+
+
Shares

पिच भयो नौबिसे–धार्के सडकखण्ड (भिडिओसहित)

पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आज सडकको अवस्था बुझ्न धादिङ जाँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारको कामले गति लिएको छ ।
  • नौबिसे–मलेखु सडकखण्डमा हाल ६० प्रतिशत भौतिक प्रगति भएको छ भने ४०० मजदुर कार्यरत छन् ।
  • सडकखण्डमा रहेका १३ मध्ये १० वटा पुलबाट सवारी साधन सञ्चालनमा आइसकेका छन् ।

३१ जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको छ । नौबिसे–मलेखु र मलेखु–मग्लिन सडकखण्डमा करिब चार सय मजदुरहरु खटिएर काम गरिरहेका छन् ।

शनिबार मात्रै नौबिसे–मलेखु सडक खण्डको धार्के क्षेत्रमा कालोपत्रे गरिएको छ । तीन किलोमिटर बेस फाइनल गरेर कालोपत्रे गरिएको हो । घाटबेसी क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छ ।

दोस्रो प्याकेजको ४३.५ किलोमिटरमध्ये पिच गर्नका लागि खनिएको नौ किलोमिटर थियो । पुरानो पिच नखनिएको १० किलोमिटर जति छ । पश्चिम एसियामा जारी युद्धको कारण अत्यधिक मूल्यवृद्धि भएको र कच्चा पदार्थसमेत आयात गर्न नसकिएका कारण काम रोकिएको थियो ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूल्य समायोजन गर्ने आश्वासन दिएपछि र स्थानीय पालिकाहरुबाट निर्माण सामग्री प्रबन्ध मिलाउन सहजीकरण गरेपछि निर्माण व्यवसायीले काममा गति दिएका हुन् ।

मन्त्री लम्साल आज आफैं सडकको अवस्था बुझ्न धादिङ जाँदैछन् ।

अहिले धेरै उकालो रहेको तथा सवारीका लागि अप्ठ्यारो रहेको ठाउँ र बजार क्षेत्रमा पहिला पिच गरेर सहज ठाउँमा क्रमागत रुपमा गर्ने गरी काम भइरहेको निर्माण व्यवसायीको भनाइ छ ।

निर्माण व्यवसायी भन्छन्– ६० प्रतिशत भौतिक प्रगति

नौबिसे–मलेखु सडकखण्डमा हाल ६० प्रतिशत भौतिक प्रगति भइसकेको शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले जानकारी दिए । उनका अनुसार मलेखु–नौबिसे खण्डमा करिब २०० जना मजदुर र मलेखु–मुग्लिन खण्डमा करिब १८० मजदुरलाई काममा खटाइएको छ ।

मलेखु–मुग्लिन सडकखण्ड अन्तर्गत ६ मध्ये चार वटा पुल बनिसकेर सन्चालनमा आइसकेका छन् । कच्चा पदार्थको आपूर्ति सहज भएसँगै घुम्ती र चरौदीको पुल निर्माण कार्य पनि जारी छ । सो क्षेत्रमा पनि झण्डै पाँच किलोमिटर सडक कालोपत्रेको काम पनि सुरु हुँदै छ ।

यसैगरी सोप्याङखोला पुल, खहरे खोला पुल, सडक सुरक्षाका लागि पर्खाल लगाउने लगायतका कार्यहरू पनि अहिले भइरहेका छन् । १३ मध्ये १० वटा पुलबाट सवारी साधन चल्न थालिसकेका छन् । दुईवटा पुलको स्ल्याबको काम गर्न बाँकी छ ।

फेदी खोला पुल निर्माण कार्यले पनि गति लिएको छ । यसअघि अदालतमा मुद्दा परेका कारण फेदी खोलाको काम रोकिएको थियो । तर अदालतले निर्माण कार्यका लागि बाटो खोलिदिइसकेकाले फेदीखोलाको काम पनि अब सुरु हुने शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले जानकारी दिए ।

‘स्थानीय निर्माण सामग्रीले पनि विभिन्न समस्याहरू झेलिएकोमा हाल पूर्वाधार विकास मन्त्री र मन्त्रालयका अधिकारीबाट समेत सोको लागि सहजीकरण गरे पश्चात निर्माण सामग्री प्राप्त भएर सहज भएको छ,’ शर्माले भने, ‘धेरै लामोसम्म समयसम्म रोकिएको विद्युतको पोल स्थानान्तरण गर्ने कार्य पनि सुरु भएको छ । अब हामीलाई आशा छ सडकको कार्य रोकिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?