+
+
Shares

कतारभर आपतकालीन सुरक्षा सतर्कता, बहराइन र कुवेतमा पनि खतराको साइरन बजाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ८:१२

२५ असार, काठमाडौं । इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ ।  बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् ।

कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा आधिकारिक निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।

कतारका सरकारी निकायहरुले जारी गरेको सूचनामा आफ्नै घर वा सुरक्षित स्थानमा बस्न तथा झ्याल–ढोका र सिसाका भित्ताहरूबाट टाढा रहन भनिएको छ । खतरा नटरेसम्म यी सावधानीहरू अपनाइराख्न अनुरोध गरिएको छ ।

बहराइनको गृह मन्त्रालयले पनि चेतावनीका साइरन बजेको जानकारी दिँदै आफ्ना नागरिक र बासिन्दाहरूलाई संयम रहन र नजिकैको सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

कुवेतले पनि चेतावनीका साइरनहरू सक्रिय पारेको आधिकारिक समाचार संस्था कुनाले जनाएको छ ।

बुधबार अबेर राति दक्षिण र दक्षिणपूर्वी इरानका विभिन्न स्थानहरूलाई लक्षित गरी अमेरिकाले नयाँ आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएपछि खाडी देशभर सुरक्षा सतर्कता बढाइएको छ ।

स्ट्रेट अफ होर्मुज समुद्री मार्ग भएर आउजाउ गर्ने गतिविधिलाई खतरामा पार्ने इरानको क्षमतालाई कमजोर बनाउन थप आक्रमण गरेको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ । यससँगै इन्धन ढुवानीको महत्वपूर्ण जलमार्ग र त्यस आसपासका खाडी मुलुकमा पुन: तनाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?