News Summary
Generated by OK AI. Editorially reviewed.- मानवविज्ञानी डा. जेसन हड्सनका अनुसार मानिसको जैविक विकास आज पनि जारी छ, तर यो परिवर्तन देखिन धेरै पुस्ता लाग्ने गर्छ।
- दूध पचाउन सक्ने क्षमताको विकास र वातावरणीय अनुकूलन जस्ता कारकहरूले मानव विकासमा ऐतिहासिक रूपमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
- भविष्यमा क्रिस्पर जस्ता प्रविधिमार्फत मानिसले आफ्नै जीनलाई सम्पादन गरी आनुवंशिक गुणहरू छनोट गर्ने सम्भावना रहेको विज्ञहरू बताउँछन्।
के मानिसहरू अझै पनि विकसित भइरहेका छन् र भविष्यमा हाम्रा फरक-फरक रूपहरू हुन सक्छन्? हामी होचा हुनेछौँ वा अझै अग्ला हुनेछौँ?
मानिसका शारीरिक गुणहरू फरक हुन सक्छन् वा तिनलाई पूर्ण रूपमा जेनेटिक (आनुवंशिक) रूपले कुनै निश्चित ‘स्पेसिफिकेसन‘ अनुसार डिजाइन गर्न सकिन्छ। जसरी सभ्यताको विकास हुँदै गयो, हामी पनि परिवर्तन हुँदै गयौँ।
पहिले रोग, भोकमरी र मौसमका कठिन परिस्थितिहरूले हाम्रो इभोलुसन (उद्विकास) लाई प्रभाव पार्थे। जसरी सभ्यताहरू विकसित हुँदै गए, यी कारकहरूको प्रभाव हाम्रो विकासमा कम हुँदै गयो।
तर बेलायतको एङ्गलिया रस्किन युनिभर्सिटीका मानवविज्ञानी तथा इभोलुसनरी जेनेटिकिस्ट डा. जेसन हड्सनका अनुसार विकास आज पनि निस्सन्देह जारी छ। हामी यो यसकारण जान्दछौँ किनकि केही जीनहरू केही जनसङ्ख्यामा बढी सामान्य बन्दै गइरहेका छन्, तर यो परिवर्तन धेरै पुस्ताहरूमा हुने गर्छ, त्यसैले कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा यो विकासवादी परिवर्तन देख्न सक्दैन।
मानव विविधता
अमेरिकाको स्मिथसोनियन नेशनल म्युजियम अफ नेचुरल हिस्ट्रीकी पेलियोएन्थ्रोपोलोजिस्ट ब्रियाना पोबिनरका अनुसार, हाम्रो खानपानले हाम्रो हालको विकासमा धेरै ठूलो भूमिका खेलेको छ।
उनी भन्छिन्, ‘आज विश्वको लगभग एक तिहाइ जनसङ्ख्याले वयस्क भएपछि पनि दूध पचाउन सक्छन्, जबकि ५ देखि १० हजार वर्ष पहिले लगभग कसैले पनि यसो गर्न सक्दैनथ्यो। यो धेरै तीव्र गतिमा भएको विकासवादी परिवर्तन हो।‘
यो तब सुरु भयो जब मानिसहरूले दुग्ध जनावरहरू पाल्न थाले। अनिकालको समयमा जो मानिसहरूले दूध (जसमा बोसो र प्रोटिन हुन्छ) पचाउन सक्थे, उनीहरू जीवित रहने सम्भावना बढ्यो र उनीहरूले आफ्ना जीनहरू अगाडि बढाउन सके। यसरी यी जीनहरू धेरै छिटो फैलिएको पोबिनर बताउँछिन् ।
अन्य वातावरणीय कारकहरूले पनि मानव विकासलाई अझ पहिलेदेखि नै प्रभाव पारेका छन्।
जब हाम्रो प्रजाति हजारौँ वर्ष पहिले अफ्रिकाबाट विश्वका विभिन्न भागहरूमा फैलियो, तब उसले विभिन्न प्रकारको हावापानीको सामना गर्नुपर्यो र नयाँ शारीरिक अनुकूलनहरू विकसित गर्यो। उदाहरणका लागि, जहाँ यूभी प्रकाश कम थियो, त्यहाँ फिक्का (हल्का) छाला विकसित भयो ताकि शरीरले भिटामिन डी राम्रोसँग बनाउन सकोस्।

हड्सनका अनुसार स्थानीय विविधता तब विकसित भयो जब मानिसहरू एकअर्काबाट छुट्टिएर फरक-फरक क्षेत्रहरूमा बसोबास गर्न थाले। अब हामी सबै बसाइँसराइ (माइग्रेसन) र भूमण्डलीकरण (ग्लोबलाइजेसन) को माध्यमबाट विभिन्न तरिकाले फेरि एकसाथ आएका छौँ।
