+
फिफा विश्वकप :

म्याराडोना : जसले विश्वकपलाई आफ्नै कथामा बदलिदिए

२०८३ असार  २ गते २२:३५ २०८३ असार २ गते २२:३५

विश्वभरका समाचारपत्र, रेडियो र टेलिभिजनमा अब एउटै नाम गुञ्जिन थालेको थियो, म्याराडोना ।

२२ जुन १९८६ । मेक्सिको सिटीको आकाशमा टन्टलापूर घाम चर्किएको थियो ।

तर त्यो गर्मीले एज्टेका रंगशालाको उत्साहलाई रोक्न सकेको थिएन । समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा रहेको विशाल रंगशालामा एक लाखभन्दा बढी दर्शकहरू खचाखच भरिएका थिए ।

दर्शकदीर्घाको प्रत्येक सिट भरिएको थियो, प्रत्येक अनुहारमा प्रतीक्षा थियो, र प्रत्येक आँखा हरियो मैदानमा केन्द्रित थियो ।

त्यो विश्वकपको क्वार्टरफाइनल थियो । आमनेसामने थिए अर्जेन्टिना र इंग्ल्यान्ड ।

चार वर्षअघि मात्रै भएको फकल्याण्ड युद्धको घाउ अझै दुवै देशका मनमा ताजा थियो । त्यसैले, यो खेल केवल ९० मिनेटको फुटबल प्रतिस्पर्धा थिएन ।

यसमा राष्ट्रिय गौरव, इतिहास, पीडा र भावनाको भार मिसिएको थियो । मैदानमा २२ खेलाडी दौडिरहेका थिए, तर उनीहरूसँगै लाखौं मानिसका भावना पनि दौडिरहेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तनाव बढ्दै गइरहेको थियो । दर्शकहरू सास रोकेर अर्को क्षणको प्रतीक्षा गरिरहेका थिए ।

तर त्यस दिनको कथा केवल दुई राष्ट्रको प्रतिस्पर्धाको थिएन । त्यो दिन एउटा खेलाडी विश्व फुटबलको इतिहासमा अमिट छाप छोड्न तयार हुँदै थियो ।

उनको नाम थियो, डिएगो आर्मान्डो म्याराडोना ।

दोस्रो हाफ सुरु भएको केही मिनेट मात्र भएको थियो । स्कोर बराबरीमा थियो । मैदानमा दबाब बढिरहेको थियो । एउटा सानो गल्तीले खेलको दिशा बदल्न सक्थ्यो ।

त्यही बेला इंग्ल्यान्डका स्टिभ हजले क्लियर गर्न खोजेको बल अनियन्त्रित हुँदै आकाशतिर उचालियो । बल बिस्तारै पेनाल्टी क्षेत्रतर्फ झर्दै थियो । इंग्ल्यान्डका गोलकिपर पिटर शिल्टन अगाडि बढे । म्याराडोना पनि तीव्र गतिमा बलतर्फ दौडिए ।

शिल्टन म्याराडोनाभन्दा झन्डै २० सेन्टिमिटर अग्ला थिए । सामान्य अवस्थामा त्यो बल गोलकिपरकै नियन्त्रणमा पुग्ने अपेक्षा गरिएको थियो । तर त्यसपछि जे भयो, त्यसले विश्व फुटबलको इतिहासलाई सदाका लागि दुई भागमा विभाजन गरिदियो ।

एक क्षणपछि बल जालीभित्र थियो ।

इंग्ल्यान्डका खेलाडीहरू विरोध गर्न रेफ्रीतिर दौडिए । उनीहरूको दाबी थियो, गोल हातले गरिएको थियो ।  रेफ्रीले गोल स्वीकृत गरिसकेका थिए ।

पछि म्याराडोनाले त्यसलाई ‘अलिकति म्याराडोनाको टाउको र अलिकति भगवानको हात’ भनेर व्याख्या गरे । त्यही क्षण इतिहासमा ‘ह्यान्ड अफ गड’ का नामले अमर बन्यो ।

वास्तविक चमत्कार अझै बाँकी थियो । चार मिनेटपछि म्याराडोनाले आफ्नै भागनजिक बल पाए ।

उनको अगाडि इंग्ल्यान्डका खेलाडीहरू थिए । पछाडि एक लाखभन्दा बढी दर्शकको गर्जन । म्याराडोनाले बललाई खुट्टामा टाँसेझैँ अगाडि बढाए । पहिलो खेलाडीलाई छले ।

