0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares
मध्यपहाडी लोकमार्ग :

फिदिम योजना कार्यालयको बजेट घट्यो, आगामी वर्ष पनि निर्माणले पूर्णता नपाउने

फिदिम योजना कार्यालयले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरको चिवाभञ्ज्याङदेखि थर्पु खण्डको ५० किलोमिटर  र तेह्रथुमको सक्रान्ति म्याङलुङखण्डको १० किलोमिटरको निर्माण हेरिरहेको छ ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ जेठ २८ गते १५:४१

२८ जेठ, पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गतको फिदिम योजना कार्यालयको बजेट घटेको छ । चालु आर्थिक वर्षमा ५९ करोड बजेट रहेकामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा जम्मा ३२ करोडमा विनियोजन भएको छ ।

फिदिम योजना कार्यालयले सुरुवाती विन्दु चिवाभञ्ज्याङदेखी भोजपुर र खोटाङसम्मको खण्ड हेर्छ ।

‘चालु आर्थिक वर्षमा ५९ करोड मध्ये २ करोडमात्र खर्च हुनसक्यो । त्यही भएर बजेट घटेको हो । खर्चै नहुने भएपछि बजेट घट्ने नै भयो,’ कार्यालयका प्रमुख सञ्जय मिश्रले भने, ‘ठेकेदारले काम नगरीदिँदा बजेट खर्च गर्न सकिएन ।’ बजेट नै खर्च भएन भन्नुको अर्थ कामको प्रगति पनि नभएको उनले बताए ।

उनका अनुसार आगामी आवका लागि ३२ करोड २३ लाख २० हजार बजेट विनियोजन भएको छ । पूरै लोकमार्गका लागि भने कुल दुई अर्ब ६० करोड बजेट विनियोजन भएको उनले बताए ।

मध्यपहाडी लोकमार्गको आयोजना निर्देशनालय काठमाडौं र पाँचवटा योजना कार्यालय छन् ।

फिदिम योजना कार्यालयले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरको चिवाभञ्ज्याङदेखि थर्पु खण्डको ५० किलोमिटर  र तेह्रथुमको सक्रान्ति म्याङलुङखण्डको १० किलोमिटरको निर्माण हेरिरहेको छ ।

जसमा तेह्रथुममा तोडिएका ठेक्काको १४ किलोमिटर कालोपत्रेको पुन ठेक्का नलागेको र पाँचथरमा बाढीले बगाएका पुल बनाउनै बाँकी रहेको योजना कार्यालयले जनाएको छ ।

यसपटक बजेट कम परेपछि आगामी वर्षपनि निर्माणले पूर्णता नपाउने देखिएको छ ।

चिवाभञ्ज्याङ–थर्पु खण्डमा २०७७ सालमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी तीन प्याकेजमा एक अर्ब ४७ करोडमा ठेक्का लगाइएको थियो । तर कामको प्रगति अति न्यून छ ।

आयोजनाको कामले गति नपाउँदा लोकमार्गको राष्ट्रिय लक्ष्य प्रभावित भएको छ । सडक कालोपत्रे हुँदा सुविधा पाइने आशामा बसेको स्थानीय बासिन्दा निराश पनि बन्दै गएका छन् ।

योजना कार्यालयका अनुसार रोशन–शिवशक्ति जोभीको ठेक्का रहेको पहिलो खण्डमा २७ प्रतिशतमात्र काम भएको छ । यो खण्डमा १६ किलोमिटर पर्छ ।

सन्तोषी शिवशक्ति जेभीको ठेक्का रहेको दोस्रो खण्डमा १५ प्रतिशत मात्र काम भएको छ । यो खण्ड १७ किलोमिटर छ ।

यस्तै, रोशन–शिवशक्ति जेभी ठेक्का भएको तेस्रो खण्डमा ५० प्रतिशत काम भएको छ । यो खण्डमा १७ दशमलव ६४७ किलोमिटर छ ।

तेह्रथुमको संक्रान्ति–म्याङ्लुङ खण्डमा २४ दशमलव ४० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।  १४ दशमलव ४० किलोमिटरको ठेक्का तोडिएको थियो । तर, यसको पुन: ठेक्का लागेको छैन ।

तेह्रथुममा २०७२ सालमा कालोपत्रे गर्ने ठेक्का लगाइएको कन्टेक–गौरी–पार्वती–कोशी जेभीले ठेक्का लिएको १० किलोमिटर सडक कालोपत्रे गर्ने काम १० वर्षमा पनि पूरा भएको छैन ।

३९ करोड १८ लाखमा ठेक्का लागेको उक्त कामको प्रगति ७५ प्रतिशत छ । पटकपटक ताकेता गरिएको प्रमुख मिश्र बताउँछन् ।

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?