१० असार, काठमाडौं । अमेरिकी सिनेटले इरानविरुद्धको युद्ध रोक्न र सैन्य कारबाही अघि संसदको स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन दिएको छ ।
रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा यस प्रस्तावबारे मंगलबार मतदान भएको थियो । तर युद्ध रोक्नुपर्ने प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । यसलाई ट्रम्पका लागि ठूलो झट्काको रूपमा हेरिएको छ ।
इरानसँगको युद्धप्रति डेमोक्र्याट्ससँगै रिपब्लिकन सदस्यहरूभित्र पनि असन्तोष बढेकाले यस्तो युद्ध रोक्नुपर्ने प्रस्ताव पास भएको बताइएको छ । यद्यपि ट्रम्पको पार्टी रिपब्लिकनका दुई सिनेटर मिच म्याककोनेल र डेभ म्याककर्मिक मतदानका बेला अनुपस्थित थिए ।
यसैगरी चार रिपब्लिकन सिनेटर र्यान्ड पल, लिसा मर्कोव्स्की, सुसान कोलिन्स र बिल क्यासिडीले डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।
यसैगरी डेमोर्क्याटिकका एक मात्र सिनेटर जोन फेटरम्यानले यस प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
यही प्रस्ताव जुन महिनामा प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा पनि पारित भएको थियो, जहाँ चार रिपब्लिकन सांसदहरूले सबै डेमोक्र्याटहरूसँग मिलेर यसलाई २१५–२०८ मतले अनुमोदन गरेका थिए ।
यद्यपि, यो प्रस्ताव मुख्यत: प्रतीकात्मक मानिन्छ, किनभने कांग्रेसका दुवै सदनबाट पारित भए पनि यसलाई राष्ट्रपति ट्रम्पसमक्ष कार्यान्वयनका लागि पठाइँदैन र यसको कानुनी रूपमा बाध्यकारी प्रभाव हुँदैन ।
तर सन् १९७३ को ‘वार पावर्स रिजोलुसन’ लागू भएपछि पहिलो पटक कांग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही समाप्त गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको यो पहिलोपटक भएकाले महत्वपूर्ण मानिएको छ ।
साथै यो मतदानलाई आगामी नोभेम्बरमा हुने मध्यावधि चुनाव (मिडटर्म इलेक्सन) अघि रिपब्लिकन पार्टीभित्र बढ्दो मतभेदको अर्को संकेतका रूपमा पनि हेरिएको छ ।
यसबाट ट्रम्पमाथि इरान युद्ध अन्त्य गर्न दबाब बढेको ठानिएको छ । अमेरिका–इरान युद्धका कारण विश्वभर पेट्रोलको मूल्य बढेको र जनतामाझ पनि युद्धविरोधी भावना बढ्दै गएको पनि देखिएको छ ।
तर ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएअनुसार ७ अप्रिलको युद्धविरामपछि अब त्यस्तो कुनै सक्रिय सैन्य कारबाही छैन जसका कारण अमेरिकी सैनिकहरू फिर्ता बोलाउनुपर्ने अवस्था होस् ।
प्रतिक्रिया 4