२८ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित विस्थापित सुकुमवासी राखिएका दुई वटा होल्डिङ सेन्टरको अवलोकन गरेका छन् । बिहीबार साँझ अवलोकनमा पुगेका उनले सुकुमवासी परिवारसँग माफी पनि मागेका छन् ।
अवलोकनका क्रममा उनले आफू मन्त्रालयको जिम्मेवारीमा नरहेका बेला सुकुमवासी बस्तीबाट हटाइए पनि समस्या समाधानमा गम्भीर रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ,’ सुकुमवासीसँग गृहमन्त्री गुरुङले भने ।
सो क्रममा सुकुमवासी परिवारले गृहमन्त्री गुरुङसँग आफ्ना पीडा र गुनासा राखेका थिए । उनीहरूले बालबालिकाको शिक्षादीक्षामा असहजता भएको र उपचारमा पनि समस्या भइरहेको बताएका थिए ।
त्यसपछि गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरमा प्रहरी टोली खटाउन र निरन्तर अपडेट राख्दै स्वास्थ्य तथा आकस्मिक सेवामा ध्यान दिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4