१८ असार, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालले सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाको सम्पत्ति सम्हाल्ने तथा दायित्व भुक्तानी गर्ने भनेर कम्पनी कब्जा गरे पनि बैंक ऋण तथा पुराना लगानीकर्ताको पैसा भुक्तान गरेका छैनन् ।
सम्पत्ति तथा दायित्वको जिम्मा लिएर रिसोर्ट सञ्चालन गर्ने भन्दै उनले पुराना लगानीकर्तासँग सेयर किनेका थिए । तर, न उनले बैंकको कर्जा नै भुक्तानी गरेका छन्, न सेयर बेच्ने लगानीकर्ताले त्यसबापतको रकम नै पाएका छन् । उल्टै बैंकले लिलामीको सूचना जारी गर्दा सेयर बिक्री गरिसकेका लगानीकर्ताको नाम समेत सार्वजनिक भइ उनीहरू थप मारमा परेका छन् ।
रिसोर्टको नाममा नेपाल बैंकमा ३२ करोड रुपैयाँ बराबरको कर्जा छ । तर, अग्रवालले लामो समयदेखि सो कर्जाको किस्ता भुक्तानी गरेका छैनन् । यसरी कर्जा जोखिममा परेपछि बैंकले धितो रहेको रिसोर्ट लिलामी बिक्रीका लागि सूचना निकालेको छ ।
बैंकले यसअघि नै दुईपटकसम्म लिलामी प्रक्रिया गर्दा रिसोर्ट बिक्री भएन । त्यसपछि अहिले बैंकले गोप्य शिलबन्दी बोलकबोलको सूचना निकालेको छ । यो शिलबन्दी बोलपत्र असार २९ गतेसम्म खुला छ । तर, कर्जा भुक्तान गर्ने जिम्मा लिएर कम्पनी कब्जा गरेका अग्रवालले रिसोर्टमा ताला लगाएका छन् ।
कोभिड तथा सिन्धुपाल्चोकको पहिरो लगायत कारण रिसोर्ट सञ्चालनमा समस्या आएपछि पुराना लगानीकर्ताहरू सेयर बिक्री गरेर भएपनि बैंकको कर्जा तिर्ने प्रक्रियामा गए । होटेलका एक सञ्चालक सुवास प्रधानले सेयर बिक्री गरी नयाँ लगानीकर्ता भित्र्याउने जिम्मा लिए ।
प्रधानले नै नयाँ लगानीकर्ताका रुपमा दीपेन्द्र अग्रवाललाई भित्र्याए । प्रधान र अन्य लगानीकर्ताबीच नयाँ लगानीकर्ता भित्र्याउने क्रममा अन्य लगानीकर्ताको सेयर प्रधान स्वयम् वा उनले भनेको व्यक्तिको नाममा हस्तान्तरण गर्ने कागज भएको थियो ।
रिसोर्टका लगानीकर्ताहरू सुवास प्रधान, समिरकुमार नेपाल, चिनबहादुर रानाभाट, छिरिङ शेर्पाबीच प्रधानले भित्र्याएका लगानीकर्तालाई बहुमत सेयर दिने तथा सम्पत्ति–दायित्व पनि उसैले सकार्ने सहमति भएको थियो ।
सो सहमति अनुसार पहिलो चरणमा चिनु रानाभाटको नाममा रहेको १७ लाख कित्ता सेयर दीपेन्द्र अग्रवाललाई हस्तान्तरण भयो । सो सेयर लिएपछि अग्रवालले नेपाल बैंकको ६ करोड ९० लाख रुपैयाँ बक्यौता भुक्तानी गरे । तर बिक्री गर्ने लगानीकर्ता रानाभाटले त्यसबापतको बाँकी रकम ७ करोड रुपैयाँ भुक्तानी पाउनुपर्नेमा पाएका छैनन् ।