त्यसपछि दोस्रो । तेस्रो । चौथो । पाँचौँ । यो बेलासम्म मैदानको आधाभन्दा बढी दूरी पार भइसकेको थियो । बल अझै उनकै नियन्त्रणमा थियो । पेनाल्टी क्षेत्र नजिक पुगे ।

गोलकिपर शिल्टन अगाडि बढे । म्याराडोनाले उनलाई पनि छलेर बललाई जालीभित्र पठाइदिए ।

एज्टेका रंगशाला विस्फोट भएजस्तै भयो । अर्जेन्टिनी समर्थकहरूले आँसु झार्दै चिच्याए, ‘म्याराडोना ! म्याराडोना !’, कोही खुसीले उफ्रिए ।

इङ्ल्यान्डका खेलाडीहरू स्तब्ध थिए । रेडियो कमेन्टेटर भिक्टर ह्युगो मोरालेस उत्साहित हुँदै कराए, ‘कुन ग्रहबाट आएका हुन्, यी खेलाडी ?’

खेल २–१ ले अर्जेन्टिनाले जित्यो ।

दुवै गोल म्याराडोनाले गरे । एउटा विवादित, अर्को अविश्वसनीय ।

तर त्यो खेलको प्रभाव स्कोरलाइनभन्दा धेरै ठूलो थियो । .त्यो दिन म्याराडोनाले मात्र एउटा क्वार्टरफाइनल जिताएनन् । उनले राष्ट्रलाई जिताए ।

त्यसभन्दा ठूलो कुरा, त्यसले डिएगो आर्मान्डो म्याराडोनालाई एउटा महान खेलाडीबाट अमर किंवदन्तीमा रूपान्तरण गरिदियो ।

विश्वभरका समाचारपत्र, रेडियो र टेलिभिजनमा अब एउटै नाम गुञ्जिन थालेको थियो, म्याराडोना ।

‘गोल अफ द सेन्चुरी’

गति, सन्तुलन, साहस र कल्पनाशीलताको अद्भुत मिश्रण बनेको त्यो गोललाई धेरैले फुटबल कलाको उत्कृष्ट नमुना माने । धेरै विश्लेषक र फुटबलकर्मीले इतिहासकै उत्कृष्ट गोलमध्ये एकको रूपमा व्याख्या गरे ।

सन् २००२ मा फिफाले समेत त्यस गोललाई ‘गोल अफ द सेन्चुरी’ को मान्यता दियो । तर त्यो सम्मान केवल शानदार गोलका कारण प्राप्त भएको थिएन ।

त्यो गोल विश्वकपको नकआउट चरणमा, ठूलो दबाबबीच, बलियो प्रतिद्वन्द्वीविरुद्ध गरिएको थियो । जहाँ गल्ती गर्ने कुनै ठाउँ थिएन । म्याराडोनाले त्यही क्षण आफ्नो जीवनकै उत्कृष्ट प्रदर्शन दिए ।

त्यसैले, आज पनि ‘गोल अफ द सेन्चुरी’ भनिँदा धेरै समर्थकको आँखाअघि एउटै दृश्य आउँछ, निलो–सेतो जर्सीमा बल बोकेर दौडिरहेका म्याराडोना, एकपछि अर्को इंग्लिस खेलाडीलाई पछाडि पार्दै गोलतर्फ बढिरहेका म्याराडोना ।

खेलको भोलिपल्ट प्रकाशित धेरै अन्तर्राष्ट्रिय समाचारमा उनी नै मुख्य पात्र बने । केहीले उनलाई एक्लैले खेलको दिशा बदल्ने खेलाडी भने । केहीले उनको पहिलो गोलको विवाद र दोस्रो गोलको प्रतिभाबीच तुलना गरे ।

त्योभन्दा पर विश्व फुटबल अचानक एउटै प्रश्न सोध्न थालेको थियो, ‘विश्वकपको सबैभन्दा ठूलो मञ्चमा एक्लैले खेलको कथा बदल्ने यो मानिस कहाँबाट आएका थिए ? आखिर यस्तो खेलाडी को थिए ?

