+
+
Shares

रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा भोटेकोशी हेली रिसोर्टका सञ्चालक फेरि पक्राउ

भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका पूर्वअध्यक्ष पोखराका चीनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधानलाई पक्राउ गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ जेठ ६ गते २०:१२

७ जेठ, पोखरा ।  २०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान फेरि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा यही जेठ ३ गते पक्राउ गरी प्रधानलाई पोखरा ल्याएको हो ।

प्रधानलाई मंगलबार थप ३ दिनको म्याद गरी कास्की हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका पूर्वअध्यक्ष पोखराका चीनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधानलाई पक्राउ गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

रिसोर्टका प्रमुख शेयरधनी चिनबहादुरलाई ७ करोड रुपैयाँको चेक दिएर प्रधानले शेयर किनेका थिए । चीनबहादुरले आफू प्रमुख शेयरधनी बनेर समीर कुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुवास प्रधान (नुवाकोट) मिलेर रिसोर्ट सञ्चालन गरेका थिए ।

सुरुमा चीनबहादुर, समीर र छिरिङ मिलेर २०७८ सालबाट रिसोर्ट सञ्चालन गरेका थिए ।

चीनबहादुरका अनुसार त्यसको करिब ३ वर्षपछि रिसोर्टमा सुवासको प्रवेश भएको थियो । अहिले रिसोर्ट सञ्चालनका लागि लिइएको ऋण तिर्न नसकेपछि नेपाल बैंक लिमिटेडले लिलामी प्रक्रिया अगाडि बढाएको छ ।

गोरखापत्र दैनिकमा १, जेठ शुक्रबार सार्वजिनक सूचना जारी गर्दै लिलामी गर्ने प्रक्रिया अघि बढाएको हो । बैंकको कर्जा असुली विभागले जारी गरेको सूचना अनुसार साविक मार्मिङ–१ मा रहेको कुल २७ रोपनी ६ आना जग्गा र त्यसमा बनेको रिसोटर्का संरचना लिलामी प्रक्रिया सुरु गरिएको छ ।

लिलामी प्रक्रिया २०८३ असार ५ गते बिहान ११ बजे काठमाडौं बैंकिङ अफिसमा हुने तय गरिएको छ । तर, त्योभन्दा अगाडि नै चीनबहादुरकै जाहेरीका आधारमा प्रधान पक्राउ परेका छन् ।

प्रमुख शेयरधनी रहेका चीनबहादुरको शेयर प्रधानलाई हस्तान्तरण गर्ने सहमतिअनुसार ७ करोड रुपैयाँको चेक लिएका थिए । उनले शेयर हस्तान्तरण गरिसकेको तर व्यक्तिगत धनजमानीका आफू पनि जोडिएको बताए ।

‘सहमतिअनुसार उहाँले काम गरिदिएको भए, यो अवस्था नै आउँदैनथ्यो । नगरिदिएकै कारण बाध्य भएर जाहेरी दिनुपरेको हो,’ चीनबहादुरले अनलाइनखबरसँग भने, ‘निकै सम्भावना देखेरै लगानी गरेका थियौं र राम्रै पनि भइरहेको थियो । तर, मेरा लागि अपायक पनि परेकाले घाटा खाएर शेयर दिएको हुँ ।’

चीनबहादुरले सुवासको नाममा शेयर हस्तान्तरण गरिदिएको बताउँछन् । तर उनले पाउनुपर्ने रकम भने नपाएपछि बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

चीनबहादुरले कास्की प्रहरीले जाहेरी दिएको यो दोस्रो पटक हो । पहिलो पटक २०८२ पुस २० गते २ करोड ५० लाख रुपैयाँको बिगो दाबी गर्दै जाहेरी दिएपछि माघ २३ गते प्रधान पक्राउ परेका थिए । तर, जिल्ला अदालत कास्कीले त्यसको भोलिपल्टै अभिवक्ता जयराम श्रेष्ठको जिम्मा जमानीमा छाडेका थिए ।

जिम्मा जमानीमा थुनाभन्दा बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेको भए पनि त्यसयता प्रधान प्रहरीको सम्पर्कमै आएनन् ।

रिसोर्ट शेयर हस्तान्तरण गरेर दुई वटा चेकबाट ७ करोड रुपैयाँ लिएका चीनबहादुरले २०८२ चैत १७ गते ३ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै फेरि बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कास्कीले वैशाख ३० गते प्रक्राउ अनुमति लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोग मागेको थियो । उसकै सहयोगमा प्रधानलाई जेठ ३ गते पक्राउ गरी पोखरा ल्याइएको हो ।

प्रधानले रिसोर्टमा व्यवसायी तथा शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई भित्र्याएर चीनबहादुरको शेयर खरिद गरेका थिए । दीपेन्द्रमार्फत कारोबार मिलाउने र शेयरसमेत खरिद गरेका सुवासले चीनबहादुरलाई सहमतिअनुसारको पैसा नदिँदा पक्राउ परेका छन् ।

अहिले रिसोर्टसमेत अप्ठेरो अवस्थामा पुगेको छ भने दिपेन्द्र अग्रवालले पनि सुवासले आफूलाई फसाएको बताइरहेको प्रहरी अनुसन्धान अधिकृतहरुले बताएका छन् । प्रधानले शेयर नदिएको र बैंकमा हिसाब पनि नमिलाएको दिपेन्द्रको तर्फबाट विषय आएको प्रहरी स्रोतको भनाइ छ ।

दीपेन्द्रसँगको उसको लेनदेन, बैंकले थालेको लिलामी प्रक्रिया र पक्राउ पर्नु रिसोर्टसँग जोडिएको भए पनि यो चीनबहादुर र सुवासबीचको लेनदेनको विषय हो ।

चीनबहादुरका अनुसार करिब ७० करोडको लगानीमा क्यासिनोसहित ४ तारेस्तरको रिसोर्ट सञ्चालनमा ल्याइएको हो । भोटेकोशी छेउमै करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दूरीमा छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?