News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ प्रदान गरे ।
- नवीन चौहान निर्देशित \'ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित भएको छ भने नीर शाहले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् ।
५ असार, काठमाडौं, राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न ८ विधामा पुरस्कार प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।

नवीन चौहान निर्देशित ऊनको स्वीटरले ३ विधामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । यसै फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार भने परान फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि परानले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन् ।
उत्कृष्ठ छायाकनको पुरस्कार कोशेढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि यसै फिल्मबाट नहकुल खड़काले प्राप्त गरेका छन् ।

यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान ले पुरस्कृत गरिएको छ । ३ लाख ७५ हज़ार नगदसहित श्रेष्ठलाई सम्मान गरिएको हो ।
रमिताको पिरतीबाट आना शर्मा र झरी पछिको इन्द्रेणीबाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ ।
यो सम्मान पाउनेमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, प्रदर्शक डाक्टर सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् ।
त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र पत्रकार दिनेश सिटौला( मरणोपरान्त) ले पनि विशेष योगदान सम्मान पाएका छन् ।
लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलधित्र पुरस्कार २०८२ पाएको छ ।
उत्कृष्ठ आदिवासी फिल्मको पुरस्कार भने नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को निर्णायक मण्डलको संयोजकमा वरिष्ठ अभिनेता हरिहर शर्मा रहेका थिए । सदस्यहरूमा निर्देशक मिलन चाम्स, वरिष्ठ फिल्म प्राविधि अरुण थापा, अभिनेत्री सरिता गिरी र संकृतिविद् तथा प्राध्यापक अरुण गुप्तो रहेका थिए ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सर्जकलाई पुरस्कारले जिम्मेवार बनाउने र काम गर्न ऊर्जा थप्ने बताए । चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर मौलिक सँस्कृतिको जगेर्ना गर्ने माध्यम पनि भएको उनले बताए ।

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले कुनै पनि देशको संस्कृति र पहिचान बुझनका लागि त्यहाँको फिल्म हेर्नुपर्ने बताए । फिल्म समाजलाई जोड्ने माध्यम भएको धारणा उनले राखे ।
‘राजनीतिले विभाजन ल्याउँछ तर कलाकारको कलाले समाजलाई जोड्छ’ तिमिल्सिनाले भने । कलाकार मनोरञ्जनकर्मी मात्रै नभएर समाजको साँस्कृतिक दूत तथा सँस्कृतिका सम्वाहक भएको उनले बताए ।

अहिलेसम्म चलचित्रले मुलुकलाई साँस्कृतिक रुपमा मात्र योगदान गरेकोमा अब आर्थिक रुपमा पनि योगदान गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए ।
अहिले संसदमा विचाराधीन रहेको चलचित्र विधयेकमा वैदेशिक लगानीको विषय पनि समेटिने प्रतिवद्धता उनले व्यक्त गरे ।
राष्ट्रिय चलचित्र पुरस्कारमा अर्काे वर्षदेखि उदयीमान कलाकार र साउण्ड डिजाइनर गरी दुई विधा थपिने जानकारी डिसीले दिए ।

प्रतिक्रिया 4