२७ जेठ, काठमाडौं । संसद्मा नेपाल राष्ट्र प्रति संवेदनशीलता प्रकट गर्न बेला–बेला सांसदहरू राष्ट्रिय गीतका भाव सुनाउँछन् । बुधबार पनि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि राष्ट्रियताप्रति आफ्नो भाव ओकल्न गोपाल योञ्जनको गीत सम्झिए ।
‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हात पाउ झरि जाउन औंला, तर कोही अगाडि यी हात जोडिन्न,’ योञ्जनका गीत आङ्देम्बेले सम्झिए ।
नेपालले भारतको जमिन कहिल्यै नमिचेको उनले बताए । भारतले नेपालको जमिन मिचेको विभिन्न तथ्यले देखाएको बताए ।
तर प्रधानमन्त्रीले नेपालले पनि जमिन मिचेको भने झैँ गरी बोलेको र आफूहरूले प्रश्न उठाएको बताए ।
प्रधानमन्त्री संसद्मा आफैँले बोलेको अभिव्यक्तिमा प्रश्न उठेपछि नआएको र यहीकारण संसद बन्धक बन्न पुगेको भनेर उनले अगाडि बढ्न आफूहरू नै तयार भएको बताए ।
संसद्मा सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ पनि परराष्ट्रमन्त्री शिशिर खनालले दिएका छन् ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए ।
त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिउपर संसद्मा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिउपर बुधबार परराष्ट्रमन्त्री खनालले जवाफ दिएका हुन् ।
नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवार यात्रा सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उनले बताए ।
यस विषयमा नेपालले कूटनीतिक नोट पठाएको र भारतले पनि त्यसको जवाफ फर्काएको उनले जानकारी दिए ।
नक्सांकन हुन बाँकी रहेका क्षेत्रमा बाहेक दशगजा अतिक्रमणको समस्या विद्यमान रहेको पनि उनले बताए ।
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको भनेर उनले बचाउ गरे ।
सीमा विवादका विषय कुटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको पनि उनले बताए ।
साथै नेपाल र भारत सीमाको विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको पनि उनले बताए । प्रमाण संकलन गर्ने क्रममा अर्को देशसँग समेत संवाद गरेको विषय प्रधानमन्त्रीले राखेको पनि उनले बताए ।
परराष्ट्रमन्त्रीको यस्तो जवाफपछि संसद्मा बोल्दै कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले जे जस्ता तर्क गरे पनि प्रधानमन्त्रीको अभिव्यक्ति कहिल्यै स्वीकार गर्न नसकिने बताए । यसक्रममा उनले गोपाल योञ्जनको राष्ट्रवादी गीत सम्झिएका हुन् ।
प्रतिक्रिया 4