+
+
Shares

धवलशमशेरप्रति लिङ्देनको कटाक्ष : फाल्नुपर्ने पार्टीका ऐंजेरुहरू आफैं छाडेर गए

राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताउनुभएको छ ।
  • राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उहाँले अब राप्रपा बन्ने बाटो खुला भएको दाबी गर्नुभयो ।
  • नेपालमा राजावादी शक्तिहरूको एकता भाँड्न विदेशी शक्ति समेत लागेको आरोप अध्यक्ष लिङ्देनले लगाउनुभएको छ ।

२२ जेठ, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताएका छन् । राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए ।

शुक्रबार पार्टीको गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘खुट्टामा पलाएको ऐंजेरु जुत्ता लगाउन पनि अप्ठ्यारो, हिँड्न पनि अप्ठ्यारो हुने,’ राणाप्रति कटाक्ष गर्दै उनले भने, ‘काटेर फालौं आफ्नै जिउको नाश, फालौं की नफालौं भइरहेको बेला आफैं छाडेर गए ।’ पार्टीमा ऐंजेरुको रूपमा काम गरिरहेकाहरू बाहिरिँदा पार्टी बन्ने बाटो खुल्ला भएको उनले जिकिर गरे ।

पार्टीलाई सहयोग नगर्नेहरू पार्टी छाडेर जाँदा दुःख नमान्न उनले आग्रह गरे । उनले भने, ‘पार्टीका नेता, कार्यकर्ता, समर्थक भनेको चुनावमा चाहिने होइन ? चुनावमा उमेदवार पनि नबन्ने, उमेदवारलाई भोट दिन पनि नजाने र यो पार्टीलाई राष्ट्रिय पार्टी पनि बन्न दिनु हुँदैन भनेर भन्ने मानिस पार्टी छाडेर गए त त्यसमा के दुःख मान्ने ।’

चुनावको समयमा महासचिव राणाबाट कुनै सहयोग नभएको भन्दै लिङ्देनले असुन्तुष्टि समेत व्यक्त गरे । यसअघि चुनाव जितेको मान्छे गत निर्वाचनमा किन चुनाव नलडेको भन्दै उनले राणालाई प्रश्न गरे । देशभरि यस्तै अवसरवादी मानिसले पार्टी छाडेर जाँदैमा राप्रपा फुट्यो भन्न नमिल्ने उनको भनाइ छ ।

‘८७ वर्षको आधार गर्नुपर्ने उमेरको मान्छेलाई संयोजक बनाए मात्र आन्दोलन हुन्छ भनेर अगाडि सारे, देशभरि बनेको वातावरण भताभुङ्ग पारे अनि लिङ्देनले सहयोग गरेन भनेर दोष लगाउने,’ उनले भने ।

अर्काको गोटी हुने तर थाहा नपाउनेहरू आफ्नै योजनाका कारण आफैं भड्खालोमा परेको उनले बताए ।

नेपालमा राजावादी शक्तिहरूको एकता भाँड्न विदेशी शक्ति समेत लागि परेको उनले आरोप लगाए । यसको सत्यतथ्य एकदिन बाहिरिने उनको भनाइ छ ।

महाधिवेशन पश्चात ठोस कार्यक्रमसहित जनतामाझ आउने उनले आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?