News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीभित्रको आन्तरिक कलह र व्यक्ति केन्द्रित प्रवृत्तिका कारण संगठन इतिहासकै कमजोर अवस्थामा पुगेको बताए।
- विराटनगरमा आयोजित कार्यक्रममा उनले 'म मात्रै हुँ' भन्ने घमण्ड त्यागेर आगामी १५औँ महाधिवेशनमा सबैलाई समेट्ने बाटो खोज्नुपर्नेमा जोड दिए।
- रिजालले आम जनताको निराशा चिर्न र कांग्रेसको भविष्य सुरक्षित गर्न पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताए।
३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले पार्टीभित्रको आन्तरिक कलह र ‘म’ केन्द्रित प्रवृत्तिका कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् ।
विराटनगर कांग्रेसकाे इतर समूहले आयाेजना गरेकाे भेलालाई सम्बाेधन गर्दै उनले पार्टीभित्रका अतृप्त चाहना र आन्तरिक संघर्षले संगठनलाई क्षति पुर्याएको बताए ।
रिजालले कांग्रेसको ८० वर्ष लामो इतिहासमा अहिलेजस्तो अन्योलपूर्ण र कमजोर अवस्था कहिल्यै नदेखिएको टिप्पणी गरे ।
‘हामी जहाँ छौँ, एक ठाउँमा छैनौँ,’ उनले भने,’ गएको ४–५ वर्षदेखि कांग्रेसमा एउटै कुरा दोहोरियो– ‘मलाई बनाउनुस्, सबै ठीक हुन्छ’ । तर, व्यक्ति केन्द्रित यो सोचले कांग्रेस ठीक हुँदैन भन्ने कुरा पटक–पटक प्रमाणित भइसकेको छ ।’
पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै रिजालले अब कोही पनि बाहिर नहुने गरी सबैलाई समेट्ने बाटो खोज्नुपर्ने बताए । ‘हिजो बीपी कोइरालासँग पनि भूदेव राई, गणेशमान सिंह र सुवर्ण शमशेरले प्रतिस्पर्धा गर्नुभएको थियो,’ उनले भने,’नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर चुनावमा जसले जिते पनि कांग्रेस एउटै भएर निस्कनुपर्छ ।’
नेता रिजालले पार्टीभित्रका विभिन्न पक्षहरू (संस्थापन र इतर पक्ष) बीच संवाद भइरहेको बताए । ‘शेखरजीले पनि एकताको सन्देश लिएर अगाडि बढ्ने भन्नुभएको छ, उनले भने,’ हामीले कसैले कसैको अगाडि घुँडा टेक्नु पर्दैन, तर ‘म मात्रै हुँ’ भन्ने घमण्ड पनि कसैले गर्नु हुँदैन,’
नेपाली कांग्रेसले आम जनतामा आशा सञ्चार गर्न नसके पार्टीको भविष्य संकटमा पर्ने
चेतावनी दिँदै उनले भने, ‘अहिलेको परिस्थिति र जनताको निराशालाई चिर्न कांग्रेस एकताबद्ध हुनुको विकल्प छैन । सबैले सम्मानित महसुस गर्ने गरी पार्टीलाई पूर्णता दिने जिम्मेवारी अब हाम्रो काँधमा छ ।’
प्रतिक्रिया 4