३ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारीबाट सिधै काठमाडौं जाने सुविधा सम्पन्न डिलक्स ए.सी. बस सेवा सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालित उक्त बस सेवाको शुभारम्भ कम्पनीका गुल्मी प्रमुख महेश काउछाले गरे ।
यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै बसमा डिलक्स ए.सी सेवा, निःशुल्क वाइफाइ, मोबाइल चार्जर लगायतका सुविधा उपलब्ध गराइएको छ । साथै अनुभवी तथा दक्ष चालकमार्फत सुरक्षित, आरामदायी र भरपर्दो यात्रा सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।
मालिका गाउँपालिकाबाट सिधै काठमाडौं जोड्ने यो सेवाले स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा व्यवसायीलाई सहज आवागमनको विकल्प प्रदान गरेको बताएको छ ।
सिमलटारीसम्मको सडक कालोपत्रे भइसकेकाले यात्रा अझ सहज र सुविधाजनक बनेको यात्रुहरूको विश्वास छ । ग्रामीण क्षेत्रलाई राजधानीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले सुरु गरिएको यस सेवाबाट यात्रुको समय बचत हुनुका साथै आवागमन थप व्यवस्थित हुने काउछाले बताए ।
प्रतिक्रिया 4