२५ जेठ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको चुनावबाट ठकुल्ला ३३५ मतसहित सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्प्रधी महेश कुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका छन् । उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन् । पाँच जना प्रतिस्पर्धीलाई पराजीत गर्दै चौधरी १५२ मत ल्याएर विजयी भएका हुन् ।
सचिवमा मदनराज जोशी विजयी भएका छन् । जोशी तीन जना प्रतिस्पर्धीलाई पराजीत गरि विजयी भएका हुन् । सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन् ।
सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दिपक बिक, नरदिप बहादुर धामी विजयी भएका छन् । यस्तै, कैलाली—१ को निर्वाचन क्षेत्र सदस्यमा टंकप्रसाद जैशी ढुंगाना, २ को कृष्णबहादुर बिष्ट, ३ को बासुदेव घरेडी र ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन् ।
अध्यक्षका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक र मतदाता नामावलीमा धाँधली भएको भन्दै चुनाव बहिष्कार गरेका थिए । दुवै जनाको बहिष्कारबीच रास्वपाले मतदान प्रक्रिया अघि बढाएको थियो । कुल ५०८ मतदाता रहेकोमा ३३५ मत खसेको थियो । चौधरी र रेग्मीले भने ५० मत पनि कटाउन सकेनन् ।
प्रतिक्रिया 4