+
+
Shares

इरानमाथि अमेरिकाको हवाई आक्रमण, इरानले भन्यो– निर्भीकताका साथ जवाफ दिन्छौं

इरानसँग थप वार्ता गर्नु समयको बर्बादी : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ८:५८

२५ असार, काठमाडौं । अमेरिकाले इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेको छ । इरानमाथिको नयाँ आक्रमणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘यो इरानले हिजो जहाजमाथि गरेको बम आक्रमणको बदला हो । यदि फेरि यस्तो भयो भने यसको परिणाम अझ खराब हुनेछ ।’

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी क्षेत्रका केही स्थानमा विस्फोटका आवाज सुनिएका छन् । स्ट्रेट अफ हर्मुज (होर्मुज जलडमरू) नजिक रहेका सिरिक र बन्दर अब्बासजस्ता बन्दरगाह सहरहरूमा विस्फोटका आवाज सुनिएको बीबीसीले जनाएको छ ।

इरानको तटीय क्षेत्रमा रहेका कोनारक र चाबहार लगायतका स्थानमा पनि विस्फोटको आवाज सुनिएको छ । इरानी सरकारी टेलिभिजनले बन्दर अब्बासमा आठ वटा विस्फोट भएको र दक्षिणी इरानका सिरिक तथा जास्क बन्दरगाहमा दुई वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

त्यसैगरी, इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच लामो समयदेखि स्वामित्व विवाद रहेको अबु मुसा टापुमा पनि दुई वटा प्रहार भएको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इरानको बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी

अमेरिकी आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन । तर इरानी सञ्चारमाध्यमहरूले चाबहारमा विद्युत् अवरुद्ध भएको र बुसेहरमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को ब्यारेकमा आगलागी भएको बताएका छन् ।

इरानी समाचार संस्था आईएसएनएका अनुसार चाबहारमा काटिएका तीनमध्ये दुई वटा विद्युत् लाइन पुन: सञ्चालनमा आएका छन् भने तेस्रो लाइन पनि चाँडै सञ्चालनमा ल्याउने तयारी छ ।

इरानले अहिलेसम्म पछिल्लो अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर यसअघि उच्च अधिकारीहरूले अमेरिकाबाट कुनै पनि आक्रमण भए तत्काल जवाफ दिने चेतावनी दिएका थिए ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले यी आक्रमणहरू ‘महत्वपूर्ण जलमार्गमा आवतजावतको स्वतन्त्रतामाथि खतरा सिर्जना गर्ने तेहरानको क्षमतालाई थप कमजोर बनाउन गरिएको’ जनाएको छ ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र रूपमा आवतजावत गरिरहेका व्यापारिक जहाज र सर्वसाधारण चालक दलमाथि इरानले गरेको पछिल्लो अनुचित आक्रमणका लागि अमेरिकाले इरानलाई जिम्मेवार ठहराएको छ ।’

बुधबार साँझ एयर फोर्स वनबाट पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले केही समयअघि आफूहरूसँग सम्पर्क गरेर सम्झौता गर्न ‘निकै इच्छुक’ रहेको बताएका थिए ।

उनले भने, ‘तर मलाई थाहा छैन उनीहरू सम्झौता गर्न योग्य छन् कि छैनन् । मलाई थाहा छैन उनीहरूले सम्झौता पालना गर्छन् कि गर्दैनन्, समस्या यही हो ।’

मंगलबार अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा तीनवटा तेल ट्यांकरमाथि भएको आक्रमणको जवाफमा ‘शक्तिशाली आक्रमण’ गरेको जनाएको थियो ।

इरानले भन्यो– निर्भीकताका साथ जवाफ फर्काउँछौं, खाडी देशमा सुरक्षा सतर्कता

अमेरिकाले इरानमाथि आक्रमण गरेपछि खाडी देशहरूमा सुरक्षा सतर्कता अपनाइएको छ । कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको, बहराइनको राजधानी मनामामा विस्फोट भएको र कुवेतले क्षेप्यास्त्र तथा ड्रोन रोकेको समाचार छ ।

मंगलबार रातिदेखि बुधबारसम्म भएको आक्रमण–प्रत्याक्रमणलाई जुन १७ मा अमेरिका र इरानबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएयताकै सबैभन्दा ठूलो सैन्य तनावका रूपमा हेरिएको छ ।

ट्रम्पले बुधबार इरानसँग गत महिना भएको युद्धविराम सम्झौता समाप्त भएको बताएका थिए । उनले अमेरिकाले गएको राति ‘निकै कडा’ प्रहार गरेको र ‘सम्भवत: आज राति पनि कडा प्रहार’ गर्ने बताएका थिए ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म अब उनीहरूसँग सम्झौता गर्न चाहन्नँ । उनीहरू फोहोरी फोहोरी र बिरामी मानिस हुन् ।’

यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी अशिष्टताको जवाफ अशिष्टताले दिँदैनौँ, तर कामबाट दिन्छौँ– निर्भीकता र ठूलो साहसका साथ ।’

इरानसँग थप वार्ता गर्नु ‘समयको बर्बादी’ : ट्रम्प

युद्धविराम अन्त्यका लागि पाकिस्तान र स्वीटजरल्याण्डमा भएका वार्तामा अमेरिका र इरानबीच १४ वटा बुँदामा सम्झौता भएको थियो । तीमध्ये युद्धविरामका लागि ६० दिनको अवधि, सो अवधिमा वार्ता जारी राख्ने, स्ट्रेट अफ हर्मुज हुँदै जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने र अमेरिकाले इरानमाथिका प्रतिबन्ध हटाउने विषय थिए ।

वार्ताका लागि तोकिएको ६० दिनको अवधि अझै पूरा भएको छैन । तर ट्रम्पले थप वार्ता गर्नु ‘समयको बर्बादी’ भएको बताएका छन्।

एमओयूमा हस्ताक्षर भएपछि भएको यो पहिलो अमेरिकी आक्रमण भने होइन । जुन २६ मा पनि अमेरिकाले इरानमाथि आक्रमण गरेको थियो । त्यसअघि स्ट्रेट अफ हर्मुजमा इरानबाट प्रहार गरिएको वस्तुले एउटा मालवाहक जहाजमा क्षति पुर्‍याएको थियो ।

त्यसपछि जुन २७ मा एउटा तेल ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले थप आक्रमण गरेको थियो । तर महिनाको अन्त्यतिर दुवै पक्षले सैन्य गतिविधि रोक्ने सहमति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?