ ।
  • प्रहरीले सोधपुछपछि उनलाई श्रीमतीको जिम्मा लगाएर छाडेको छ भने यस्ता प्रवृत्ति दोहोरिन नदिन सचेत गराउन सोधपुछ गरिएको स्रोतले बताएको छ ।

२२ जेठ, काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहलाई मुख्यसचिवदेखि राजदूत बन्नका लागि सहयोग माग गर्दै म्यासेज गरेको खुलेको छ ।

प्रधानमन्त्रीलाई म्यासेज गरेको पाइएपछि बिहीबार मात्रै पुस्करलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केरकार गरेको थियो । लामो केरकार गरेपछि पुस्करलाई प्रहरीले उनकी श्रीमतीको जिम्मा लगाएर छाडेको थियो ।

केरकारमै पर्नेगरी पुस्करले के म्यासेज पठाएका थिए भन्ने प्रश्न उब्जिएको थियो। अनलाइनखबरलाई प्राप्त म्यासेजमा सचिव पुस्करले अझै मुख्य सचिव हुनका लागि आशय व्यक्त गरेको देखिएको छ ।

उनले हजुरको विशेष ध्यान भएमात्रै मुख्यसचिवमा सम्भावना रहेको नत्र कुनै सम्भावना नरहेको उल्लेख गरेका छन् ।

यसबाट पुस्करले अझै मुख्यसचिवका हुनका लागि आश गर्दै सहयोग हुनसके अझै सम्भावना रहेको व्यक्त गरेको देखिन्छ ।

मुख्य सचिव नभएको अवस्थामा सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर २४ असारमा अवकाशमा जाने निश्चित भएकाले राजदूतका लागि पुष्करले फारम गरेको पनि पाइएको छ । उक्त कुरा उनले म्यासेजमै उल्लेख गरेका छन् ।

‘राजदूतका लागि विज्ञापन हेरेँ र मैले पनि आवेदन पेश गरेँ, हजुर । यस समन्बन्धमा हजुरको जानकारी मार्गंदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

यही म्यासेजपछि पुस्करलाई नियन्त्रणमा लिएर प्रहरीले केरकार गरेको थियो । यता सरकारी संयन्त्रले भने पुस्करलाई पक्राउ गरेर थुन्ने कुनै योजना नरहेको बताएको छ । अझै मुख्यसचिव बन्न खोज्ने, बहालमै रहेका सचिवले राजदूतका लागि फारम भर्ने र सहयोग भन्दै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि एउटा सन्देश दिन प्रहरीले सोधपुछ गरेको सरकारी स्रोतले जानकारी दियो ।

‘यति म्यासेजकै आधारमा पक्राउ गर्ने थुन्ने भन्दा पनि एउटा सन्देश दिन खोजिएको हो । ताकि भोलिका दिनमा यस्ता घटना नदोहोरिउन् भन्ने हो । अझै पनि भनसुनको भरमा मुख्यसचिव  ताक्ने, राजदूतका लागि सहयोग माग्ने प्रवृति देखिएकाले सबैलाई जनालाई सन्देशका लागि प्रहरीले सोधपुछमात्रै गरेर छाडेको हो,’ सरकारी स्रोत भन्छ ।

सचिव पुस्कर २४ असारमा पाँच वर्षे अवधिले अवकाश हुदैछन् भने मुख्यसचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदले त्यसको भोिलपल्ट अर्थात् २५ असारमा अवकाश हुदैछन् ।

सचिव पुस्करले मुख्यसचिव अर्याललाई केही दिनअघि नै राजिनामा दिन लगाएर त्यो ठाँउमा आफू मुख्यसचिव हुन खोजेका थिए ।

विगतमा प्रचण्ड सरकारले मुख्यसचिव शंकरदार बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेर अवकाश हुन दुई दिन बाँकी रहेका सचिव डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको थियो ।

त्यही शैलीमा मुख्यसचिव हुन खोजेका पुस्करले अवकाश हुन करिब एक महिना बाँकी छँदा प्रधानमन्त्रीलाई आफू अनुकुलको निर्णयको आग्रह सहित म्यासेज गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?