+
फिफा विश्वकप २०२६ :

इतिहास रच्ने संघारमा मेसी: अर्जेन्टिना र अस्ट्रियाको नजर नकआउट चरणमा

२०८३ असार  ८ गते १२:०८ २०८३ असार ८ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' को आफ्नो दोस्रो खेलमा साविक विजेता अर्जेन्टिनाले सोमबार राती अस्ट्रियाको सामना गर्दैछ ।
  • यस खेलमा थप एक गोल गरेमा अर्जेन्टिनाका लियोनल मेसी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।
  • पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० र अस्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेका थिए ।

८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा आफ्नो दोस्रो खेलमा सोमबार राती अस्ट्रियासँग खेल्दैछ । समूह जे को यो खेल डालास स्टेडिययमा नेपाली समय अनुसार सोमबार राती १०:४५ बजे सुरु हुनेछ ।

ह्याट्रिक स्टार लियोनल मेसी र अर्जेन्टिनाको लक्ष्य लगातार दोस्रो खेल जित्दै नकआउट चरणमा स्थान बनाउनेतर्फ हुनेछ । अस्ट्रियालाई पराजित गरेमा अर्जेन्टिनाले नकआउट चरणमा स्थान बनाउनेछ । यस्तै मंगलबार बिहान जोर्डनले अल्जेरियालाई हराउन असफल रहे अर्जेन्टिना लगातार दुई जितले समहु विजेता नै बन्नेछ ।

पहिलो खेलमा मेसीको ह्याट्रिक प्रेरित अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरिसकेको छ । मेसीले विश्वकपकमा आफ्नो पहिलो ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए ।

अस्ट्रियाले पनि पहिलो खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

अर्जेन्टिना र अस्ट्रिया विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन् भने समग्रमा यो तेस्रो भेट हुनेछ ।

यसअघि दुई मैत्रीपूर्ण खेल भएको थियो । सन् १९८० मा डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई ५-१ ले पराजित गरेको थियो भने सन् १९९० मा भएको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।

अर्जेन्टिना र अस्ट्रियाबीचको खेलमा फेरि एकपटक सबैको नजर मेसीतर्फ नै हुनेछ । पहिलो खेलमै अल्जेरिया विरुद्ध ह्याट्रिक गरेपछि मेसीको चर्चा चुलिएको छ ।

मेसी इतिहास बनाउने संघारमा छन् । बुधबार ३९ वर्ष लाग्ने मेसीले विश्वकपमा १६ गोल गरिसकेका छन् र अस्ट्रिया विरुद्ध एक गोल गरेमा उनी सर्वाधिक गोलकर्ता बन्नेछन् ।

३८ वर्षमा पनि उस्तै जोशका साथ खेलिरहेका मेसी मैदान उत्रिएमा विपक्षी टिमको डिफेन्सिभ गेम प्लान नै परिवर्तन गर्नुपर्ने हुन्छ ।

मेसीसँगै अर्जेन्टिनाको परवार्ड लाइनमा लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, जस्ता विश्वकपको अनुभव भइसकेका खेलाडी छन् भने निको पाज र थियागो अल्माडा जस्ता युवा खेलाडी पनि छन् ।

मार्टिनेजको स्थानमा अल्भारेजले अस्ट्रिया विरुद्ध पहिलो रोजाईँमा खेल्ने सम्भावना छ । मिडफिल्डमा रोड्रिगो डे पउल, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टर छन् । गोलकिपर इमिलियानो मार्टिनेज र डिफेण्डर निकोलस ओटामनेन्डीको नेतृत्वमा रहेको डिफेन्स लाइन अस्ट्रियाको लागि तगारो बन्न सक्छ ।

यता अस्ट्रियाका कप्तान डेभिड अवाले पहिलो खेलमा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेको उनको क्षमता बारे जानकारी रहेको बताएका छन् ।

हाई प्रेसिङ गेम खेल्ने अस्ट्रिया पहिलो खेलको लय कायम राख्दै अर्जेन्टिनाको पासिङ खेल रिदमलाई ब्रेक गर्ने लक्ष्यमा हुनेछ ।

अस्ट्रियाका लागि फरवार्ड मार्को अर्नाउटोभिकमा नजर रहनेछ । उनले पहिलो खेलमा जोर्डन विरुद्ध बेन्चबाट आएर पेनाल्टीमा गोल गरेका थिए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय