२६ असार, तेह्रथुम । तेह्रथुमको आठराईमा विक्रम संवत १९८१ साल माघ १८ गतेका दिन सुकलाल कन्दङवाले निर्माण गरेको ढुंगाको छाता यतिखेर भने पर्यटकिय स्थल बनेको छ ।
आठराई गाउपालिका–५ मा रहेको यो छातेढुंगा हेर्न तथा घुमफिर गर्नुका लागि पर्यटकहरु टाढा टाढाबाट आउने थालेका छन् । आठराईकै पहिचानसँग जोडिएको छाता जस्तो ढुंगा हेर्न कै लागि त्यहा पुगेको छथर गाउपालिका-३ पञ्चकन्याका फौदराज लिम्बुले बताए । उनले भने ‘इतिहासलाई जोगाउने कार्य भएकोछ ।’
तेह्रथुमको सदरमुकाम म्याङलुङबाट ७५ किलोमिटर पूर्व र पाँचथरको फिदिमबाट १४ किलोमिटर पश्चिममा रहेको यस स्थानमा छाता आकारका ढुंगाहरु गाएिका छन् । कन्दङवा लिम्बुहरुका पुर्खाले इतिहास बचाइराख्न ढुंगाका छाता निर्माण गरी गाढिदिएको र यस ठाँउको नाम पनि छातेढुंगा रहन गएको वयोवृद्ध स्थानीयवासी राममणि थपलियाले बताए । ‘छाता जस्तै ढुंगा गाढिएकै कारण हिजो यस ठाँउलाई छातेढुंगा गाउ पञ्चायत, छातेढुंगा गाबिस र छातेढुंगा मावि भनेर नामाकरण गरियो’, उनले भने ।
कन्दङवाका पुर्खाहरुले गाडेको ढुंगा जीर्ण भएको र स्थानीय सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा यसको पुननिर्माण गरिएको हो । यस ठाँउमा पहिले तीन वटा ढुंगा जमिनमा नहल्लिने गरि गाढिएका थिए तर पुननिर्माण गरिदा दुईवटा थपेर पाँच वटा बनाइएको छ । तीमध्ये बीचको सबैभन्दा अग्लो ढुंगाको उचाइ साडे सात फिट रहेको छ ।
यी ढुंगाको टुप्पोमा साडे आठ फिट गोलाइको नाङलो जस्तो देखिने छाता ओढाइएको भने अन्य चारवटामा केही सानो आकारको छाता आकारको ढुंगा ओढाएका हुन् । यस ठाँउमा घुम्न आउने पर्यटकहरुले वरिपरि नियाल्दै फोटो खिच्ने र मनोरञ्जन लिने गरेका छन् ।
पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको लगायत आठराई गाँउपालिकाका अन्य ऐतिहासिक तथा पर्यटकीय स्थलहरुलाई समेटेर पर्यटन विकासको योजना बनाएको आठराई गाउपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । ‘छातेढुंगाको अलावा झाँक्रिगुफा,चमेरे ओढार,याकुम्बा गढी, बगाले पार्कलगायतका पर्यटकीय क्षेत्रको विकासका निम्ति लागि परिरहेका छौं’, उनले भने । आठराइको पहिचानसँग जोडिएको पर्यटकीय स्थलको अझ संरक्षण र संवर्द्धन गर्न सके जिल्लाको मात्र नभएर पूर्व कै पर्यटकीय क्षेत्रको रुपमा विकास हुने अवस्था छ ।

प्रतिक्रिया 4