थप ७ लाख ३७ हजार कित्ता सेयर प्रधानले अग्रवाललाई दिने सहमति भए पनि त्यो नदिएको अर्का लगानीकर्ता समिरकुमार नेपालले बताए । ‘प्रधानको अनुरोधमा रानाभाटले अग्रवाललाई १७ लाख कित्ता सेयर नामसारी गरिदिनुभयो,’ नेपालले भने, ‘सो सेयर बापतको करिब ७ करोड रकम प्रधानले रानाभाटलाई भुक्तानी दिनुपर्ने हो । त्यसअनुसार प्रधानले चेक जारी गरे पनि त्यो नसाटिएर बाउन्स भएपछि उनी अहिले बैंकिङ कसुरमा जेलमा छन् ।’
तर, सम्पत्ति र दायित्व सकार्ने भन्दै सेयर लिएका अग्रवालले बैंकको कर्जा नतिर्दा व्यक्तिगत जमानी बसेका पुराना लगानीकर्तालाई बैंकले ताकेता गरेको र त्यसले समस्या सिर्जना भएको नेपाल बताउँछन् । ‘रिसोर्टमा रहेको आफ्नो स्वामित्व सबै नामसारी भइसक्यो, बैंकले कर्जा उठाउन हामीलाई ताकेका गर्छ,’ नेपालले भने,‘ सहमतिअनुसार अग्रवालले ऋण पनि तिर्ने र व्यक्तिगत जमानीबाट पनि हामीलाई हटाउन पर्नेमा त्यसो गरेनन् ।’
अग्रवालले सेयर बिक्रीको पैसा नदिएको तथा बैंकको ऋण पनि नतिरेका कारण आफूले उनलाई थप सेयर नदिएको प्रधानले बताएको नेपालको भनाइ छ । प्रधान र अग्रवालको कारोबार विवादले आफूहरू पीडित हुनुपरेको नेपालको गुनासो छ ।
अग्रवाल भने यसमा आफूलाई फसाइएको दाबी गर्छन् । हालसम्म १८ करोड रुपैयाँ भुक्तानी गरेर सो बराबरको सेयर आफूले लिएको तर अहिले जुवा खेलेजस्तो अवस्था भएको उनले बताए ।
‘नेपाल बैंकमा ६.९० करोड ऋण तिरिदिएँ, सुवासलाई ४.९६ करोड रुपैयाँ दिएँ, हिमालयन बैंकमा रहेको भोटेकोशी हेली रिसोर्ट कम्पनीकै खातामा अरु रकम हालेर १८ करोड रुपैयाँ तिरिसकेको छु’ उनले भने, ‘अहिले कसैले त्यो सेयर लिएर कम्पनीलाई आफ्नो बनाउन चाहन्छ भने म सित्तैमा सेयर दिन तयार छु ।’
प्रोजेक्ट पूरा गर्ने, आम सर्वसाधारणलाई पनि सेयर जारी गरेर पूँजी जुटाउने, रिसोर्टलाई पाँच तारे सुविधायुक्त बनाएर सञ्चालन गर्ने लक्ष्य लिएर आफूले पैसा हालेको उनले बताए । ‘पैसा हाल्न लगाएर केही पुराना सेयरधनीलाई कालोसूचीमा जानबाट बचाएँ,’ उनले भने ‘तर अहिले जुवा खेलेर हारेको रुपमा चित्त बुझाइरहेको छु ।’
गत वर्ष २०८२ असार १० गते रिसोर्टका नयाँ सेयरधनीसहित सबैको उपस्थितिमा बैठक बसेको थियो । सेयरधनी चिनबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले रिसोर्टको दायित्व र बैंक कर्जाको जमानी कायम भएका नयाँ सेयरधनीले लिने निर्णय भएको छ ।

सो दिनसम्म रिसोर्टका सेयरधनीमा क्रिष्टल प्रधान, सुवास प्रधान, दीपेन्द्र अग्रवाल, उमेश गुप्ता, जयप्रकाश अग्रवाल, ज्योति अग्रवाल, छेवाङ याङजोम घिसिङ, मिता मुरारका र सरस्वति सेढाईं थिए । उक्त निर्णय सबै सेयरधनीको उपस्थितीमा भएको थियो । सो बैठकमा समिरकुमार नेपाल, एलिस रानाभाट, छिरिङ शेर्पा र चिनबहादुर रानाभाट आमन्त्रित सदस्यको रुपमा गएका थिए ।