यो भूमण्डलीकरणले जैविक विविधता कम हुन सक्ने सम्भावनालाई सङ्केत गर्छ, तर कुराहरू त्यति सरल छैनन्।
हड्सन एउटा विषयमा अनुसन्धान गर्छन् जसलाई ‘असोर्टेटिभ मेटिङ‘ भनिन्छ- अर्थात् जब जीवहरूले आफूसँग मिल्दोजुल्दो साथी छान्छन्।
हड्सनका अनुसार, असोर्टेटिभ मेटिङले पहिलेदेखि नै भइरहेको कुनै पनि प्राकृतिक चयनलाई अझ तीव्र बनाउन सक्छ, जसले कुनै जनसङ्ख्यामा केही विशेष गुणहरूलाई बढावा दिन सक्छ। अनुसन्धानकर्ताहरूले यो पनि देखेका छन् कि जति तपाईं अग्लो हुनुहुन्छ, तपाईंको जीवनसाथी पनि अग्लो हुने सम्भावना त्यति नै बढी हुन्छ।
उनी भन्छन्, ‘उचाइ, तौल र अनुहारको संरचना जस्ता धेरै कुराहरू केही समूहहरूमा असोर्टेटिभ पाइएका छन्, तर सबैमा होइन, र यसको अन्त्यमा जीनको आवृत्तिमा प्रभाव पर्छ।‘ यसको केही हिस्सा सामाजिक र सांस्कृतिक कारणहरूसँग जोडिएको हुन्छ, जस्तै मानिसहरू प्रायः आफ्नै जातीय समूहभित्र विवाह गर्छन्। र केही जनसङ्ख्याहरूमा यी कारकहरू परिवर्तन पनि भइरहेका छन्। हड्सनका अनुसार, यस्ता धेरै कुराहरूले लगातार मानव विकासलाई प्रभाव पारिरहेका छन्।
‘सबै कुरा मानिसको हातमा छ‘
तर केही यस्ता विकल्पहरू पनि हुन्छन् जसले विकासलाई प्रभाव पार्दैनन्। उदाहरणका लागि, पोबिनर भन्छिन्, ‘यदि तपाईं जिम जानुहुन्छ र कसरत गरेर मसल्स बनाउनुहुन्छ भने, यसको अर्थ यो होइन कि तपाईंका बच्चाहरूले पनि राम्रो मांसपेशीका लागि जीनहरू प्राप्त गर्नेछन्।
अर्थोडोन्टिक्स (दाँतको उपचार) देखि कस्मेटिक प्रक्रियाहरूसम्म, धेरै शारीरिक गुणहरू अब एउटै जीवनकालमा बदल्न सकिन्छ, र यी परिवर्तनहरू प्रायः प्राकृतिक चयनको सट्टा सामाजिक छनोटबाट प्रभावित हुन्छन्।
इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार, सन् २०२४ मा विश्वभर लगभग ४० मिलियन (४ करोड) सर्जिकल र नन-सर्जिकल ब्युटी प्रोसिजर (सौन्दर्य प्रक्रिया) गरिएका थिए। यो २०२० को तुलनामा ४० प्रतिशतको वृद्धि हो। यसको अर्थ मानिसहरूमा आफू जन्मजात जस्तो देखिन्छन्, त्योभन्दा केही फरक देखिने चाहना बढ्दै गइरहेको छ।
डेनमार्कको आरहुस युनिभर्सिटीका पूर्व एसोसिएट प्रोफेसर तथा बायोइन्फर्मेटिक्स विशेषज्ञ थोमस मेलुन्ड भन्छन्, ‘मेडिकल साइन्सको माध्यमबाट हाम्रो रूपरङ्ग बदल्ने यो बढ्दो क्षमताको अर्थ यो हो कि अब सधैँ तपाईंको जीनले निर्धारण गरेजस्तै तपाईं देखिनुहुन्छ भन्ने हुँदैन।‘
र, भविष्यमा सायद हामी बाहिरी रूप मात्र बदल्न सक्नेछैनौँ।

वैज्ञानिकहरू क्रिस्पर नामको प्रविधिको प्रयोग गरेर मानव जीनलाई ‘एडिट‘ गरिरहेका छन्। यस प्रविधिको माध्यमबाट एउटा भागले लक्षित डीएनएलाई खोज्छ र अर्कोले त्यसलाई बदल्छ। यो प्रविधि लगातार राम्रो हुँदै गइरहेको छ र केही सीमित आनुवंशिक रोगहरू, जस्तै रगतको केही गडबडीको उपचारमा यसको प्रयोग सुरु पनि भइसकेको छ।
यदि यो प्रविधि धेरै अगाडि बढ्यो र व्यापक रूपमा उपलब्ध भयो भने, सिद्धान्ततः एक दिन यो सम्भव हुन सक्छ कि मानवका अन्य गुणहरूलाई पनि आनुवंशिक स्तरमा बदलियोस्, त्यो पनि धेरै पुस्ताहरूमा बिस्तारै होइन, बरू एकै कदममा। अर्थात् हामी आफ्ना बच्चाहरूमा मनपर्ने गुणहरू पैदा गर्ने क्षमता राख्न सक्नेछौँ।
