+
+
Shares

सिबिफिनले गर्‍यो मौद्रिक नीतिको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १८:३९

२५ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको मौद्रिक नीति मूल्यस्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा केन्द्रित देखिएको सिबिफिनले जनाएको छ ।

मौद्रिक नीतिले विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्थाहरु समेटेको सिबिफिनको भनाइ छ ।

रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन तथा दबाबमा रहेका कर्जाको पुनरुत्थानका विषय, व्यावसायिक वातावरणलाई अझ पूर्वानुमानयोग्य बनाउन सहयोग गर्ने र नीतिगत स्थिरता कायम राख्न खोज्नु सकारात्मक रहेको औंल्याइएको छ ।

यसैगरी स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयका साथै बैंकका शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाइने नीतिको समेत परिसंघले स्वागत गरेको छ ।

वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै बैंकहरूको सञ्चालन खर्च कटौती गर्न प्रोत्साहन गर्ने, वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तथा विदेशी मुद्रा खरिदका बखत ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गर्ने जस्ता नीतिगत व्यवस्थाहरुलाई सिबिफिनले दूरदर्शी तथा सकारात्मक कदमका रूपमा लिएको छ ।

सिबिफिनले मौद्रिक नीति निर्माणको क्रममा जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, पूँजी कोष पर्याप्ततासम्बन्धी केही नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारका विषयमा पेस गरेका महत्त्वपूर्ण सुझावहरू हाल सम्बोधन हुन नसकेको बताएको छ ।

सिबिफिनले जारी मौद्रिक नीतिका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई अझ सबल, प्रतिस्पर्धी र सक्षम बनाउन, निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य तथा आवश्यक सुझाव प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?