+
+
Shares

महानिर्देशक अर्यालको जवाफ- एउटै प्रिन्टरले पासपोर्ट छापिहाल्छ नि

आवश्यक प्रिन्टरभन्दा थप एउटा जगेडा प्रिन्टर ठेकेदारले उपलब्ध गराउनुपर्नेमा महानिर्देशक अर्यालले एउटा मात्रै प्रिन्टर भएपनि काम चल्छ भनी प्रस्ताव स्वीकारेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले एउटा मेसिन भए पनि पासपोर्ट छपाइको काम चल्ने लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका छन् ।
  • पासपोर्ट ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
  • सर्तअनुसार गत फागुनमै नयाँ कम्पनीहरूले पासपोर्ट छपाइ शुरू गर्नुपर्ने भए पनि अहिलेसम्म आवश्यक पूर्वाधारसमेत तयार गरेका छैनन् ।

७ असार, काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले एउटा मेसिन भए पनि पासपोर्ट छपाइमा काम चल्ने जवाफ दिएका छन् ।

पासपोर्टको ठेक्काबारे सर्वोच्च अदालतमा पुगेको मुद्दाको लिखित जवाफमा उनले समयमा काम हुन नसक्ने भएमा ठेकेदारले क्षतिपूर्ति तिरिहाल्ने भन्दै प्रिन्टरको संख्या महत्वपूर्ण विषय नभएको भनी जवाफ लेखेका हुन् ।

सर्तअनुसार, गत फागुनमा नै नयाँ कम्पनीहरूले पासपोर्ट छपाइ थाल्नुपर्ने थियो । तर उनीहरूले अहिलेसम्म डेटा भण्डारण तथा अभिलेख व्यवस्थापनको पूर्वाधारसमेत तयार गरेका छैनन् ।

ठेकेदारले गरेको ढिलाइबारे जानकार महानिर्देशक अर्यालले २५ वैशाख अर्थात् डेढ महिनाअघि सर्वोच्च अदालतमा लेखेको जवाफमा भने ठेकेदारले सर्तअनुसार नै काम गर्ने भनेका छन् ।

दिनमा कम्तीमा ६ हजारभन्दा बढी पासपोर्ट छाप्नुपर्ने भन्दै टेन्डर सूचनामा आवश्यक संख्याका अतिरिक्त थप एउटा जगेडा प्रिन्टर हुनुपर्ने सर्त राखिएको थियो ।

दुईवटा प्रिन्टर र थप एउटा प्रिन्टर दिने भनेका ठेकेदार कम्पनीहरू म्युलबैर र भेरिडोज कम्पनीले आर्थिक प्रस्तावमा भने एउटा मात्रै प्रिन्टर दिई बाँकी एक जगेडामा राख्ने प्रस्ताव गरेको थियो ।

बोलपत्रको सूचनामा पासपोर्ट छाप्न आवश्यक पर्ने प्रिन्टरका साथै थप एक प्रिन्टर जगेडाको रूपमा रहनु पर्ने सर्त थियो ।

किनभने, विभागले केही गरी प्रिन्टरहरू बिग्रिएमा उच्च गतिमा पासपोर्ट छाप्न र नागरिकलाई पासपोर्ट उपलब्ध गराउने काममा कुनै अप्ठेरो नहोस् भन्ने उद्देश्य थियो ।

त्यसैमाथि उठेको प्रश्नको जवाफमा राहदानी विभागका महानिर्देशक अर्यालले आवश्यक संख्या भनेको एउटा प्रिन्टर हो भन्ने जवाफ दिएका हुन् ।

कुनै मेसिन बिग्रिए पनि अर्को मेसिनले छपाइ गर्न सकोस् र राहदानी सेवा अवरुद्ध नहोस् भनेर एउटा मात्रै प्रिन्टर र अर्को जगेडामा दिने भन्ने प्रस्ताव स्वीकारेको उनको जवाफ छ ।

उनले जवाफमा माग गरेको बेलामा पासपोर्ट दिन नसके ठेकेदार कम्पनीले जरिबाना तिर्ने व्यवस्था रहेको भन्दै त्यसमा चिन्तित हुन नपर्ने जवाफ लेखेका छन् ।

महानिर्देशक अर्यालले जवाफमा भनेका छन्, ‘बोलपत्रमा उल्लिखित प्रावधानअनुसार कार्य सम्पन्न गर्न नसकेमा त्यसको कानुनबमोजिम क्षतिपूर्ति वा हर्जनालगायत छुट्टै उपचारको व्यवस्था रहेको छ ।’

पासपोर्ट छपाइका लागि कम्तीमा दुईवटा उच्च गतिको मेसिन आवश्यक पर्ने र अर्को जगेडामा राख्नुपर्ने हुन्छ । दैनिक ६ हजार पासपोर्ट छाप्न प्रतिघण्टा एक हजार पासपोर्ट छाप्ने मेसिन ६ घण्टासम्म चलाउनुपर्ने हुन्छ, जुन करिबकरिब असम्भव जस्तै हो ।

जगेडामा रहने अर्को मेसिन नियमित रूपमा नचलाई अरू बिग्रिएको बेला आकस्मिक प्रयोगका लागि ‘स्टक’मा राख्नुपर्छ । तर स्टकमा राख्नुपर्ने मेसिन नै नियमित रूपमा प्रयोग गर्ने गरी ठेकेदार कम्पनीहरूले आर्थिक प्रस्ताव पेस गर्नसमेत टेन्डर स्वीकृत गरेको आरोप महानिर्देशक लगायतमाथि छ ।

निरन्तर रूपमा पासपोर्ट छाप्नुपर्ने भन्दै उनले जतिसुकै समयमा पनि मेसिन उपलब्ध गराउनु ठेकेदारको सर्त हुने भनेका छन् । उनले जवाफमा भनेका छन्, ‘बोलपत्रदाता (ठेकेदार)ले स्वीकार गरेको र एउटा बिग्रिएमा अर्को मेसिन सञ्चालन गर्न सकिने हुँदा प्राविधिक रूपमा सफल भएको हो ।’

ठेकेदारले प्रतिघण्टा एक हजार पासपोर्ट छाप्न सक्ने भनी प्रतिवद्धता जनाएकाले अहिले नै उसले काम गर्न सक्दैन भनी अनुमान गर्न नहुने भन्दै महानिर्देशक अर्यालले ‘भनेबमोजिम पासपोर्ट छाप्न नसके क्षतिपूर्ति वा हर्जना तिरिहाल्छ नि’ भनेर जवाफ लेखेका हुन् ।

पासपोर्ट ठेक्कामा अनियमितता गरेको आरोपपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको थियो । विशेष अदालतले उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन दुई पटक म्याद थपिसकेको छ ।

अर्याल लगायतमाथि सिंगो ठेक्का जारी हुनुपर्नेमा दुई टुक्रा पारेर राजनीतिक आबद्धताका आधारमा ठेकेदारहरूलाई भागबण्डामा ठेक्का दिएको आरोप छ ।

ठेकेदारको योग्यता, उसले दिनुपर्ने आधारभूत सेवा, पासपोर्ट छपाइ सुरु गर्ने म्याद गुज्रिएको लगायतका विषयमा प्रश्न उठेपछि अख्तियारले त्यसमाथि अनुसन्धान गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?