२१ असार, काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटलाइजेशन’ वा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
यस्तो छ विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वस्यो । उक्त बैठकले नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तोकिएको समयावधी भित्र स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्ने प्रयोजनका लागि यस पूर्व केन्द्रीय निर्वाचन समितिमा रहनु भएका संयोजकज्यू, सदस्यज्यूहरु तथा निर्वाचन अधिकृतको भूमिकामा रहनु भएका आदरणीय व्यक्तित्वहरुको अनुभव, राय सल्लाह, सुझाव लिदै सरोकारवाला सबै समुहलाई सकारात्मक सहयोगको लागि अनुरोध गर्दै देहाय बमोजिमको निर्णय गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष जानकारीका लागि पेश गर्ने निर्णय गर्दछ :
बैठकको निर्णय
१. नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ । साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन अर्थात पेपरलेस प्रविधि वा इ.भि. एम. प्रविधिलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णय गर्दछ ।
२. निर्वाचन प्रक्रिया शुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा वाहेक निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायहरुलाई आग्रह गर्ने निर्णय गर्दछ ।
३. निर्वाचन कार्यमा काठमाडौं उपत्यकाभित्र रहेका काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत, त्यसैगरी उक्त जिल्लाहरु अन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका एवं नगरपालिकाहरुमा महिला कानुन व्यवसायीहरुलाई निर्वाचन अधिकृतको रुपमा प्राथमिकताका साथ खटाइने निर्णय गर्दछ ।
४. निर्वाचन कार्यमा स्वयंसेवकको रुपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समुहलाई आह्वान गरी रोष्टर तयार गर्ने र रोस्टरमा रहेका व्यक्तिहरुलाई अभिमुखीकरण (Orientation) कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतको रुपमा खटाउने निर्णय गर्दछ ।
राजु कटुवाल
सदस्य सचिव
प्रतिक्रिया 4