२३ असार, काठमाडौं । नेपाल र चीनबीचको आर्थिक साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनलाई थप प्रभावकारी र परिणाममुखी बनाउन दुवै देश सहमत भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपाल भ्रमणमा रहेका चीनको वाणिज्य मन्त्रालय उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच मंगलबार सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा यस्तो सहमति भएको हो ।
भेटका क्रममा मन्त्री यादवले नेपाल र चीनबीचको ऐतिहासिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक क्षेत्रमा अझ दिगो बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले दुई देशबीच व्यापार, औद्योगिक विकास, पूर्वाधार निर्माण, सीमापार सम्पर्क र आपूर्ति शृङ्खला सुदृढीकरणमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।
मन्त्री यादवले नेपालमा पछिल्लो समय गरिएका कानुनी तथा नीतिगत सुधार र लगानीमैत्री वातावरणबारे जानकारी दिँदै नेपालका उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी अझै बढ्ने विश्वास व्यक्त गरिन् ।
चिनियाँ वाणिज्य उपमन्त्री यान दोङले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चीन सदैव तत्पर रहेको उल्लेख गरे । उनले तातोपानी र रसुवा नाकाको व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्न चीन सकारात्मक रहेको जानकारी दिए ।
साथै, चीनमा आयोजना हुने विभिन्न व्यापार मेला तथा एक्स्पोहरूमा नेपाली उद्यमीको सहभागिताका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए ।
उपमन्त्री दोङले नेपालका सम्भावित निर्यातयोग्य वस्तुहरू, विशेष गरी चिया र जडीबुटीको व्यावसायिक सम्भाव्यता अध्ययन गर्न संयुक्त टोली परिचालन गर्न सकिने धारणा राखे ।
सन् १९७८ पछि चीनले अपनाएको खुला आर्थिक नीति र वैदेशिक लगानी आकर्षित गर्न सफल भएका अनुभव नेपालका लागि उपयोगी हुनसक्ने उनको भनाइ थियो ।
नेपालमा वैदेशिक प्रत्यक्ष लगानीको प्रमुख स्रोत चीन रहेको स्मरण गराउँदै उपमन्त्री दोङले चिनियाँ लगानीकर्ताका लागि ‘एकद्वार सेवा प्रणाली’ मार्फत थप सहज र पारदर्शी वातावरण बनाउन सुझाव दिए । यस्तो व्यवस्थाले नेपालमा चिनियाँ लगानी व्यापक रूपमा वृद्धि हुने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4