+
+
Shares

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ७:२९

२५ असार, धनगढी । कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सोधपुछका लागि उनलाई जिल्ला बोलाइएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरे । ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’, चौधरीले कार्यक्रममा भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’

चौधरीले आफ्नो भनाइ मन परेमा ताली बजाउनुहोला भनेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरुले ताली बजाएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपति लगाउन नपाउने बताएका उनले २०७० सालमा १३८ जनाबाट छनोट भएर आएको व्यक्ति भएको उल्लेख गरेका छन् ।

‘हामी भोट हालेर टीका लगाएर आएका होइनौँ । दारु भात खाएर आएकै होइन,’ चौधरीले थप भनेका थिए ।

उनले उक्त कार्यक्रममा बोलेको भिडियोमा सार्वजनिक नगर्न पनि अनुरोध गरेको सुनिन्छ । तर, डीएसपीको आग्रहविपरीत उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी छानबिनको दायरामा परेका हुन् ।

यद्यपि, कैलाली प्रहरीले छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन प्रसंगमा कसरी दिइएको हो ? भन्ने विषयमा समान्य सोधपुछका लागि डीएसपी चौधरीलाई बोलाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?