३ असार, बुटवल । मंगलबार बिहानै बुटवलको ट्राफिकचोकबाट बुटवल उपमहानगरले नगर सफाइ कार्यक्रम आयोजना गरेको थियो । नगर सफाइका लागि नगर प्रमुख खेलराज पाण्डेय, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षा निकाय, नगर प्रहरी, विद्यार्थी र कर्मचारीहरु आएका थिए ।
सफाइ कार्यक्रम शुरु भएको केहीबेरमै ट्राफिकचोकबाट केही दक्षिणतर्फ सिद्धार्थ राजमार्ग छेउमै रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको घर अगाडि आइपुग्दा माहोल फेरियो ।
बिहान साढे ७ बजेतिर सफाइ गर्न आएको मेयर पाण्डेय सहितको टोली र मन्त्री कार्कीको घरमा होटेल र घरकै पेटीमा उखु पेल्ने काम गर्दै आएका गोकर्ण रायमाझी बीच विवाद, धकेलाधकेलको स्थिति बन्यो ।
त्यही क्रममा नगर प्रमुख पाण्डेयले घरको पेटी, जुन भाग सडक क्षेत्रमा पर्दैन, त्यहाँ राखिएको उखु पेल्ने मेसिन उठाएर लैजान ठाडो निर्देशन दिएपछि विवाद बढेर धकेलाधकेल भयो ।
नगर प्रहरीले व्यवसायी रायमाझीलाई धकेल्दै मेसिन उठाएर उपमहानगरको गाडीमा हाले । त्यसमा बुटवल उपमहानगरबाट फोहोर व्यवस्थापनको ठेक्का पाएको सुन्दर नेपाल प्रालिका प्रतिनिधि बलभद्र पुरीले पनि रायमाझीमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।
उपमहानगरको टोलीले उखु पेल्ने ठाउँ अगाडि उखु पेल्दा निस्कने छोक्रा सडकको सर्भिस लेन भन्दा बाहिर फ्याँकेर फोहोर गरेको आरोप लगाउँदै पुरीले रायमाझी आफैंले उक्त फोहोर टिपेर हटाउनुपर्ने दबाब दिएका थिए ।
पसल धनी रायमाझीले भने त्यहाँ रहेको फोहोर आफूले नदेखेको, आफ्नै पसलबाट फ्याँकिएको भन्ने यकिन पनि नभएको तर्क गर्दै कर्मचारीलाई फोहोर हटाउन लगाउने भनेका थिए ।
‘मेरो सार्वजनिक बेइज्जत गरियो’
त्यत्तिकैमा नगर प्रमुख पाण्डेयले ‘आफैंले फोहोर गर्ने अझ ठूला कुरा गर्ने ?’ भन्दै उखु पेल्ने मेसिन उठाएर लैजान निर्देशन दिएपछि आफूलाई पीडा भएर आक्रोशमा आएको रायमाझीले बताए ।
‘मेयरले नै ठाडो निर्देशन दिएर मेसिन उठाएर लैजा भनेपछि म पनि आक्रोशमा आउनु स्वाभाविक थियो, तैपनि मैले गर्न नहुने, बोल्न नहुने केही गरेको थिइनँ,’ रायमाझीले अनलाइनखबरसँग भने, ‘सडकमा फोहोर कसले फाल्यो त्यो मलाई थाहा भएन, उनीहरुले एकोहोरो आरोप लगाए ।’
‘त्यहाँ हेर्दा देखिने गरी फोहोर पनि थिएन, कर्मचारीले फालेका हुन पनि सक्छन् भनेर मैले केटाहरुलाई फोहोर उठाउन बोलाएको थिएँ, दुई जना बोरा लिएर बाहिर आउँदै पनि थिए तर ममाथि नगर प्रहरी र फोहोरको ठेकेदारबाट हातपात भयो,’ रायमाझीले भने, ‘सबैका अगाडि मेरो सार्वजनिक बेइज्जत गरियो ।’
