१२ असार, काठमाडौं । सरकारले सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ ।
यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गरी १९ गतेको मौका दिएको हो ।
यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो । आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ ।
आज जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३/०३/१२ भित्रमा होल्डिङ सेन्टरहरुमा बसोबास गर्नेहरुलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३/०३/१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
असार १५ गतेभित्र बैंक खाता नम्बरसहित निवेदन दिन आग्रह
सरकारले गत वैशाख १२, १३, १९ र २० गते काठमाडौं उपत्यका भित्रका नदी किनारका सुकुम्वासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिहेकाहरुलाई हटाएको थियो । त्यसपछि दशरथ रंगशालामा उनीहरुको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ ।
होल्डिङ सेन्टरमा रहेकाहरुलाई २५ हजार रुपैयाँ दिएर बिदा गर्ने तयारी छ । २५ हजार रुपैयाँ पाउनका लागि असार १५ गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बरसहित निवेदन दिन भनिएको छ ।

तर सुकुमवासीहरुलाई उचित व्यवस्थापन नगरी २५ हजार रुपैयाँ दिएर होल्डिङ सेन्टरबाट पनि बिदा गर्न लागिएको भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।
नदी किनारबाट हटाउँदा ६० दिनभित्र व्यवस्थापन गर्ने भनेर होल्डिङ सेन्टरमा राखिएको तर अहिले व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट पनि हटाउन लागिएको उनीहरुको गुनासो छ ।
उनीहरूले स्थायी विकल्प नदिई वा बसोबास गर्ने ठाउँ नदेखाइ जबरजस्ती होल्डिङ सेन्टरबाट निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
सुकुमवासी बस्ती भत्काएपछि सुकुमवासीको रूपमा आफ्नो नाम दर्ता गराउनेको संख्या २ हजार ६०८ जना रहेको थियो । त्यसमध्ये ३८८ जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफैँ व्यवस्थापन गरेर बसेका छन् ।
प्रतिक्रिया 4