News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा २७ देशका ६०० भन्दा बढी प्रतिनिधिको सहभागितामा हिमालयन ट्राभल मार्टको छैटौं संस्करण सम्पन्न भएको छ ।
- पाटा नेपाल च्याप्टरद्वारा आयोजित यस कार्यक्रमले नेपाललाई हिमालयको प्रवेशद्वार र पर्यटन सहकार्यको प्रमुख केन्द्रका रूपमा स्थापित गरेको छ ।
- पाटा नेपालका अध्यक्ष खेम लकाईले मार्टले पर्यटन विकास र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
२२ जेठ, काठमाडौं । हिमालयन ट्राभल मार्ट (एचटीएम २०२६) को छैटौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा २७ देशका ६०० भन्दा बढी प्रतिनिधि सहभागी भए । कार्यक्रमले नेपाललाई ‘हिमालयको प्रवेशद्वार’ तथा पर्यटन सहकार्य, सञ्जाल विस्तार र व्यवसायिक आदानप्रदानको प्रमुख केन्द्रका रूपमा थप स्थापित गरेको पाटा नेपालले जनाएको छ ।
‘पर्यटनका नयाँ आयामहरू’ भन्ने मूल नाराका साथ जुन १ देखि ४ सम्म आयोजित एचटीएम २०२६ मा ७५ अन्तर्राष्ट्रिय क्रेता कम्पनीका प्रतिनिधि, ८० भन्दा बढी बिक्रेता एवम् प्रदर्शक संस्था तथा नेपालसहित विभिन्न देशका पर्यटन सरोकारवाला गरी १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीले भाग लिए ।
पाटा नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स तथा सार्वजनिक र निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा आयोजित यस कार्यक्रमले विश्व पर्यटन उद्योगमा उदाउँदा अवसरहरूको खोजी, अन्तर्राष्ट्रिय साझेदारीको विस्तार तथा पर्यटनको भविष्यबारे संवादका लागि एक सशक्त मञ्च प्रदान गरेको पाटाको भनाइ छ।
कार्यक्रमअन्तर्गत व्यवसाय–व्यवसाय (बीटूबी) बैठक, विचार नेतृत्वमूलक सत्र, गन्तव्य अनुभव कार्यक्रम, नेटवर्किङ कार्यक्रम तथा सांस्कृतिक प्रस्तुति समावेश थिए । यी गतिविधिहरूले नवप्रवर्तन, दिगोपना, उत्थानशीलता र सहकार्यलाई नेपाल तथा विश्व पर्यटन विकासका प्रमुख आधारस्तम्भका रूपमा प्रस्तुत गरेका थिए ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले हिमालयन ट्राभल मार्टले पर्यटन विकास, क्षेत्रीय सहकार्य तथा अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । समापन समारोहमा नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐयरले नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न निरन्तर सहयोग पुर्याइरहेका अन्तर्राष्ट्रिय प्रतिनिधि, साझेदार तथा सरोकारवालाहरूप्रति आभार व्यक्त गरे ।
मार्ट सुरु हुनुअघि अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पोखरा, लुम्बिनी, हैबुङ (सिन्धुपाल्चोक), कीर्तिपुर तथा नमोबुद्ध लगायतका प्रमुख गन्तव्यहरूमा विशेष रूपमा तयार गरिएका परिचयात्मक भ्रमण गरेका थिए ।
प्रतिक्रिया 4