रायमाझीले विद्यार्थी र अरु मान्छे ल्याएर सरसफाइ गर्ने आफूले फोटो भिडियो खिचाएर मिडियाबाट प्रचार गराउने काम भएको भनेपछि नगरप्रमुख, नगर प्रहरी र ठेकेदार आफूविरुद्ध उत्रिएको रायमाझीले गुनासो गरे ।
सडक क्षेत्रभन्दा बाहिर घरको पेटीमा राखिएको मेसिन उठाएर लैजानु र व्यवसायीमाथि नगर प्रमुखकै निर्देशनमा हातपातमा उत्रिनुले आफूले असुरक्षित महसुस गरेको र मिडियामार्फत भिडियोसहित प्रचार हुँदा सार्वजनिक बेइज्जत र मानहानी भएको उनले गुनासो गरे ।
‘२०७९ को चुनावमा खेलराज पाण्डेयलाई जिताउन सबै खालको सहयोग गरेको थिएँ, हामी एउटै पार्टीका मान्छे हौं तर अहिले आएर उहाँको व्यवहार र शैलीबाट निकै ठूलो पीडा भएको छ,’ रायमाझीले भने, ‘मैले कुनै गल्ती गरेको थिइनँ, सडक क्षेत्रमा व्यवसाय गरेको पनि छैन, उखु पेल्दा निस्कने फोहोर कार्टुनमा जम्मा गरेर फोहोर बोक्न आउने गाडीलाई दिन्थ्यौं, आज त गाडी पनि आएको थिएन अनि सडकमा देखिएको फाहोरको जिम्मा मैले लिन मिल्छ त ? यो कस्तो नियम कानून हो ?’
आफूले उपमेयरसँग सल्लाह गरेर पुरानो ठूलो मेसिनले फोहोर हुन सक्छ भनेर त्यसलाई हटाएर ६० हजारमा सानो आधुनिक मेसिन राखेको बताए । उखु पेल्ने मेसिन राखे वापत मासिक ५ सय रुपैयाँ र होटेल सञ्चालन वापत मासिक एक हजार ५० रुपैयाँ फोहोरमैला शुल्क तिर्दै आएको रायमाझीले बताए ।
आफूमाथि हातपात र मेसिन उठाएर लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली कांग्रेसका विभिन्न व्यक्तिबाट मेसिन फिर्ता दिइहाल्छ मिलेर जानुपर्छ भन्दै आफूलाई फकाउने प्रयास भएको तर आफूले नमानेको रायमाझीले बताए ।
‘मलाई मिडियामार्फत बेइज्जत हुने गरी जसरी गलत प्रचार गराइयो, अब मेयर, नगर प्रहरी र ठेकेदारले मेरै पसल अगाडि मिडिया राखेर हामीबाट गल्ती भयो भन्नुपर्छ अन्यथा कानूनी उपचार खोज्नुको विकल्प छैन,’ रायमाझीले भने ।
व्यवसायीको तर्फबाट सानोतिनो कमजोरी भएकै रहेछ भने पनि अब फोहोर नगर्नु भनेर जरिवाना लिएको भए वा एक–दुई दिनको अल्टिमेटम दिन पनि सकिन्थ्यो तर मेयर, नगर प्रहरी र फोहोरका ठेकेदारले कानून हातमा लिएर गैरकानूनी हर्कत गरेको अर्का व्यवसायी मनोज रायमाझीले बताए ।
उपमहानगरको तर्फबाट भएको ज्यादतीले मनोबल गिरेको र व्यवसाय गर्ने कि छाड्ने भन्ने अन्योल भएको उनले बताए । ‘सम्झाएर, बुझाएर समाधान हुने कुरामा ठाडो निर्देशन दिने परिपाटीले व्यवसायिक वातावरण बिग्रिँदै गएको छ, यसतर्फ निजी क्षेत्रका संस्थाहरु बोल्नुपर्छ,’ मनोजले भने ।
घरधनी मन्त्रीका भाइ भन्छन्– मेसिन राखिएको ठाउँ सडकक्षेत्रभित्र पर्दैन