एज्टेकामा इतिहास रचेको त्यो ९० मिनेटले केवल उनको प्रतिभालाई संसारसामु उजागर गरेको थिएन, त्यसले उनको जीवनकथालाई पनि विश्वव्यापी जिज्ञासाको विषय बनाइदिएको थियो ।

भिल्ला फियोरितोको गल्लीबाट सुरु भएको सपना

एज्टेकामा इतिहास रचिरहेको म्याराडोनाको कथा वास्तवमा मेक्सिकोमा सुरु भएको थिएन । त्यो कथा सुरु भएको थियो अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको बाहिरी क्षेत्रमा रहेको गरिब बस्ती भिल्ला फियोरितोबाट ।

फिफाले म्याराडोनाबारे प्रकाशित एक सामग्रीमा भिल्ला फियोरितोलाई ‘खाल्डाखुल्डी, असमतल मैदान र पुराना फुटबलहरूले भरिएको भूमि’ भनेर वर्णन गरेको छ । त्यही वातावरणमा म्याराडोनाले लगभग स्वाभाविक रूपमा फुटबल खेल्न सिकेका थिए ।

३० अक्टोबर १९६० मा जन्मिएका म्याराडोना अभावबीच हुर्किए । पछि उनको बाल्यकालबारे लेखिएको एक सामग्रीमा स्पेनी पत्रिका इआइइन डिपेन्डिएन्टले भिल्ला फियोरितोमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने वातावरणबीच उनको बाल्यकाल बितेको उल्लेख गरेको छ ।

त्यही बस्तीमा बस्ने म्याराडोनाको संसार फुटबल वरिपरि घुम्थ्यो । घरको आर्थिक अवस्था कमजोर थियो । तर फुटबलप्रतिको मोह भने असाधारण थियो ।

साथीहरू खेल सकिएपछि घर फर्किन्थे, म्याराडोना भने बलसँगै मैदानमै बसिरहन्थे । बस्तीका धुलाम्मे गल्ली र असमतल मैदान नै उनका पहिलो प्रशिक्षण केन्द्र बने ।

पछि फिफाले उनको खेलशैलीबारे प्रशंसा गर्दै भनेको छ, भिल्ला फियोरितोका ती असमतल मैदानहरूले नै उनलाई बलमाथि असाधारण नियन्त्रण र ड्रिब्लिङ क्षमता विकास गर्न मद्दत गरेका थिए ।

त्यतिबेला कसैले कल्पना गरेको थिएन, यही केटो एक दिन विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उभिएर आफ्नै देशलाई विश्वकप दिलाउनेछ । तर म्याराडोनाको प्रतिभा अब भिल्ला फियोरितोको सीमाभित्र अट्ने अवस्थामा थिएन ।

चाँडै नै उनको जादुई बायाँ खुट्टाले अर्जेन्टिनाको युवा फुटबललाई नै चकित पार्न थालेको थियो ।

आठ वर्षको केटो जसलाई देखेर प्रशिक्षक नै अचम्मित भए

भिल्ला फियोरितोका धुलाम्मे गल्लीहरूमा म्याराडोनाको प्रतिभा धेरै समय लुकेर बस्न सकेन । सन् १९६९ तिर उनको जीवन बदल्ने एउटा भेट भयो । त्यो भेट थियो, युवा प्रशिक्षक फ्रान्सिस्को कोर्नेहोसँग ।

पछि अर्जेन्टिनी समाचार वेबसाइट इन्फोबेमा प्रकाशित संस्मरणमा कोर्नेहोले पहिलो पटक म्याराडोनालाई देखेको क्षण सम्झिएका छन् । उनका अनुसार सानो कदका ती बालकले बललाई यति सहज रूपमा नियन्त्रण गरिरहेका थिए कि उनको वास्तविक उमेर पत्याउनै गाह्रो भएको थियो ।

कोर्नेहोका अनुसार म्याराडोनाले आफू आठ वर्षको भएको बताएपछि उनले ठट्टा गर्दै भनेका थिए, ‘यदि यो केटो साँच्चै आठ वर्षको हो भने म कार्लोस गार्डेल हुँ ।’

तर केही मिनेटमै उनले त्यो ठट्टा बिर्सिए । किनभने उनको अगाडि असाधारण प्रतिभा उभिएको थियो । कोर्नेहोले म्याराडोनालाई तत्कालै लोस सेबोलितास टोलीमा ल्याए, जुन अर्जेन्टिनोस जुनियर्सको युवा टोली थियो ।

त्यहाँ पुगेपछि म्याराडोनाले केवल राम्रो खेलेनन्, उनी टोलीको आकर्षण बने ।

१५ वर्षको उमेरमा शीर्ष डिभिजनमा अवसर 

भिल्ला फियोरितोका धुलाम्मे गल्लीबाट सुरु भएको सपना अब अर्जेन्टिनाको ठूलो मञ्चतर्फ अघि बढिरहेको थियो ।

