१३ असार, धनकुटा । तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रलाई नेपालकै ‘गुराँसको राजधानी’ भनेर चिनिन्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थलमा फैलिएको टिएमजे क्षेत्रमा ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छन् । यही प्राकृतिक वैभवको प्रवेशद्वार वसन्तपुर बजार नजिक अवस्थित चोत्लुङ पार्क अहिले केवल पर्यटन स्थल मात्र नभई याक्थुङ (लिम्बू) संस्कृति, मुन्धुमी परम्परा र इतिहास अध्ययनको महत्वपूर्ण केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।
लालीगुराँस नगरपालिकाको सेवा केन्द्र वसन्तपुर बजारसँगै रहेको चोत्लुङ पार्कले आगन्तुकलाई प्रकृति र संस्कृतिको अद्वितीय संयोजन प्रदान गर्छ । गुराँसे वनबीच फैलिएको पार्कमा रैथाने वास्तुशैलीमा निर्माण गरिएका संरचना, ढुंगाले छापिएका बाटो, परम्परागत शैलीका फलैंचा र बिसौनीहरुले याक्थुङ संस्कृतिको झल्को दिन्छन् ।
पार्कभित्र मुन्धुममा वर्णित वनस्पतिहरु फुन्जिङ्बा (पैंयू), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते?लासे (केरा), लि?सिङ् फा (मलिबाँस), ४ हजार १ सय मिटरको उचाइबाट ल्याएका गुराँश लगायतका बिरुवाहरु रोपिएका छन् । साथै, मुन्धुममा वर्णन गरिएझैं अग्ला ढुंगाहरु गाडेर तिनको फेदमा दुबो रोपिएको छ, जसले यहाँको भू–संस्कृति र आध्यात्मिक परम्परालाई जीवन्त बनाएको छ ।

पार्कभित्र रहेको युमा संग्रहालय चोत्लुङ पार्कको अर्को महत्वपूर्ण आकर्षण हो । यहाँ पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्का तथा ऐतिहासिक दस्तावेजहरु संग्रहित छन् । त्यस्तै, याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धित पुराना गरगहना, भेषभूषा, हातहतियार, घरेलु उपकरण, वास्तुकला, सिक्का लगायतका सामग्रीहरु सुरक्षित राखिएका छन् ।
यो संग्रहालय २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले उद्घाटन गरेका थिए । संग्रहालयलाई इतिहास अनुसन्धान र सांस्कृतिक अध्ययनका लागि महत्वपूर्ण स्रोतका रुपमा लिइन्छ । वरिष्ठ कलाकार प्रेम सुब्बाका अनुसार यहाँका ऐतिहासिक सामग्रीहरु लिम्बू इतिहास अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि अत्यन्त उपयोगी छन् । ताप्लेजुङ घर भइ सुनसरीको चक्करघट्टी बस्दै आएकी जमुना आङबाङ खेवाले भने चोत्लुङ पार्क भ्रमणपछि आफ्नो संस्कृति र इतिहास बुझ्ने अवसर पाएको बताइन् ।
‘चोत्लुङ’ याक्थुङ भाषामा ‘सिद्धि’ वा ‘पूर्णता’ भन्ने अर्थमा प्रयोग हुन्छ । यही अर्थसँग मेल खाने गरी पार्कमा आउने पर्यटकले प्रकृति, संस्कृति र इतिहासको समिश्रण अनुभव गर्न सक्ने वातावरण निर्माण गरिएको छ । पहिलो पटक पार्क पुगेकी ताप्लेजुङकी मुना लिम्बूले अनुसार यहाँको वातावरणले लिम्बू संस्कृतिलाई पूर्णता दिएको अनुभूति भएको बताइन् ।
चोत्लुङ पार्क मुन्धुम र इतिहासका अध्येता तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुनबाबु माबुहाङको परिकल्पनामा निर्माण गरिएको हो । वि.सं. २०७४ देखि सुरु गरिएको निर्माण कार्य हालसम्म एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ ।
पार्क निर्माणमा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वसन्तपुर तथा अन्य निकायहरुको संयुक्त लगानीमा हालसम्म दुई करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको नगर प्रमुख माबुहाङले जानकारी दिए । पार्कले हरेक नागरिकले प्रकृतिमैत्रि जिवन निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिएको माबुहाङले बताए ।
२०७४ सालमा पहिलो पटक स्थानीय तहमा निर्वाचित भएर आएपछि सीमित बजेट र स्थानीय विकासका नयाँ विकल्प खोज्ने क्रममा स्थानीय संस्कृति, भाषा, परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोड्ने उद्देश्यले चोत्लुङ पार्क निर्माण गरिएको माबुहाङको भनाइ छ । यो पार्क लिम्बु समुदायको ढुङ्गा गाड्ने परम्परा, मुन्धुम दर्शन, स्थानीय ज्ञान र प्रकृतिप्रतिको श्रद्धामा आधारित रहेको उनले बताए ।

