+
+
Shares

सप्तरीको गम्हरिया पोखरी सौन्दर्यीकरण ठेक्का रद्द गर्ने तयारी

'अन्तिम पटक' भन्दै ठेकेदारसँग मागियो सातदिने स्पष्टीकरण

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ जेठ २४ गते ७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको खडक नगरपालिकाले गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको काम अलपत्र पारेको भन्दै निर्माण व्यवसायीसँग ७ दिनभित्र स्पष्टीकरण माग गरेको छ ।
  • दोस्रो पटक म्याद थप्दा र पेश्की रकम लिँदा पनि रविना ओम गणेशाय जेभीले काम पूरा नगरेपछि नगरपालिकाले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो ।
  • उक्त नगरपालिकाले गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार नगरी नै ठेक्का सम्झौता गरेको पाइएको छ ।

२४ जेठ, सप्तरी । सप्तरीको खडक नगरपालिकाले गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य अलपत्र पारेको भन्दै ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको छ ।

नगरपालिकाका अनुसार वडा नं. ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण कार्यका लागि रविना ओम गणेशाय जेभी, डाक्नेश्वरी–९, सप्तरीसँग ठेक्का सम्झौता भएको थियो । तर दोस्रो पटकसम्म म्याद थप गरिँदा पनि निर्माण कम्पनीले काम पूरा नगरेको, पेश्की रकम लिएर समेत कार्य प्रगति नगरेको तथा लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले निर्माण कार्य सुचारु गर्न र समयमै सम्पन्न गर्न पटक–पटक पत्राचार गरे पनि कम्पनीले काम अघि नबढाएको जनाएको छ । निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिन आठ दिन मात्र बाँकी रहँदा पनि निर्माण व्यवसायीले नियमानुसार म्याद थपका लागि निवेदन नदिएको सूचनामा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस किन नगर्ने भन्ने विषयमा सात दिनभित्र विश्वसनीय स्पष्टीकरण पेश गर्न नगरपालिकाले आग्रह गरेको छ ।

खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले जारी गरेको सूचनामा यसलाई ‘अन्तिम ताकेता’ मान्दै तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता रद्द गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिए ।

नगरपालिकाको अभिलेखअनुसार २०७८ भदौ २१ गते बोलपत्र मूल्यांकन समितिले उक्त आयोजनाका लागि पेश भएका आठवटा प्राविधिक प्रस्ताव स्वीकृत गरेको थियो । त्यसपछि २०७८ असोज ७ गते ३ करोड ९९ लाख ७८ हजार ७४२ रुपैयाँमा रविना ओम गणेशाय जेभीलाई ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको थियो ।

आईईई प्रतिवेदनबिनै ठेक्का लगाइएको दाबी

यसबीच गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको ठेक्का प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार नगरी नै लगाइएको पाइएको छ ।

नगरपालिकाले भने आयोजनाको आईईई प्रतिवेदन तयार गर्ने प्रक्रिया हालै मात्र अघि बढाएको देखिन्छ । यसका लागि २०८३ वैशाख १८ गते सार्वजनिक सूचना जारी गरी वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४ बमोजिम सार्वजनिक सुनुवाइको मिति तोकिएको थियो ।

सोहीअनुसार २०८३ वैशाख २४ गते वडा नं. ६ कार्यालय परिसरमा स्थानीयवासी तथा सरोकारवालासँग सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । आईईई प्रतिवेदन तयारीको जिम्मेवारी स्थानीय फर्म आरबी इन्जिनियरिङ कन्सल्टेन्सी, खडक नगरपालिका–६, सप्तरीलाई दिइएको छ ।

आईईई प्रक्रिया सुरु हुनुअघि नै आयोजनाको ठेक्का सम्झौता भएको तथ्यले सार्वजनिक खरिद तथा वातावरणीय स्वीकृतिसम्बन्धी प्रक्रिया पालना गरिएको थियो वा थिएन भन्ने विषयमा प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?