सो निर्णय पछि २०८२ भदौ २८ गते रिसोर्टको नयाँ सञ्चालक समिति गठन भएको थियो, जसबाट अध्यक्षका रुपमा दीपेन्द्र अग्रवालले जिम्मा लिएका थिए । अग्रवालले अध्यक्षता गरेपछि सो होटल केही समय सञ्चालन पनि भएको थियो । अग्रवालले बैंकिङ कारोबार पनि सारेर हिमालयन बैंक मार्फत गरेका थिए । त्यसबीचमा आफूले होटेलमा थप १५ करोड रुपैयाँ लगानी गरेको दाबी गरेका छन् ।
‘अग्रवालले बैंकको कर्जा तिरका छैनन्, तर सेयर बिक्री गरेका पुराना सेयरधनीलाई पनि बैंक जमानीबाट हटाएका छैनन् । कर्जा असुली गर्न बैंकले हामीलाई ताकेका गरेको छ । लिलामी सूचनामा हाम्रो नाम छ,’ नेपालले भने ।

रिसोर्ट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ, तर, विवाद बढ्दै गएपछि अग्रवालले एकपक्षीय रुपमा ८ माघ २०८२ मा सञ्चालक समिति नै फेरेका छन् । सेयर लगानी नै नभएको व्यक्तिलाई सञ्चालक बनाएको नेपाल बताउँछन् ।
२०८३ सालको साधारणसभा नहुँदासम्मका लागि अग्रवालले आफ्नो अध्यक्षतामा भएको समितिलाई भंग गरी हरिप्रसाद चापगाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेका छन् ।
त्यसको विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा नियमित गराएको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार अन्य सञ्चालकहरूमा रगु खत्री, प्रेमलाल लामिछाने, भिमकुमार प्रधान, रामायाण गुप्ता र विश्वानाथ छन् ।

हाल रिसोर्टको १७ लाख कित्ता सेयर दीपेन्द्र अग्रवालको नाममा छ । त्यसैगरी सुवास प्रधान र उनको परिवारका नाममा १४ लाख कित्ता सेयर छ । त्यसमध्ये प्रधानले ५ लाख ५८ हजार कित्ता सेयर राख्ने र बाँकी सेयर पनि दीपेन्द्रलाई नै दिने सहमति सञ्चालकहरूमा भएको थियो ।
बैंकको कर्जा असुली विभागले २०८३ जेठ १ गते एक सार्वजनिक सूचना जारी गर्दै रिसोर्टले लिएको व्यापारिक तथा चालू पुँजी कर्जाको साँवा–ब्याज नतिरेपछि ३५ दिने लिलामीको सूचना निकालेको छ । बैंकले ऋणीलाई २०८३ असार ४ गतेसम्म कर्जा चुक्ता गर्ने अन्तिम समय दिएको छ ।
यस कर्जाको व्यक्तिगत जमानीकर्ताहरूमा चिनबहादुर रानाभाट (कास्की), समिरकुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुबास प्रधान (नुवाकोट) छन् ।
आफूले सेयर बिक्री गरिसक्दा पनि जमानीबाट नहटाइएको रानाभाट बताउँछन् । ‘सेयर बिक्री गरेँ, न सेयरको पैसा आएको छ, न बैंकको ऋणमा जमानी फिर्ता,’ उनले भने, ‘यो सबै दीपेन्द्र अग्रवालले जिम्मा लिएर पनि काम नगर्दा हामी पीडित हुनु परेको हो ।’
प्रतिक्रिया 4