0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एनसेल डेटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए ९४२-सी प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १४:१५

२७ जेठ, काठमाडौं । एनसेल बिजनेसको ललितपुर नख्खुस्थित अत्याधुनिक डेटा सेन्टरले प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड–३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फेसिलिटी’ प्रमाणीकरण प्राप्त गरेको छ ।

कम्पनीका अनुसार उक्त अन्तर्राष्ट्रिय प्रमाणीकरणले डेटा सेन्टरको विश्वसनीयता, सुरक्षा तथा गुणस्तरसम्बन्धी उच्च मापदण्ड पूरा गरेको पुष्टि हुन्छ। यो डेटा सेन्टर नेपाल सरकारद्वारा सूचीकृत देशकै पहिलो सेन्टर तथा क्लाउड सेवा प्रदायकसमेत रहेको कम्पनीले जनाएको छ।

प्रमाणीकरणले डेटा सेन्टरको पूर्वाधार र डिजाइन ‘रेटेड–३’ मापदण्डअनुसार रहेको प्रमाणित गरेको छ। यसले उच्च उपलब्धता, अतिरिक्त सुरक्षा प्रणाली तथा मर्मतका क्रममा पनि सेवा अवरुद्ध नहुने संरचना सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

एनसेलका अनुसार अधिकतम सञ्चालन समय (अपटाइम) सुनिश्चित गर्न डिजाइन गरिएको उक्त डेटा सेन्टर पूर्वनिर्धारित मर्मतसम्भार वा आकस्मिक अवस्थाका बेला पनि निरन्तर सञ्चालनमा रहन सक्षम छ। पूर्ण रूपमा अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणालीका कारण यसको उपलब्धता दर करिब ९९.९८ प्रतिशत रहेको बताइएको छ।

उक्त मूल्यांकन तथा प्रमाणीकरण दूरसञ्चार उद्योग संघ (टेलिकम्युनिकेसन इन्डस्ट्री एसोसिएसन–टीआईए) बाट अधिकृत अडिट तथा प्रमाणीकरण संस्था ‘डेटा सेन्टर मिडिया एलएलपी’ले गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो उपलब्धि एनसेल मात्र नभई नेपालकै लागि महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताए । उनका अनुसार नेपालबाट डिजाइन तथा निर्माण सम्पन्न पूर्वाधारका लागि टीआईए प्रमाणीकरण प्राप्त गर्ने एनसेल डेटा सेन्टर पहिलो बनेको छ।

उनले विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताले स्थानीय व्यवसायलाई विस्तार गर्न सहयोग पुग्नुका साथै सरकारको डिजिटल रूपान्तरण अभियानलाई पनि टेवा पुग्ने बताए । साथै बैंकिङ, वित्तीय, सरकारी तथा अन्य संवेदनशील क्षेत्रका संस्थाले अब नेपालमै सुरक्षित र भरपर्दो डेटा होस्टिङ सेवा प्राप्त गर्न सक्ने उनको भनाइ छ।

एनसेल डेटा सेन्टरले सूचना सुरक्षा तथा गोपनीयतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ २७००१ र आईएसओ २७७०१ प्रमाणीकरण समेत प्राप्त गरिसकेको छ। यसका अतिरिक्त कम्पनीसँग आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणीकरण पनि रहेको छ।

कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सरकारी निकाय, साना तथा मझौला उद्यम तथा ठूला व्यवसायलाई सुरक्षित र भरपर्दो डिजिटल सेवा प्रदान गर्ने क्षमतामा थप मजबुती ल्याएको छ। यसले नियामकीय मापदण्डको पालना गर्दै संवेदनशील सेवाहरू सञ्चालन गर्न आवश्यक पूर्वाधार उपलब्ध गराउने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?