‘मुन्धुम अनुसार मानिसको आत्मा मृत्युपछि खोला, नाला, हिमाल, वनस्पति र पशुपक्षी जस्ता प्राकृतिक तत्वहरुमा वास हुन्छ भन्ने मान्यता रहेको छ ।’, माबुहाङले भने, ‘ती आत्माहरुलाई सम्मान गरे सुख, समृद्धि र सुस्वास्थ्य प्राप्त हुने तथा बेवास्ता गरे रोग, महामारी, बाढीपहिरो र अन्य विपत्ति निम्तिने विश्वास लिम्बू समूदायमा रहेको छ । यही दर्शनलाई आधार बनाएर पार्कमार्फत वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र प्रकृतिमैत्री जीवनशैलीको सन्देश प्रवाह गर्न खोजिएको हो ।’ ‘लिम्बू भाषामा चोत्लुङ शब्दमा ‘चो’ र ‘लुङ’ (ढुङ्गा) समावेश छन्, जसको अर्थ पवित्र वा परोपकारी ढुङ्गा हो । लिम्बु विश्वास अनुसार यस्ता ढुङ्गााहरू पुर्खाका आत्मासँग सम्बन्धित हुन्छन् र तिनप्रति श्रद्धा राख्दा मनोकामना पूरा हुने मान्यता रहेको छ ।
निर्माणको प्रारम्भिक चरणमा ढुङ्गा केन्द्रित अवधारणाको आलोचना, कंक्रीटविहीन संरचना निर्माणको प्राविधिक कठिनाइ तथा सीमित बजेटजस्ता चुनौतीहरु सामना गर्नुपरेको नगर प्रमुख माबुहाङले बताए । भविष्यमा पार्कलाई थप इको–डिजाइन, पशुपक्षीमैत्री तथा पर्यावरणमैत्री बनाउँदै अर्गानिक खाना, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसँग जोडेर वार्षिक ५ देखि ६ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको लालीगुराँस नगरपालिकाका नगर प्रमुख माबुहाङको भनाइ छ ।

चोत्लुङ पार्क प्रवेशका लागि ५० रुपैयाँ र संग्रहालय अवलोकनका लागि १ सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था रहेको छ । यसबाट वार्षिक करिब सरदरमा १३ लाख रुपैयाँ राजस्व संकलन हुने गरेको छ । आगन्तुकबाट गत नयाँ वर्षको दिन एकै दिन २ लाख ८२ हजार रुपैयाँ संकलन गरिएको तथ्यांक पार्कसँग रहेको छ ।
वसन्त ऋतुमा विशेषगरी गुराँस फुल्ने समयमा यहाँ पर्यटकको अत्यधिक भीड लाग्ने गर्छ । टिएमजे क्षेत्रमा घुम्न आउने पर्यटकहरु प्राय: चोत्लुङ पार्कको अवलोकन नगरी फर्कँदैनन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको वसन्तपुर बजारसँगै जोडिएको भएकाले यहाँ पुग्न सहज छ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गरेको छ ।
प्राकृतिक सौन्दर्यले भरिएको टिएमजे क्षेत्रको प्रवेशद्वार चोत्लुङ पार्क अहिले केवल रमणीय स्थल होइन, याक्थुङ (लिम्बू) संस्कृति, मुन्धुमी परम्परा र इतिहासको जीवित संग्रहालय बनेको छ । प्रकृति, संस्कृति र इतिहासलाई एउटै स्थानमा समेट्ने यसको अवधारणाले यसलाई पूर्वी नेपालको एक महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रुपमा स्थापित गरेको पत्रकार महासंघ तेह्रथुमका कोषाध्यक्ष प्रकाश पाक्साँवाले बताए ।


प्रतिक्रिया 4