0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इप्पानमा विधान संशोधन विवाद चर्कियो, दुलालको आरोपको अध्यक्ष कार्कीद्वारा खण्डन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले विधान गायब भएको र विधानविपरीत साधारणसभा गर्न लागिएको भन्ने आरोपको खण्डन गरेको छ ।
  • इप्पानका अध्यक्ष गणेश कार्कीले संस्थाको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते वैधानिक रूपमा आयोजना हुन लागेको बताए ।
  • प्रस्तावित विधान संशोधनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाई योग्य कार्यसमिति सदस्यले अध्यक्षमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ ।

२५ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संस्थाको विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको  आरोपमा खण्डन गरेको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आगामी जेठ २९ गते वैधानिक रूपमा आयोजना हुन लागेको बताए । उनले संस्थाविरुद्ध गरिएका आरोपहरू भ्रामक र कपोलकल्पित रहेको बताए ।

विज्ञप्तिअनुसार इप्पानमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य आबद्ध छन् । २०८० जेठ ३२ गते सम्पन्न २१ औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । उक्त समितिले संस्थालाई महासंघको रूपमा रूपान्तरण गर्ने प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते पेश गरेको थियो ।

सो प्रतिवेदनमाथि २०८२ असार ३१ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभामा छलफल गरी कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी प्रदान गरिएको इप्पानले जनाएको छ । तर, महासंघमा रूपान्तरणको प्रक्रिया अघि बढ्न नसकेपछि २०८३ वैशाख ४ गते बसेको २०० औँ कार्यसमिति बैठकले इप्पानको विद्यमान विधान २०७८ अनुसार २४ औँ साधारणसभा तथा आठौं अधिवेशन गर्ने निर्णय गरेको थियो ।

२०८३ जेठ २५ गते सम्पन्न २०३ औँ कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको जनाएको छ । प्रस्तावित संशोधनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा विधानअनुसार योग्य भएका कार्यसमितिका सदस्यलाई अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने व्यवस्था समावेश गरिएको छ । अन्य सबै पदमा पनि खुला प्रतिस्पर्धामार्फत उम्मेदवारी दिन सकिने प्रस्ताव रहेको इप्पानले जनाएको छ ।

इप्पानले उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ र ‘विधानविपरीत साधारणसभा गर्न लागिएको’ भन्ने आरोप लगाएकोमा आपत्ति जनाएको छ । संस्थाले पोखरेल नेतृत्वको विधान संशोधन तथा पुनर्लेखन समितिको प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको दाबी गर्दै दुलालका आरोप तथ्यहीन रहेको जनाएको छ ।

इप्पानले आगामी जेठ २९ गते हुने साधारणसभा तथा अधिवेशनका लागि जेठ ९ र १० गते नै सार्वजनिक सूचना प्रकाशित गरिसकिएको उल्लेख गर्दै ऊर्जा व्यवसायीहरूलाई भ्रममा नपर्न र अधिवेशन सफल बनाउन सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?