घरधनी मन्त्री धनेन्द्र कार्कीका भाइ दिलिप कार्कीले बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले व्यक्तिको निजी सम्पत्तिभित्र रहेको सामान उठाएर लैजान दिएको ठाडो निर्देशन गैरकानूनी र निन्दनीय रहेको बताए । उखु पेल्ने मेसिन राखेको ठाउँ नितान्त घरको पेटी भएको र यो सडकको क्षेत्राधिकारभित्र नपर्ने कार्कीको भनाइ छ ।
कसैले गल्ती नै गरेको भएपनि कानूनी राज्यमा विधि र प्रक्रियासम्मत कारवाही गर्नुपर्नेमा अर्काको सामान उठाएर लैजाने र व्यवसायीमाथि नगर प्रहरी लगाएर हातपात गर्नु निन्दनीय र आपत्तिजनक रहेको कार्कीले बताए ।
उपमहानगरको कार्यशैली र रवैयाले बुटवलको व्यवसायिक वातावरण दिनप्रतिदिन खस्किंदै गएको र छिमेकी पालिकाहरु तिलोत्तमा, सैनामैनातिर व्यवसायीहरु स्थानान्तरण भइरहेको कार्कीले बताए ।
‘नगर प्रमुख जस्तो व्यक्तिले कानून हातमा लिएर अर्काको पसलको मेसिन उठाएर लैजा भनेर नगर प्रहरीलाई निर्देशन दिन मिल्छ ?’ प्रश्न गर्दै कार्कीले भने, ‘मेयरको ठाडो निर्देशनमा नगर प्रहरी र फोहोर मैलाका ठेकेदारले गैरकानूनी दादागिरी गरेका छन्, यसले विधि र कानूनी शासनको धज्जी उडाएको छ, उनीहरुले माफी नमागे यसविरुद्ध हामी कानूनी उपचार पनि खोज्न सक्छौं ।’
उपमहानगरको आलोचना
यसअघि बुटवल उपमहानगरका जनप्रतिनिधिकै साथमा नगर प्रहरीले बुटवलका फेन्सी पसल, भाँडा पसल, सिरक डसना पसलहरुमा गएर जबरजस्ती सामान कब्जामा लिएको थियो । उक्त घटनाको चौतर्फी आलोचना पछि नगर प्रमुख पाण्डेयले कमजोरी स्वीकार्दै आइन्दा त्यस्तो व्यवहार नगर्ने भाषण गरेका थिए । तर मंगलबार फेरि पुरानै प्रवृत्ति दोहोरिएको भन्दै चर्को आलोचना भइरहेको छ ।
बुटवलमा भाँडा पसल सन्चालन गर्दै आएका विजय कसौधनले बुटवलमा नगर प्रहरीको ज्यादति बढेको गुनासो गरे । ‘जबरजस्ती डाँकाशैलीमा सामान उठाएर लैजाने, यस्तो घटना मैले जिन्दगीमा देखेको थिएनँ,’ उनले भने ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले संघका कार्यसमिति सदस्य समेत रहेका व्यवसायी रायमाझीमाथि बुटवल उपमहानगरका जनप्रतिनिधि, नगर प्रहरीबाट भएको ज्यादती निन्दनीय र आपत्तिजनक रहेको बताए ।
‘स्थानीय सरकार व्यवसायीको अभिभावक हुनुपर्नेमा सस्तो लोकप्रियता र भाइरल हुने होडबाजीमा लागेर व्यवसायीमाथि पटक–पटक ज्यादती हुने गरेको छ,’ उनले भने, ‘यस्ता गैरकानूनी गतिविधि रोकिनुपर्छ ।’
उक्त घटनाकी प्रत्यक्षदर्शी उपमहानगरकी अधिकृत देवका पोखरेलले उखु पेल्ने पसल अगाडि फोहोर देखिएपछि विवाद भएको बताइन् । पसल धनीले नगर प्रमुख र नगर प्रहरीले भनेपछि आफैंले फोहोर उठाएको भए मेसिन उठाएर लैजान नपर्ने उनले जिकिर गरिन् ।
प्रतिक्रिया 4