काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२६’ को लागि आवेदन खुला भएको छ । आयोजित पत्रकार भेटघाटमा आयोजक संस्था एमएस प्रोडक्सनले नयाँ संस्करणको घोषणा गरेको हो ।
प्रतियोगितामा नेपालका १७ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिला सहभागी हुन सक्नेछन् । इच्छुकले प्रतियोगिताको आधिकारिक सामाजिक सञ्जाल पेज तथा भोटिङ पार्टनर एभेन्टोजमार्फत आवेदन दिन सक्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ, जहाँ आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्यांकन गरिनेछ ।
सहभागीले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ तथा स्टेज प्रस्तुति प्रशिक्षणलगायत विभिन्न व्यावसायिक तालिम प्राप्त गर्नेछन् ।
पहिलो चरणको अडिसन ११ जुलाई अर्थात् यही असार २७ गते हुने तय भएको छ । विजेताले दक्षिण कोरियामा आयोजना हुने एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
राष्ट्रिय निर्देशक मेनुका माझीले नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको बताइन् । उनका अनुसार सहभागी हुन उचाइको कुनै मापदण्ड राखिएको छैन ।
फिनाले ३० अगस्ट २०२६ (भदौ १४) मा आयोजना हुनेछ ।
प्रतिक्रिया 4