News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एनिमेसन र भीएफएक्स कलाकार संघले आगामी अक्टोबर महिनामा ‘मैले देखेको नेपाल’ विषयमा पहिलोपटक एनिमेसन चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको छ ।
- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले राष्ट्रिय पक्षी डाँफे र कलाकार अरनिकोबाट प्रेरित महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गर्नुभयो ।
- संघले रोजगारीका लागि ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालन गर्ने र नेपालमा एनिमेसन विषयको स्नातक तहको शैक्षिक कार्यक्रम शुरू गर्ने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल एनिमेसन र भीएफएक्स कलाकार संघले पहिलोपटक एनिमेसन चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा फेस्टिभल घोषणा गरिएको हो ।
अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ । संघका अध्यक्ष विक्रम मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
सोही अवसरमा अध्यक्ष डीसीले महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गरे । नेपालको राष्ट्रिय पंक्षी डाँफेमा आधारित ‘आफ्फे’को सिर्जनात्मक अवधारणामा विश्वप्रसिद्ध नेपाली कलाकार अरनिकोबाट समेत प्रेरणा लिइएको आयोजकले जनाएको छ ।
उक्त मस्कटले नेपाली कलाकारको रंगीन, सिर्जनशील, कल्पनाशील र जीवन्त भावनालाई प्रतिनिधित्व गर्ने बताइएको छ । महोत्सवमा एनिमेटेड लघु फिल्म प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न एनिमेसन प्रतियोगिता आयोजना गरिनेछन् ।
महोत्सवका लागि दुईदेखि १० मिनेटसम्मका एनिमेसन तथा भीएफएक्समा आधारित छोटा फिल्मको आवेदन मागिएको छ । कार्यक्रममा संघले एनिमेसन तथा भीएफएक्सको क्षेत्रमा रोजगारी खोजिरहेका कलाकार र दक्ष जनशक्ति खोजिरहेका कम्पनी तथा स्टुडियोलाई जोड्ने उद्देश्यले ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ ।
त्यस्तै, नेपालमा एनिमेसन विषयको औपचारिक स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्ने योजनासमेत सार्वजनिक गरिएको छ । यसका लागि एक प्रतिष्ठित विश्वविद्यालयसँग प्रारम्भिक छलफल भइरहेको संघले जनाएको छ ।
संघले चलचित्र, एनिमेसन तथा भीएफएक्सको क्षेत्रमा कार्यरत कलाकार, प्राविधिक र विद्यार्थीको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण, कार्यशाला, प्रविधिसम्बन्धी अभिमुखीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँगको सहकार्यमा विशेष सिकाइ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र तथा गेम स्टुडियोका विभिन्न परियोजनामा काम गरिरहेका १२ जना नेपाली कलाकार तथा एनिमेटरको भिडियो प्रस्तुति गरिएको थियो ।
प्रतिक्रिया 4