+
+
Shares

लाम्पाटामा स्थापना भयो सुरक्षा बेस (तस्वीरहरू)

बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ जेठ ३१ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुरा र हुम्लाबीचको विवाद समाधान गर्न बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ ।
  • गत जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पुगेका धनगढीका नगरप्रमुख गोपाल हमालसहितको टोलीमाथि हुम्लाका बासिन्दाले कुटपिट तथा दुर्व्यवहार गरेका थिए ।
  • लाम्पाटामा स्थानीयलाई कुटपिट गरी बन्धक बनाएको घटनामा संलग्न भएको आरोपमा हुम्लाका २३ जनाका नाममा पक्राउ पूर्जी जारी भएको छ ।

१ जेठ, बाजुरा । बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ । बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेश स्थापना गरिएको हो ।

लाम्पाटा क्षेत्र बाजुरा सदरमुकाम मार्तडीबाट कम्तीमा तिन दिनको दूरीमा रहेको छ । यसअघि जेठ २७ गते सदरमुकाम मार्तडीबाट हिडेको सुरक्षाकर्मीहरुको टोली तीन दिन लगाएर शनिबार त्यहाँ पुगिसकेको छ ।

लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न सुरु गरेपछि विवाद सुरु भएको थियो । पछिल्लो समय विवाद झन् सतहमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो ।

केही दिनअघि हुम्लाका बासिन्दाहरुले बाजुराका भोटे समुदायमाथि कुटपिट तथा दुर्व्यवहारसँगै गोठमा आगजनी गरेको घटना समेत बाहिरिएको थियो । त्यसपछि केन्द्रीय सुरक्षा समितिको बैठकले नै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थितिमार्फत विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ ।
त्यस्तै लाम्पाटामा स्थापना गरिएको संयुक्त अस्थायी सुरक्षा बेसमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २१ जना र नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिठ्ठु बहादुर बोहराको कमाण्डमा ७ जना गरी २८ जनाको टोली बसेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । तीन महिनासम्म सुरक्षा बेस स्थापना गरेर लाम्पाटासहित रानीसैन क्षेत्रमा सुरक्षामा उक्त टोलीले नियमित गस्ती गर्ने उनले बताए ।

यस्तै अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने बताइएको छ । यस्तै लाम्पाटामा स्थापना भएको अस्थायी सुरक्षा बेसमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक पौडेलले अहिले त्यस क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको बताए ।

यसअघिको घटनामा पीडित भएका तथा त्रसित बनेर लाम्पाटाबाट अन्यन्त्र गएका स्थानीयहरू पनि फर्कन थालेका छन् । यस्तै लाम्पाटामा रहेको बालविकास केन्द्र पनि अबको केही दिनमा सञ्चालन हुने भएको छ ।

हिमाली गाउँपालिका ३ लाम्पाटामा जेठ ३ र ५ गते स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिहरू र हुम्लाका स्थानीयबीच झडप भएको थियो ।

यस्तै यही जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल, कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोलीमाथि समेत आक्रमण भएको थियो ।

हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए ।

जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङलगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएको आरोप छ । पीडितहरुले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर दबाबमूलक आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । लाम्पाटा घटनामा हुम्लाका २३ जनाका नाममा पक्राउ पूर्जी समेत जारी भएको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?