News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेयता तीन कारोबार दिनमा नेप्से परिसूचक कुल ५० अंकले घटेको छ।
- मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमासम्बन्धी व्यवस्थाले लगानीकर्तामा अन्योल थपिएको छ भने असार मसान्तका कारण बजारमा सेयर आपूर्ति बढेको छ।
- शुक्रबार नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ भने कारोबार रकम ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक निरन्तर घटेको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक कुल ५० अंक घटेको हो ।
राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति ल्याएको थियो । त्यसपछि बुधबार खुलेको सेयर सूचक ३०.०९, बिहीबार १९.६७ र आज शुक्रबार १.१३ अंक घटेको हो । शुक्रबार बजार सूचक घटे पनि कारोबार रकम भने २ अर्बले बढेको नेप्सेले जनाएको छ ।
मौद्रिक नीति सार्वजनिकपछि दोस्रो दिन बजार घटेको हो । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने विषय मौद्रिक नीतिमा उल्लेख छ । यसले बजारमा केही अन्योल बढेको छ ।
हाल १ सय ८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको छ ।
अर्कातर्फ, असार मसान्तमा बैंकको किस्ता बुझाउने समय भएकाले त्यसको असर पनि शुक्रबार देखिएको छ । शुक्रबारसम्म सेयर बिक्री गरेको रकम असार मसान्तसम्म खातामा आएर बैंकको साँवा तथा ब्याज भुक्तानी गर्न सकिन्छ । त्यसले गर्दा पनि बजारमा आपूर्ति बढेको हो ।
शुक्रबार कारोबार सुरु हुँदा २६०१.९२ अंकमा रहेको नेप्से १.१३ अंक घटेर २६००.७८ बिन्दुमा कायम भएको छ । बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार बढेर ६ अर्ब ८६ करोड पुगेको छ ।
शुक्रबार कारोबारको पहिलो समयमा २० अंकसम्म बढेको नेप्से सूचक घटेर बन्द भएको हो । नेप्सेमा १ सय २० कम्पनीको मूल्य बढ्दा १ सय ३५ को घट्यो भने १९ को स्थिर रह्यो ।
शुक्रबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.१७, विकास बैंक ०.३९, फाइनान्स ०.२९, होटल तथा पर्यटन ०.३७, जलविद्युत् ०.२७, अन्य ०.२३ र जीवन बीमा समूह ०.०९ प्रतिशत घटेका छन् ।
त्यसैगरी लगानी ०.१४, उत्पादनमूलक ०.२५, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.४ तथा अन्य समूह ०.२३ प्रतिशत बढेका छन् ।
शुक्रबार आत्मनिर्भर लघुवित्तको १०.६६ तथा कुमारी इक्वी फन्डको ९.०९ र अलङ्गा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.९२ प्रतिशतले बढेको छ । त्यसैगरी भगवती हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ७.७८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया 4