News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
- कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गराई धरौटीमा छाड्न आदेश दिएको हो ।
२४ जेठ, पोखरा । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन् ।
१७ करोड बिगो रकम कबुल तिर्ने कबुल गरेपछि उनी ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
महेन्द्र नेकपा एमालेनिकट युवा संघका नेता हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए ।
जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।
सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि वर्ष कैद सजायको माग गरिएको थियो ।
सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख थियो ।
सहकारीको रकम सबैभन्दा बढी जीबीका दाजुभाइ अध्यक्ष हुँदा अपचलन भएको देखिएको थियो । २०६५ असार २६ गतेदेखि २०६८ मंसिर १७ गतेसम्म ज्ञानबहादुर वम्जन अध्यक्ष हुँदा १९ करोड २ लाख ८४ हजार रुपैयाँ अपचलन भएको पाइएको छ ।
त्यसपछिको कार्यकालमा जीबी राई नै अध्यक्ष बनेका थिए । उनको कार्यकालमा १९ करोड २८ लाख ४९ हजार रुपैयाँ अपचलन भएको देखिएको छ । उनी २०६८ मंसिर १७ गतेदेखि २०७३ मंसिर १८ गतेसम्म अध्यक्ष थिए ।
त्यसपछिको कार्यकाल जीवीकै दाइ भूपेन्द्र अध्यक्ष थिए । २०७३ मंसिर १८ गतेदेखि २०७८ कात्तिक १७ गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७२ लाख ३३ हजार रुपैयाँको कर्जा करोबार भएको थियो । त्यसभन्दा यता थानबहादुर बुढामगर अध्यक्ष थिए । उनी अध्यक्ष हुँदा २७ करोड ४८ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी भएको देखिएको छ ।
राजनीतिक संरक्षणमा गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिया राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि साढे ८ करोड रुपैयाँ लगेको देखिएको थियो ।
प्रतिक्रिया 4