+
+
Shares

निर्वाणा कन्ट्रीका विषयमा गृहमन्त्रीको चासो, अतिक्रमित संरचना हटाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते २१:१९

२१ असार, विराटनगर । गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रतिष्ठानको अतिक्रमण रहेको संरचना हटाउन निर्देशन दिएका हुन् ।

प्रतिष्ठान परिसरमा रहेको १० वटा आलिसान भवन निर्वाणा कन्ट्री क्लबले ५० वर्षका लागि ठेक्का लिएको थियो । अस्पताल परिसरमा रहेको गल्फ क्लब पनि सोही कम्पनीले २० वर्षका लागि ठेक्का लिएको थियो ।

तर, कोरोना महामारीपछि क्लब बन्द गरेर सञ्चाल शशीराम भण्डारी सम्पर्क बाहिर छन् । निर्वाणाले छाडेपछि गल्फ क्लबको व्यवस्थापन भने धरान गल्फ क्लबले गरिरहेको छ । ब्रिटिसका लागि निर्माण गरिएको १० वटा भवन र गल्फ क्लब प्रतिष्ठान भन्दा पुरानो हो ।

कुनै समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउ अभियान सञ्चालन गरेका गुरुङले अस्पतालको जग्गा अतिक्रमण भएको विषयमा चासो राखेपछि निर्वाणा कन्ट्रीको विषय बाहिर आएको थियो । लगतै उनले सम्झौता तोडेर अघि बढन निर्देशन दिए ।

उनको निर्देशनपछि सुरक्षा निकाय र प्रतिष्ठान व्यवस्थापन समितिले निर्वाणा कन्ट्रीले ठेक्का लिएको क्षेत्र निरीक्षण गरेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार गृहमन्त्रीको चासोपछि सुरक्षा निकायसहितको टोलीले निरीक्षण गरेको हो

बन्द अवस्थामा रहेको कन्ट्रीको बक्यौता रहेको बताउँदै उनले कानुनी कारबाहीका विषयमा थप छलफल गरी निर्णयमा पुगिने बताए । ‘मन्त्रीज्यू आएपछि अस्पतालको सेवा प्रवाह र समग्र विषयमा छलफल भयो,’ उनले भने,‘ उहाँको  निर्देशनपछि अतिक्रमित संरचना हटाउने विषयमा अस्पताल प्रशासनसँग छललफल भयो ।’

धरान उपमहानगरपालिकाका पूर्वमेयर तिलक राईले निर्वाणा कन्ट्रीले छाडेपछि गल्फ क्लब धरान गल्फ क्लबले रेखदेख गरिरहेको बताए । उनका अनुसार क्लब विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भन्दा पुरानो हो ।

‘ब्रिटिसका लागि बनाइएको १० वटा घर गल्फ कोर्ष निर्वाणा कन्ट्री क्लबले लिजमा लिएको थियो, उसले छाडेपछि  धरान गल्फ क्लबले मेन्टेनेन्स गरेर गेम खेलिरहेका छौं,’ उनले भने,‘ निर्वाणा कन्ट्रीले छाडेको दुई वर्ष भयो, तर मुद्दा हालेको छ भन्ने सुनेको छु ।’

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति इन्द्र लिम्बुका अनुसार निर्वाणा कन्ट्री ठेक्का लिएको होटल र गल्फ क्लब बक्यौता बुझाएको छैन । गृहमन्त्रीको निर्देशनपछि कसरी अघि बढ्ने भन्ने विषयमा गृहकार्य सुरु भएको उनले बताए । उनका अनुसार सम्झौता तोडेर थप प्रक्रिया अघि बढाइनेछ ।

अनुगमनका क्रममा गृहमन्त्रीले अस्पताल परिसरमा रहेको मातृस्वास्थ्य (एमसीएच)भवन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए । करिब ३ अर्ब लागतमा निर्माण भएको यो भवन प्रयोगमा आएको छैन । यो भवन ४०० शय्याको छ ।

गृहमन्त्री गुरुङले तत्काल एमआरआइ सेवा सुरु गर्न पनि निर्देशन दिए । स्वास्थ्य उपचारमा नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका उनले विपि प्रतिष्ठानको गरिमा बढाउन पनि निर्देशन दिए ।

प्रतिष्ठानको संरचना अतिक्रमण भएको विषयमा छलफलपछि गृहमन्त्री गुरुङ आइतबार बेलुका कोशी अस्पताल विराटनगर आएका थिए । अस्पतालको अतिक्रमित संरचनाको निरीक्षणपछि उनले सरोकारवाला निकायसँग छलफल गरे ।

छलफलपछि कोशी अस्पतालको पनि अतिक्रमित संरचना खाली गर्न निर्देशन दिएका छन् । शनिबार स्वास्थ्य मन्त्री निशा मेहताले कोशी अस्पतालको अनुगमन गरेकी थिइन् । गत ५ असारमा कोशी अस्पताल प्रशासनले अतिक्रमित संरचना खाली गर्न १५ दिने सूचना जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?