२० अक्टोबर १९७६ मा, आफ्नो १६औँ जन्मदिन आउन १० दिन बाँकी रहँदा, म्याराडोनाले अर्जेन्टिनोस जुनियर्सबाट अर्जेन्टिनाको शीर्ष डिभिजनमा डेब्यु गरे । पछि म्याराडोनाले सम्झिए अनुसार प्रशिक्षकले मैदान छिर्नुअघि उनलाई भनेका थिए, ‘जाऊ, रमाइलो गर, र कसैसँग नडराऊ ।’

मैदानमा छिरेपछि उनले त्यही गरे । डेब्यु खेलमै उनले विपक्षी खेलाडीको खुट्टामाथिबाट बल उछालेर छलेका थिए । त्यो क्षणले दर्शकलाई चकित बनायो । अर्जेन्टिनाको फुटबलले नयाँ प्रतिभा भेट्टाएको संकेत त्यही दिन मिलिसकेको थियो ।

डेब्यु खेलमै उनले विपक्षी खेलाडीमाथिबाट बल उछालेर छलेका थिए । त्यो क्षणले अर्जेन्टिनी फुटबलले एउटा असाधारण प्रतिभा भेट्टाएको संकेत दिएको थियो ।

किशोर उमेरमै म्याराडोनाको नाम अर्जेन्टिनाभर फैलिन थालेको थियो । उनका ड्रिब्लिङ, बलमाथिको नियन्त्रण र खेल पढ्ने क्षमता उमेरभन्दा धेरै परिपक्व देखिन्थ्यो । प्रतिभा जति चम्किँदै गइरहेको थियो, सपना पनि त्यति नै ठूलो हुँदै गइरहेको थियो, उनको ।

उनले एकपटक टेलिभिजन अन्तर्वार्तामा आफ्नो सबैभन्दा ठूलो इच्छा सुनाएका थिए, ‘म विश्वकप खेल्न चाहन्छु, अनि अर्जेन्टिनाका लागि विश्वकप जित्न चाहन्छु ।’

लोस सेबोलितासमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि म्याराडोनाको नाम युवा फुटबलको सीमाभन्दा बाहिर फैलिन थाल्यो । प्रशिक्षकहरू, पत्रकारहरू र समर्थकहरू एउटै प्रश्न सोध्न थालेका थिए, यो केटो वास्तवमै कति टाढासम्म जान सक्छ ?

उत्तर धेरै कुर्नुपरेन ।

केही वर्षमा उनी देशकै सबैभन्दा चर्चित युवा खेलाडी बने । गोलहरू बढ्दै गए । समर्थकहरूको संख्या बढ्दै गयो र राष्ट्रिय टोलीको ढोका पनि खुल्यो । सँगसँगै बढ्दै गयो एउटा सपना, विश्वकप ।

सन् १९७८ । विश्वकप अर्जेन्टिनामै हुँदै थियो । देश उत्साहले भरिएको थियो । १७ वर्षीय उनलाई धेरै समर्थकहरू विश्वकप टोलीमा हेर्न चाहन्थे । तर अन्तिम टोली घोषणा हुँदा उनको नाम थिएन ।

म्याराडोना विश्वकप खेल्ने सपनाबाट टाढा परे । तर त्यो असफलताले उनलाई रोक्न सकेन । उनी लागिपरिरहे, विश्वकपको स्वाद चाख्ने सपनाको बाटो खोज्दै । सन् १९७९ मा जापानमा भएको फिफा यू–२० विश्वकपमा उनले अर्जेन्टिनाको कप्तानी गर्दै टोलीलाई उपाधि दिलाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएपछि संसारले पहिलोपटक म्याराडोनालाई भविष्यका विश्व सुपरस्टारका रूपमा हेर्न थाल्यो ।

विश्वभर चर्चा बढ्दै जाँदा युरोपका ठूला क्लबहरूको नजर पनि म्याराडोनामाथि पर्‍यो । स्पेन पुगेको केही समयमै उनी हेपाटाइटिसबाट ग्रस्त भए । त्यसपछि गम्भीर चोट लाग्यो ।

एक खेलमा विपक्षी खेलाडीको खतरनाक ट्याकलले उनको खुट्टा नै भाँचिदिएको थियो । मैदानबाहिर स्वास्थ्य समस्या । मैदानभित्र अपेक्षाको दबाब । म्याराडोनाले लगातार संघर्ष गर्नुपर्‍यो ।