र यदि यो जर्मलाइन कोशिकाहरूमा गरियो, अर्थात् ती कोशिकाहरूमा जुन शुक्रकीट र अण्डाणु बन्छन् भने, जीनमा गरिएका परिवर्तनहरू आगामी पुस्ताहरूमा पनि वंशाणुगत रूपमा सर्न सक्छन्। तर यसलाई सुरक्षित तरिकाले र पूर्ण ग्यारेन्टीका साथ गर्न सकिने अवस्थाबाट हामी अझै धेरै टाढा छौँ।
‘मानिसहरूमा यसो गर्नु उचित होइन, यो पूर्णतया अनैतिक हुनेछ भन्ने कुरा अहिले लगभग पूर्ण रूपमा स्वीकार गरिएको छ,’ हड्सन भन्छन्।
तर उनको अनुमान छ– भविष्यमा यो कुरा परिवर्तन हुन सक्छ। उनी भन्छन्, ‘५,००० वर्षपछि सायद स्थिति उल्टो हुन सक्छ, अर्थात् एक समय यस्तो आउन सक्छ जब जीनोम एडिटिङ गर्नुलाई अनैतिक नभई, यसलाई नगर्नु नै अनैतिक मानिनेछ, किनभने हामी वंशाणुगत रोगहरूलाई समाप्त गर्न सक्षम हुन सक्छौँ।‘
यदि यो प्रविधि व्यापक रूपमा उपलब्ध भयो भने, यसले आमाबाबुलाई आफ्ना बच्चाहरूको रूपरङ्ग र अन्य गुणहरू जीन एडिटिङमार्फत छनोट गर्ने विकल्प पनि दिन सक्छ।
हड्सन भन्छन्, ‘व्यापक अर्थमा मानव विकासको भविष्य वास्तवमा मानिसहरूकै हातमा जानेछ, तर हामी अझै त्यो स्थितिबाट धेरै टाढा छौँ। यस प्रविधिको बारेमा अझै धेरै कुरा बुझ्न बाँकी छ ।‘
तर उनले आफ्नै जीवनकालमा यसको यस्तो रूप देख्ने नसक्ने बताउँछन् ।
नयाँ प्रजातिहरू
मेलुन्ड भन्छन्, ‘हाम्रो वातावरण कसरी परिवर्तन हुनेछ भन्ने कुरा थाहा नभएसम्म भविष्यमा मानिसहरू कस्ता देखिनेछन् भनेर अनुमान लगाउन असम्भव छ। यदि धेरै टाढाको भविष्यको कुरा गर्ने हो भने, सम्भव छ कि हामी एउटा नयाँ प्रजाति बनिसकेका हुनेछौँ।‘
लगभग दश लाख वर्षअघि होमो इरेक्टस जस्ता मानव प्रजातिहरू पृथ्वीमा अवस्थित थिए। हाम्रो आफ्नै प्रजाति, होमो सेपियन्स, लगभग ३ लाख वर्षअघि अस्तित्वमा आएको हो।
मेलुन्ड भन्छन्– यदि हामी अझै दस लाख वर्ष पर्खियौँ भने, हाम्रा वंशजहरू हामीभन्दा त्यति नै फरक हुनेछन् जति होमो इरेक्टस हामीभन्दा फरक छ।
तैपनि उनी चेतावनी दिँदै भन्छन्, ‘प्रजातिहरू बीचको भिन्नता सायद हामीले सोचेजस्तो स्पष्ट हुनेछैन।‘
उनलाई नै विश्वास छैन- हामी कुनै होमो इरेक्टसलाई देखेर उनीहरू हामीभन्दा धेरै फरक छन् भनेर चिन्न सक्नेछौँ।
यो पनि सम्भव छ- हाम्रो प्रजाति दुई भागमा बाँडियोस्, उदाहरणका लागि यदि हामीमध्ये केही मानिसहरू अन्तरिक्ष जस्तो नयाँ वातावरणमा गएर बस्यौँ भने।
मेलुन्ड भन्छन्, ‘यदि तपाईं चन्द्रमामा बस्नुहुन्छ भने त्यहाँ गुरुत्वाकर्षण कम हुनेछ, र मङ्गल ग्रहमा पनि गुरुत्वाकर्षण कम छ, त्यसैले त्यहीँ अनुसारको अनुकूलन गर्नुपर्ने हुन्छ।‘
वास्तवमा नयाँ प्रजातिको विकास हुन ती जनसंख्या धेरै पुस्तासम्म पृथ्वीका मानव समुदायबाट पूर्ण रूपमा पृथक् रहनुपर्छ।
तर यदि विकासक्रमलाई केवल संयोग वा भाग्यको भरमा नछोडी हामी आफैंले हस्तक्षेप गर्ने हो भने के हुन्छ?
जिन प्रविधिमार्फत आफ्नै आनुवंशिक संरचना परिवर्तन गर्ने सम्भावना विकसित भइरहेका बेला, मेलुन्डको भनाइमा मूल प्रश्न जीवविज्ञानले हामीलाई कहाँ पुर्याउँछ भन्ने होइन, हामी आफैंले कस्तो भविष्य रोज्छौँ भन्ने हो।
(बीबीसी हिन्दीबाट)
प्रतिक्रिया 4