+
+
Shares

४३ वर्षमा तेस्रो सन्तानको आमा बन्दै हलिउड स्टार एनी ह्याथवे

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १२:५३

लस एन्जलस । हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवे ४३ वर्षको उमेरमा तेस्रो सन्तानकी आमा बन्ने भएकी छन् । उनले १९ जुनमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पति एडम शुल्मनसँग तेस्रो सन्तानको प्रतीक्षामा रहेको जानकारी दिएकी हुन् ।

आगामी १७ जुलाई २०२६ मा उनको नयाँ फिल्म ‘द ओडिसी’ प्रदर्शनमा आउन लागिरहेका बेला उनले यो खुसीको खबर सार्वजनिक गरेकी हुन् ।

एनीले इन्स्टाग्राममा साझा गरेको भिडियोमा उनी सेतो पोशाकमा देखिन्छिन् । पेट छोपेर उभिएकी उनी पछि हात तल झार्दा बेबी बम्प देखिन्छ । पृष्ठभूमिमा बार्बरा लुइसको चर्चित गीत बेबी आइ एम योर्स बजिरहेको सुनिन्छ । भिडियोको क्याप्सनमा उनले लेखेकी छन्, ‘बेबी, आइ एम योर्स ।’

एनीको गर्भावस्थाको घोषणापछि सामाजिक सञ्जालमा बधाई सन्देशको ओइरो लागेको छ । उनका प्रशंसकले हार्ट इमोजी र शुभकामनाले कमेन्ट सेक्सन भरिदिएका छन् ।

एनी र उनका पति एडम शुल्मन दुई छोराका अभिभावक हुन् । जेठा छोरा जोनाथन १० वर्षका छन् भने कान्छा छोरा ज्याक ६ वर्षका छन् । सन् २०१२ मा विवाह गरेका दुवैले २०१६ मा जोनाथन र २०१९ मा ज्याकलाई स्वागत गरेका थिए । अब सात वर्षपछि उनीहरू फेरि अभिभावक बन्न लागेका हुन् ।

हाल एनीको करियर पनि उत्कर्षमा छ । प्रतिष्ठित पीपल म्यागजिनले अप्रिल २०२६ मा उनलाई ‘विश्वकै सबैभन्दा सुन्दर स्टार २०२६’ को उपाधि प्रदान गरेको थियो । त्यसलगत्तै मे १ मा प्रदर्शनमा आएको उनको फिल्म ‘द डेविल वेयर्स प्राडा २’ विश्वव्यापी रूपमा व्यवसायिक सफल बन्यो ।

अब उनी निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’मा देखिँदैछिन्, जसले अग्रिम बुकिङमै नयाँ कीर्तिमान बनाइरहेको चर्चा छ । यसबाहेक उनको अर्को फिल्म ‘मदर मेरी’ पनि प्रदर्शनको तयारीमा छ ।

व्यक्तिगत जीवनमा भने उनले उतारचढावको लामो यात्रा पार गरेकी छन् । एक अन्तर्वार्तामा सन् २०१५ मा पहिलोपटक गर्भवती हुँदा गर्भपतन (मिसक्यारिज) भएको खुलासा गरेकी थिइन् । विवाहपछि पहिलो सन्तानको प्रतीक्षामा रहेका बेला भएको उक्त घटनाले आफूलाई निकै भावुक बनाएको उनले बताएकी थिइन् ।

सन् २०१२ मा परम्परागत यहुदी विवाह समारोहमार्फत एडम शुल्मनसँग विवाह गरेकी एनीले आफ्नो विवाहका तस्बिर बिक्रीबाट प्राप्त रकम समलैंगिक विवाह अधिकारको पक्षमा काम गर्ने संस्था फ्रिडम टु म्यारी लाई दान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?