२० असार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि थप्ने तयारी भएको छ ।
युवालाई लक्षित गरेर नयाँ सदस्यता वितरणका लागि जिल्लामा खटाइएका प्रतिनिधिहरूको मागअनुसार समयावधि थप्ने तयारी गरिएको हो ।
नयाँ सदस्यता वितरणका लागि खटाइएका प्रतिनिधिहरूले समय अपुग भएको बताएका कारण समयावधि थप हुने कांग्रेस स्रोतले जनाएको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवम् महामन्त्री प्रदीप पौडेलले पनि केन्द्रीय प्रतिनिधिहरूले समयावधि थप्नु पर्ने माग गरिएको बताए । ‘सदस्यता वितरण प्रक्रिया अलि लामो भएकाले सबैतिर नटुंगिएको अवस्था छ,’ उनले अनलाइनखबरसँग भने, ‘धेरै जिल्लाबाट समय थप गर्न माग भएको छ ।’
संयोजक पौडेलले समयावधि थपबारे समितिले निर्णय गर्न बाँकी रहेको पनि जानकारी दिए ।
यसअघि ३० जेठमा बसेको समितिको बैठकले क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य २० असारसम्मका लागि कायम गर्ने निर्णय गरेको थियो ।
समितिले नयाँ क्रियाशील सदस्यता वितरणको समयावधिभित्र इच्छुक क्रियाशीलको सदस्यता पनि अद्यावधिक गरिने बताएका थियो ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यहरूले अद्यावधिक गरेको जनाएको थियो ।
समितिले अद्यावधिक अभियानको अन्तिम दिन २८ जेठ राति विज्ञप्ति जारी गरेर अद्यावधिक सदस्यहरूको संख्या सार्वजनिक गरेको थियो ।
समितिले अन्य एक लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भएर वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको पनि जनाएको थियो ।
प्रतिक्रिया 4