१९८२ को विश्वकपमा पाइला

त्यही बीच सन् १९८२ को विश्वकप पनि आयो । पहिलोपटक सिनियर विश्वकप खेल्ने सपना पूरा भयो । तर प्रतियोगिता उनको अपेक्षाअनुसार रहेन । अर्जेन्टिना उपाधि रक्षा गर्न असफल भयो ।

म्याराडोना स्वयं पनि प्रतियोगिताको अन्तिम खेलमा रातो कार्ड खाएर बाहिरिए ।

उनका आलोचकहरू बढे । कतिपयले भने, ‘उनी प्रतिभाशाली त छन्, तर विश्वकप जिताउन सक्ने खेलाडी होइनन् ।’

म्याराडोनाले ती सबै कुरा सुने । र मनभित्र राखे ।  किनभने चार वर्षपछि उनीसँग सम्पूर्ण संसारलाई जवाफ दिने अवसर आउँदै थियो ।

त्यो अवसर थियो, मेक्सिको १९८६ ।

त्यही विश्वकप, जहाँ एज्टेकाको घाममुनि एउटा खेलाडीले इतिहासलाई आफ्नै खुट्टाले लेख्ने थियो । जब कप्तानले देशलाई काँधमा बोके । सन् १९८६ मा म्याराडोना केवल अर्जेन्टिनाको स्टार खेलाडी थिएनन् ।

उनी कप्तान थिए । उनी आशा थिए । उनी जिम्मेवारी थिए ।

मेक्सिको पुगेको अर्जेन्टिनी टोलीमा राम्रा खेलाडीहरू थिए, तर प्रतियोगिता अघि धेरै विश्लेषकहरूले अर्जेन्टिनालाई उपाधिको मुख्य दाबेदार मानेका थिएनन् ।

तर म्याराडोनाले प्रतियोगिता सुरु भएदेखि नै आफू फरक स्तरमा रहेको देखाउन थाले । समूह चरणमा उनले टोलीलाई अघि बढाए ।

इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल हुँदैै सेमिफाइनलमा बेल्जियमविरुद्ध दुई शानदार गोल, फाइनलमा प्रतिद्वन्द्वी पश्चिम जर्मनीलाई हराइसके पछि उनी आफ्ना सहकर्मीहरूसँग खुसीले मैदानमा ढले ।

फाइनलमा म्याराडोनाले गोल गरेनन्, तर उनले खेलभर प्रभावशाली भूमिका निभाए । बाल्यकाल देखिको सपनाले सार्थकता पाएको थियो ।

सन् १९८४ मा उनले बार्सिलोनाबाट इटालियन क्लब नापोलीमा ऐतिहासिक ट्रान्सफर गर्दै नयाँ अध्याय सुरु गरे । नापोलीमा उनको प्रभाव झन् बढ्यो । उनले क्लबलाई पहिलोपटक इटालियन लिग जिताए ।

त्यसपछि अर्को लिग उपाधि र युइएफए कप पनि दिलाए । नेपल्सका धेरै समर्थकका लागि म्याराडोना खेलाडीभन्दा बढी, शहरकै गौरव बने तर जति ठूलो सफलता बढ्यो, त्यति नै व्यक्तिगत संघर्ष पनि गहिरिँदै गयो ।

कोकिनको लतमा रुम्लिदैँ बिते दिन

सबै महान कथामा उज्यालोसँगै अँध्यारो पनि हुन्छ । म्याराडोनाको जीवनमा पनि त्यस्तै भयो । कहिल्यै नरोकिनेजस्तो देखिएको यात्रामा अब दरार देखिन थालेको थियो ।

लोकप्रियता बढ्दै जाँदा दबाब पनि बढ्यो । लोकप्रियता, दबाब र निरन्तर सार्वजनिक निगरानीबीच उनी कोकिनको लतमा फसे ।

सन् १९९१ मा डोपिङ परीक्षणमा असफल भएपछि उनी १५ महिनाका लागि प्रतिबन्धित भए । यो घटनाले उनको करियरमा ठूलो धक्का पुर्‍यायो ।

सन् १९९४ को विश्वकपमा पुनरागमन गरे पनि प्रतियोगिताकै क्रममा फेरि डोपिङ परीक्षणमा असफल भएपछि उनी विश्वकपबाट बाहिरिए ।

फुटबल छोडे, तर कथाबाट कहिल्यै बाहिरिएनन्‌

खेल जीवन समाप्त भएपछि पनि म्याराडोना चर्चाको केन्द्रमै रहे । कहिले प्रशिक्षकका रूपमा, कहिले टेलिभिजन व्यक्तित्वका रूपमा । उनी जहाँ गए पनि समाचार बने । किनभने म्याराडोना केवल पूर्व खेलाडी थिएनन् ।

