News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इराकबीचको खेलमा कप्तान केलिएन एमबाप्पेले राष्ट्रिय टोलीका लागि आफ्नो १००औँ खेल खेल्नेछन् ।
- आफ्नो देशका लागि खेल्ने मौका पाउनु सधैं गर्व र खुसीको कुरा भएको एमबाप्पेले बताएका छन् ।
- पहिलो खेलमा नर्वेसँग ३-१ ले पराजित इराक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न फ्रान्सलाई पराजित गर्नुपर्ने दबाबमा छ ।
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत साविक उपविजेता फ्रान्सले आफ्नो दोस्रो खेल इराकसँग खेल्दैछ ।
यो खेल नेपाली समय अनुसार मंगलबार बिहान पौने ३ बजे बजे फिडाडेल्फिया स्टेडियममा सुरु हुनेछ ।
फ्रान्स र इराक अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक खेल्न लागेका हुन् ।
फ्रान्सले इराक विरुद्ध खेल्दा कप्तान केलिएम एमबाप्पे राष्ट्रिय टिमका लागि आफ्नो एक सयौँ खेल खेल्नेछन् । जहाँ फ्रान्सको नजर भने लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाउनेतर्फ हुनेछ ।
पहिलो खेलमा एमबाप्पेकै दुई गोलमा फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

सेनेगल विरुद्ध दुई गोल गरेपछि ओलिभर जिरुड (५७)लाई पछि पार्दे एमबाप्पे (५८) फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका थिए । अब एमबाप्पे फ्रान्सका लागि एक सय खेलको कोशेढुंगा पनि पार गर्दैछन् । फ्रान्सका लागि सर्वाधिक खेल खेल्नेमा दशौँ स्थानमा रहेका एमबाप्पे आफ्ने प्रशिक्षक डिडियर डेसच्याम्प्स (१०३) सँग पनि बराबरी गर्नबाट नजिक छन् ।
राष्ट्रिय टिमबाट खेल्नु सधैँ गर्वको विषय हुने र यो भन्दा माथि अरु कुनै कुरा नरहेको एमबाप्पेले बताएका छन् । विश्वकपमा खेल्नु र ६७ मिलियन फ्रान्सेली जनताको प्रतिनिधित्व गर्नुको अर्थ आफूले बुझेको उनको भनाई छ ।
‘आफ्नो देशका लागि खेल्ने मौका पाउनु सधैं गर्व र खुसीको कुरा हो,’ एमबाप्पेले पत्रकारहरूलाई भने, ‘यो भन्दा ठूलो अरू केही हुन सक्दैन । १०० एउटा ऐतिहासिक संख्या हो, र विश्वकप जस्तो मञ्चमा यो आँकडामा पुग्ने मौका पाउनुले मेरो लागि यो खेललाई निकै विशेष बनाउनेछ ।’
उनले अर्को चरणमा पुग्न जित आवश्यक रहेको पनि बताए । ‘खेलको महत्त्व र यसको नतिजा नै सबैभन्दा ठूलो कुरा हो र अर्को चरणमा पुग्नको लागि यो खेल जित्न आवश्यक छ ।’
यस्ते फ्रान्सका लागि कीर्तिमान बनाइसकेका एमबाप्पेको नजर अर्को कीर्तिमानतर्फ पनि हुनेछ ।

उनले विश्वकपमा १४ गोल गरिसकेका छन् र जर्मनीका मिरोस्लाभ क्लोज (१६), अर्जेन्टिनाका लियोनल मेसी (१६) र ब्राजिलका रोनाल्डो (१५) भन्दा मात्र पछि छन् । सेनेगल विरुद्ध दुई गोल गरेपछि उनले जर्मद्दीका गर्ड मुलर समान १४ गोल पुर्याएका थिए ।
यस्ते एमबाप्पे फ्रान्सका लागि तीन विश्वकपमा गोल गर्ने तीन खेलाडी मध्ये एक हुन् । सन् २०१८ मा उनले पहिलो पटक विश्वकप खेल्दा ४ गोल गरेका थिए भने २०२२ मा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।
अर्कोतर्फ ४२ वर्षपछि विश्वकपमा फर्केको इराक भने पहिलो खेलमा नर्वेसँग ३-१ ले पराजित भएको थियो । विश्वकपमा नकआउट चरणको सम्भावना जिविते राख्नका लागि इराक सामु फ्रान्सलाई स्तब्ध पार्नुको विकल्प छैन ।
इतिहासमै दोस्रो पटक विश्वकप खेलिरहेको इराकले अहिलेसम्म विश्वकपमा कुने खेल जित्न सकेको छैन । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा पहिलो पटक खेलेको इराक समूहको तीनवटै खेलमा पराजित हुँदै बाहिरिएको थियो ।
फ्रान्स र इराक बीचको खेलमा सबैको नजर कप्तान एमबाप्पेमै रहनेछ । यस्तै माइकल ओलिस, उसमान डेम्बेले जस्ता खेलाडी पनि हेर्नलायक खेलाडीको रुपमा रहनेछन् । पहिलो खेलमा बेन्चबाट आएर गोल गरेका ब्राडली बार्कोला र राएन चेर्की इराक विरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना पनि छ ।
इराकमा लागि आयमेन हुसेन यस खेलमा हेर्न लायक खेलाडीको रुपमा हुनेछन् । नर्वेविरुद्ध ४-१ को हारमा हुसेनले ने एक मात्र गोल गरेका थिए ।
प्रतिक्रिया 4