उनी एउटा सांस्कृतिक घटना बनिसकेका थिए । अर्जेन्टिनामा धेरै समर्थकहरूले उनलाई राष्ट्रिय नायककै रूपमा हेर्थे । कतिपयका लागि उनी फुटबलरभन्दा ठूलो प्रतीक थिए ।

अर्जेन्टिना रोएको त्यो दिन

२५ नोभेम्बर २०२० ।

समाचार आयो, ‘डिएगो आर्मान्डो म्याराडोना अब रहेनन् ।’

६० वर्षको उमेरमा हृदयघात उनको निधन भयो । केही घण्टामै अर्जेन्टिना शोकमा डुब्यो ।

देशभर मानिसहरू सडकमा निस्किए । राष्ट्रपति भवनबाहिर हजारौँ मानिस जम्मा भए । समर्थकहरूले फूल चढाए । झण्डा फहराए । गीत गाए । र, आँसु बगाए ।

त्यो दिन केवल अर्जेन्टिनाले होइन, फुटबल संसारले आफ्नो एउटा युग गुमाएको महसुस गर्‍यो । तर म्याराडोना अझै हराएका छैनन् । आज म्याराडोना जीवित छैनन् । तर उनको कथा अझै बाँचेको छ ।

सन् २०२२ मा अर्जेन्टिनाले फेरि विश्वकप जित्दा धेरै समर्थकहरूले त्यो सफलतालाई म्याराडोनाको सम्झनासँग जोडे । कप्तानले लियोनेल  मेस्सीले उपाधि उचाल्दा धेरैलाई १९८६ को अर्को दृश्य सम्झना आयो ।

अब अर्को विश्वकपको अर्को अध्याय

फरक युग । फरक कप्तान । तर एउटै सपना । एउटै देश । एउटै भावनात्मक सम्बन्ध । अर्जेन्टिनाको राष्ट्रिय टोली मैदानमा उत्रिँदा उनको नाम अझै सुनिन्छ । स्टेडियमका पोस्टरमा उनको अनुहार अझै देखिन्छ ।

समर्थकका गीतमा उनको सम्झना अझै बाँच्छ । मेस्सीको पुस्ता पनि आफ्नो यात्राको अन्तिम मोडतिर बढिरहेको छ ।

तर अर्जेन्टिनाको विश्वकप यात्रा भने रोकिएको छैन । सन् २०२६ को विश्वकपमा पनि अर्जेन्टिना उपाधिको दाबेदार टोलीका रूपमा मैदानमा उत्रिएको छ ।

उत्तर अमेरिकामा भइरहेको प्रतियोगितामा अर्जेन्टिनाले फेरि एकपटक विश्व फुटबलको शिखर चुम्ने लक्ष्य राखेको छ ।

जुन १७, २०२६ मा अर्जेन्टिनाले समूह चरणको अर्को महत्वपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ । विश्वकपको हरेक खेलसँगै अर्जेन्टिनी समर्थकहरूमा एउटा पुरानो भावना फेरि जाग्छ, १९८६ को एज्टेका, २०२२ को लुसेल र नयाँ पुस्ताले लेख्न

खोजिरहेको अर्को इतिहास ।

आज अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिने अधिकांश खेलाडीहरू म्याराडोना खेलिरहेको समय जन्मिएकासमेत थिएनन् । तर उनीहरू हुर्किँदा हेरेका कथा भने म्याराडोनाकै थिए ।

उनीहरूले सुनेका गोलहरू म्याराडोनाकै थिए । उनीहरूले सम्झेका विश्वकप क्षणहरू म्याराडोनाकै थिए । आज पनि जब अर्जेन्टिना विश्वकप खेल्न मैदानमा उत्रिन्छ, कतै न कतै त्यो कथा फेरि सुनिन थाल्छ ।

किनकि,  केही खेलाडीले ट्रफी जित्छन् । केही खेलाडीले कीर्तिमान बनाउँछन् । तर दुर्लभ खेलाडीहरू यस्ता हुन्छन्, जसले पुस्तौँसम्म एउटा देशको सपना बोकिरहन्छन् । डिएगो आर्मान्डो म्याराडोना त्यस्तै खेलाडी थिए ।

सायद त्यसैले, १९८६ को त्यो गर्मी अझै सकिएको छैन ।

म्याराडोना
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय